शिकागोमा नेपाली कन्भेसनको तयारी भब्य, रजिस्ट्रेशन सुरु


प्रकाशित मिति : जेष्ठ २५, २०७५ शुक्रबार

शिकागोमा हुने अमेरिकामा रहेका तीन नेपाली ठुला संस्थाको संयुक्त सम्मेलन भब्य रुपमा आयोजना गर्ने तयारी भइरहेको छ । अमेरिकामा रहेका नेपालीहरुको पुरानो संस्थामध्येको एन्मा, नासीया र एएनए मिलेर संयुक्त सम्मेलन गर्न लागेका हुन् ।

अगस्त ३१ देखि सेप्टेम्बर २ सम्म लेबर डे सप्ताहमा नेपाली कन्भेसन गर्न लागिएको हो । बिगत लामो समयदेखी हरेक बर्ष लेबर डे सप्ताहको अवसर पारेर संयुक्त सम्मेलन गर्दै आएका एन्मा र नासाले यसै पटकदेखी अर्को पुरानो संस्था एएनएलाई पनि साथमा लिएर अगाडि बढेका छन् ।

रजिष्ट्रेशन शुरु

शिकागोमा सम्मेलनका लागि होटल बुक भईसकेको र अनलाईन रजिष्ट्रेशन शुरु भईसकेको सम्मेलनका संयोजक तथा एन्माका अध्यक्ष बाला घिमिरेले जानकारी दिनुभयो ।

नेपाल सरकारका तर्फबाट पर्यटनदुत समेत रहेका संयोजक घिमीरेका अनुसार नेपाली समाजको एकताको लागि भन्ने नाराका साथ हुन लागेको सम्मेलनमा नेपाल सरकारको उच्च स्तरको प्रतिनिधित्व रहने तयारी भईरहेको छ ।

भब्य र सभ्य हुने बिश्वास

सधै भन्दा यसपटकको सम्मेलन अझै भब्य र सभ्य हुने सम्मेलनको अर्को ठुलो संस्था नासीयाका अध्यक्ष माधव ढकालले विश्वास व्यक्त गर्नुभयो । ढकालले यसपटक अमेरिकाभरका धेरै नेपालीहरुको उपस्थिती हुने बिश्वास ब्यक्त गर्नुभयो ।

एएनएका अध्यक्ष मेदिनी अधिकारीले आफुहरुको उदेश्य भनेको सम्मेलनमा भेला भएर भेटघाट र रमाईलो मात्र भन्दा पनि नेपाल र नेपालीका हितका लागि आयोजना हुने बताउनुभयो ।

नेपाली नेसनल कन्भेसन डट अर्ग मार्फत रजिष्ट्रशेन

सम्मेलन आयोजनका लागि तीन ठुला संस्था मुख्य आयोजक भए पनि नासिया, एन्मा क्षेत्रका साथै शिकागोमा रहेका स्थानिय संस्थाहरुको सकृयता सहभागीता रहेको छ ।

सम्मेलनका लागि बिभिन्न उपसमितीहरु बनाएर जिम्मेवारी दिइएको सम्मेलनको सचिव तथा मिडिया संयोजक दिवाकर दाहालले बताए । दाहालका अनुसार सम्मेलनको रजिष्ट्रशेनका लागि नेपाली नेसनल कन्भेसन डट अर्ग मार्फत गर्न सकिनेछ ।

सम्मेलन आफ्नो क्षेत्रमा हुन लागेकोमा शिकागो ल्याण्ड नेपाली फ्रेण्डसीप सोसाईटिका अध्यक्ष टेकराज पौडेलले खुशी ब्यक्त गरेका छन् । पौडेलका अनुसार शिकागोमा सम्मेलनमा सहभागी अमेरिकाभरका पाहुनाहरुलाई स्वागत गर्न आफुहरु आतुर रहेको बताएका छन् ।

यो पनि पढ्नुहोस्

अमेरिकाका तीन नेपाली संस्था एकजुट, राष्ट्रिय सम्मेलन सेप्टेम्बरमा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com