प्रत्यक्ष कार्यकारीकाे बहसले संकटमा मधेश गठबन्धन फोरम प्रत्यक्ष निर्वाचित कार्यकारी र राजपा संसदीय व्यवस्थाको पक्षमा


प्रकाशित मिति : जेष्ठ २६, २०७५ शनिबार

नेपालमा प्रत्यक्ष कार्यकारीको बहस पुन: सुरु भएसँगै मधेश गठबन्धनका दुर्इ दल राष्ट्रिय जनता पार्टी(राजपा) र संघीय समाजवादी फोरमबीचको दुरी झन बढेको छ।

फोरमको सरकार प्रवेशमा असन्तुष्ट मधेश गठबन्धनको अर्को दल राजपा प्रत्यक्ष कार्यकारीको पक्षमा पनि नभएकाले मधेश गठबन्धन थप शंकटमा पारेको हो।

मधेस आन्दोलनका बेलामा मधेशमा अधिकारका मात्रै कुरा उठाएर एक ठाउँमा उभिएका यी दुई दलबीच अहिले दूरी बढ्दै गइरहेको छ। फोरम सरकारमा सहभागी भएपछि त्यो उत्कर्षमा पुगेको हो पछिल्लो समय जसको कारक बनेको छ-प्रत्यक्ष कार्यकारीको बहस।

शनिबार पोखरामा भएको एक कार्यक्रममा बोल्दै फोरमका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेकपा नेतृत्वको सरकारले चाहने हो भने आफूहरु प्रत्यक्ष कार्यकारीको पक्षमा जान तयार रहेको बताए।

उनले कम्युनिस्टहरु स्वतः कार्यकारीको पक्षमा हुने भन्दै आफूहरुको माग समेत त्यही भएको र त्यसका लागि संविधान संशोधन गरेर जान सकिन मार्गसमेत देखाए।

‘कम्युनिस्टले चाहेमा संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जान सकिन्छ’ अध्यक्ष यादवले भने,‘हामीले चाहेको पनि तयही हो, त्यसका लागि संघीय फोरम तयार छ।’

फोरम अध्यक्ष उपेन्द्र यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा वकालत गरिरहेका बेला सोही दिन राजधानीमा आयोजित एक कार्यक्रमलार्इ सम्बोधन गर्दै राजपाका उपाध्यक्ष लक्ष्मणलाल कर्णले आफूहरु संसदीय व्यवस्थामा विश्वास गर्ने हुँदा प्रत्यक्ष निर्वाचित कार्यकारी स्वीकार नगर्ने बताए। प्रत्यक्ष निर्वाचित राष्ट्रपति तानाशाही हुने भन्दै उनले आफूहरु तानशाही व्यवस्थाका पक्षमा नरहेको जिकिर गरे।

‘हामी संसदीय व्यवस्थामा विश्वास गर्छौं, यो नै लोकतन्त्रको सुन्दर पक्ष हो’, उनले भने,‘कसैले विचार राख्दैमा कार्यकारी राष्ट्रपतीय व्यवस्थामा जान सकिँदैन।’

राजपाले आफ्नो चुनावी घोषणा पत्रमा समेत संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र आलंकाररिक राष्ट्रपति हुनुपर्ने उल्लेख गरेको छ भने फोरमले भने प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहित सबै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने उल्लेख गरेको छ। समाजवादी फोरमको विचार नेकपासँग र राजपाले लिएको अडान कांग्रेससँग मिलेको देखिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com