अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच एेतिहासिक वार्ता


प्रकाशित मिति : जेष्ठ २९, २०७५ मंगलबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच औपचारिक वार्ता सुरु भएको छ । सिंगापुरस्थित सेन्तासा आइल्याण्डकाे एक होटलमा वार्ता सुरु भएको हो ।

कोरियाली प्रायद्वीपमा तनाव अन्त्य गर्ने उद्देश्यका साथ भएको शिखर बैठकका लागि विश्व प्रतिक्षामा रहेको थियो । हालसम्म कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेटवार्ता गरेका थिएनन् । यो नै पहिलो घटना हो । स्थानीय समयअनुसार विहान ९ बजेबाट सुरु वार्ताका लागि उन पहिले वार्तास्थल पुगेका थिए । त्यसपछि ट्रम्प वार्तास्थलमा पुगे ।

ट्रम्पले निकै अपेक्षा राखिएको वार्ता शान्ति प्राप्तिका लागि एकपटकको अवसर भएको बताएका छन् । शिखर वार्ताले गत वर्ष आरोप-प्रत्यारोप र एक-अर्कालाई चेतावनी दिने गरेका दुई नेतामा आएको नाटकीय परिवर्तनलाई इंगित गर्दछ । वाशिङटनको विश्वास छ- शिखर बैठकले एउटा प्रक्रियाको शुरूवात गर्नेछ, जुन प्रक्रियाले अन्ततः कोरियाली प्रायद्वीपलाई निश्शस्त्रीकरणतर्फ डोर्याउनेछ ।

उत्तर कोरियाले निस्शस्त्रीकरणका लागि आफू इच्छुक रहेको जनाएको छ । तर त्यो कसरी हासिल हुने अथवा त्यसको बदलामा उसले के खोज्नेछ त्यो स्पष्ट भइसकेको छैन । बैठकस्थल क्षेत्रमा सशस्त्र प्रहरीसहित बाक्लो सुरक्षा व्यवस्था मिलाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com