यौन हिंसा खेप्दै सैनिक महिला


प्रकाशित मिति : जेष्ठ १०, २०७५ बिहीबार

पाकिस्तान देखि अमेरिकासम्म महिला सैनिकहरुलाई यौन उत्पिडनको बिरुद्धमा बोल्न र न्याय खोज्न धेरै गाह्रो छ ।
सन् २००३ मा म पाकिस्तानको वायु सेनामा एक युवा उडान अधिकृत थिए ।

सोही समय एक तालिममा सहभागी हुने दौरानमा एक पर्यवेक्षकको मातहतमा काम गर्थें जो महिलाहरुप्रति कुदृष्टि राख्दथे । हवाइ अड्डामा मेरो एक वर्षको कार्यअवधिमा उसले अनुपयुक्त रुपमा मलाई छुन्थ्यो ।

म र मेरा महिला साथीहरुलाई अश्लिल टिप्पणीहरु गर्ने र अश्लिल मजाकहरु गथ्र्यो । हुन त शारीरिक रुपमा म यौन शोषणमा परेको थिइन् तर मानसिक रुपमा भने धेरै हैरानी बेहोरेका अनुभवहरु छन् ।

यौन शोषणको बारेमा बोल्न कहिल्यै पनि सजिलो छैन । मैले उसलाई कहिल्यै उजुरी गरिन । बरु अहिलेसम्म मैले मेरो जीवनको यस्ता पीडादायी घटनालाई मेरो स्मृतीबाटै हटाउने प्रयास गरें ।

गतवर्ष अमेरिकी फिल्म उद्योगमा व्याप्त यौन दुव्र्यवहार र आक्रमणको खुलासाको परिणामस्वरुप उठेको मलाई पनि अभियानले यी पिडादायी घटनाहरुलाई पुनः स्मरण गरायो । विभिन्न क्षेत्र तथा पेशाका महिलाहरु जस्तै मलाई पनि यसबारे बोल्ने साहस मिल्यो ।

ब्यारेकमा पुरुषहरु धेरै छन् । त्यहाँ उनीहरुकै जगजगी चल्दछ । विश्वभरमै सैन्य कर्मचारीमा ९० प्रतिशत भन्दा धेरै पुरुषहरु नै छन् । खासमा त सेनाहरु आक्रामक हुने तथा पुरुषत्व देखाउने खालका विषेशता बोकेका हुन्छन् त्यसैले पनि महिलाहरुका लागि यो पेशा कठिन नै हो ।

यसबाहेक, शताब्दीऔं देखि सेनाहरुले बलात्कारलाई युद्वको हतियारको रुपमा प्रयोग गरेका छन् । केहिले यसलाई निरन्तरता दिएका छन् । हालैका वर्षहरुमा शान्ति स्थापनार्थ खटिएका सेनाहरुले गरेका यौन हिंसाका घटनाहरु र विश्वभरमै सैन्य ब्यारेक भित्रै भएका यौन उत्पीडनका घटनाहरु बढ्दो क्रममा छन् ।

सैनिकबाट हुने यौन अपराधका घटनामा मिडियाको बढ्दो चासोका बाबजुद सेना भित्रै यस्ता घटनाका बारेमा सुचना र तथ्यहरु बाहिर आउन अझै कठिन छ ।

विश्वका केहि देशहरुले यस विषयमा सरकारी तथ्यहरु प्रकाशित गर्छन् । सार्वजनिक रुपमा उपलब्ध तथ्यहरुले प्रायजसो समस्याको वास्तविक तथ्यलाई खास प्रतिनिधित्व गर्न सकेको छैन ।

इजरायलमा सैन्य सेवामा संलग्न हुन महिला पुरुष दुबैलाई अनुमति दिइएको छ । त्यहाँ गत वर्ष ८ सय ९३ वटा यौन उत्पीडनका घटना दर्ता भए । पेन्टागनले अनुमान गरेको छ की अमेरिकी सैन्यका १५ हजार सदस्य यौन शोषित भएका छन् ।

ब्रिटिश सैन्यमा १० महिला सिपाही मध्ये ४ जना यौन हिंसाका पीडित छन् । सन् २०१६ को सर्वेक्षणले क्यानेडियन सशस्त्र सेनामा २७ प्रतिशत महिला आफ्नो पेशा अवधिमा यौन शोषणको सामना गर्छन् ।

विकासशिल देशमा सेनाभित्रको यौन हिंसाको आधिकारिक प्रतिवेदन पत्ता लगाउन झनै कठिन छ । पाकिस्तानमा सेनाले ब्यारेक भित्र भएका दर्जागत यौन अपराधको कुनै प्रतिवेदन सार्वजनिक गरेको छैन ।

भारत, पेरु, उत्तर कोरिया, इरिट्रिया र सिरिया जस्ता देशहरुमा सैनिकद्वारा घटाइएका यौन हिंसाका घटनाहरु मानवअधिकारवादी संस्थाका प्रतिवेदनमा र मिडिया प्रकाशित छन् ।

किन संयुक्त राष्ट्रसंघका शान्ति स्थापकहरु बलात्कार गर्छन् ?

विश्वभरमै सैन्य सेवामा रहेका महिलाहरुलाई यौन हिंसाको समाधान गर्न एकदमै कठिन छ । अक्सर पीडितहरुलाई उनीहरुको व्यवहार र पोशाकले यौन हिंसाका लागि उक्साएको आरोप लगाइन्छ । यौन शोषण र हिंसा विरुद्ध उजुरी गर्नुको अर्थ पीडितलाई छाडा चरित्रको वा झुटो भनेर वर्गिकरण गर्नु हुनसक्छ ।

अझ धेरै रुढिवादी ठाँउहरुमा त कुमारित्व र प्रतिष्ठाको विषयले यौन हिंसा विरुद्ध उजुरी गर्न झनै कठिन बनाँउछ । महिलाहरु पनि परिवारको इज्जत जाने, विवाह नहुने कुराले डराउँछन् ।

त्यसैगरि सैनिक महिलाहरु पनि पुरुष प्रधान समाजमा सहज हुन यौन दुर्व्यवहारलाई महत्वहिन बनाउँछन् । तिनीहरु महिलाहरुलाई उजुरी गर्नबाट निरुत्साहित गर्न सक्छन् ।

सेनामा यौन हिंसाका घटनाहरुको उचित उपचार वा समाधान गर्न सबैभन्दा ठूलो चुनौति भनेको सैनिक कानून र यसको प्रकृया सर्वसाधरणको भन्दा फरक हुनु हो । सञ्चार माध्यमहरुसँग बोल्न निषेध गरिएको हुन्छ । अपराधको दायित्वबाट बच्न सैन्य संस्थाहरु कानूनी बचाउका बाटोमा वा राष्ट्रिय सुरक्षा नीतिको सहारा लिने गर्दछन् ।

यौन हिंसाका समस्याहरुको समाधान फरक फरक तरिकाले गर्न सकिन्छ । पाकिस्तानले सेनामा महिला र पुरुषबीचको अन्तरक्रियालाई कम गर्न लैङ्गिक पृथकीकरणको कडा नीति अवलम्बन गरेको छ ।

रुढिवादी संस्कृति भएका देशमा यो केहि हदसम्म प्रभावकारी छ । नर्वेले ठिक उल्टो बाटो लिएको छ । छात्राबासमा महिला र पुरुषलाई सँगसँगै राखेको छ ।

यो रणनीतीले पनि यौन उत्पीडनको दर घटाउन काम गरेको देखिन्छ । अमेरिका फ्रान्स, संयुक्त राज्य, इजरायल र क्यानडा जस्ता देशहरुले पीडितलाई सुरक्षाको सुनिश्चतता गराउन र पीडकलाई जवाफदेही बनाउन यौन हिंसा सम्बन्धिको अपराधको उजुरी र प्रतिक्रियाका संयन्त्रमा केहि सुधार गरेका छन् । तथापि यी कुनै पनि प्रयासहरु पर्याप्त भएका छैनन् ।

सेना भित्रको यौन हिंसालाई साँच्चिकै सम्बोधन गर्न व्यापक परिवर्तनको जरुरी छ । जसमा निम्न कुराहरु सम्मिलित छन् ।

१. पीडितलाई सुरक्षित राख्दै यौन हिंसाको सामना गर्ने अभ्यासलाई निरन्तरता दिनु ।

२. यौन दुर्व्यवहारलाई रोक्ने कार्ययोजना तयार गर्नु ।

३. पीडित तथा साक्षीे दुबैको रुपमा यौन दुर्व्यवहारको उजुरी गर्न सैन्य प्रशिक्षण दिएर ।

४. बदलाको डर बिना सुरक्षित र गोप्य रुपमा यौन अपराध बिरुद्ध उजुरी गर्ने प्रणालीको विकास गरेर ।

५.जुन देशमा यौन दुर्व्यवहारलाई विशेष अपराधको रुपमा पहिले नै वर्गिकरण गरिएको छैन त्यहाँ सैन्य कानुनको संशोधन गरी अपराधको रुपमा वर्गिकरण गर्ने ।

६. यौन दुर्व्यवहारको तथ्यांकलाई सार्वजनिक गर्ने र त्यसमा कारबाही गर्ने ।

७.पीडितले यौन दुर्व्यवहारका मुद्दालाई नागरिक अदालतमा लैजान सक्ने प्राबधान तयार गर्नेे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com