अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट अमेरिका बाहिरिने घोषणा


प्रकाशित मिति : बैशाख २६, २०७५ बुधबार

राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको एउटा अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गरेका छन्।

स्थानीय समय अनुसार मंगलवार अपरान्ह ह्वाइट हाउसमा बोल्दै ट्रम्पले सो सम्झौता अमेरिकाको राष्ट्रिय हितमा नरहेको बताए।

उनले इरानमाथि आतंकवाद निर्यात गरिरहेको आरोप लगाउँदै आफ्नो पारमाणविक कार्यक्रम शान्तिपूर्ण रहेको भन्ने उसको भनाइ झुटो भएको जनाए।

उनले इरानी सरकारविरूद्ध कडा नाकाबन्दीहरू लगाउने एउटा आदेशमा आफूले हस्ताक्षर गर्ने पनि बताए।

परित्याग
आगामी मे १२ को समयसीमाभित्र सो सम्झौता परित्याग गर्ने वा नगर्ने भनेर ट्रम्पले निर्णय लिइसक्नुपर्ने थियो।

उक्त सहमतिका अन्य हस्ताक्षरकर्ता ब्रिटेन, फ्रान्स र जर्मनीले अमेरिकालाई सो सहमतिबाट पछि नहट्न भनेका थिए।

यसअघि फ्रान्सका विदेशमन्त्रीले ट्रम्पले जस्तो निर्णय गरे पनि आफूहरू सो सम्झौताको पक्षमा उभिरहने बताएका थिए।

इरानलाई पारमाणविक अस्त्र उत्पादन गर्नबाट रोक्नका लागि सो सम्झौता सबैभन्दा उत्तम उपाय भएकाले ती तीन देशहरू सम्झौतालाई जोगाइराख्न प्रतिबद्ध भएको जाँ यिभ ल द्रियाँले बताए।

इरानले उसको परमाणु कार्यक्रम पूर्णतः शान्तिपूर्ण भएको जनाउने गरेको छ
हाल वाशिङटनको भ्रमणमा रहेका ब्रिटेनका विदेशमन्त्री बोरिस जनसनले अमेरिकी टेलिभिजनहरूलाई अन्तरवार्ता दिँदै सम्झौतालाई खारेज नगर्न आग्रह गरेका थिए।

आलोचना
अमेरिका बाहेकका पारमाणविक सम्झौताका अन्य हस्ताक्षरकर्ता देशहरूले इरानको फाइदालाई प्रत्याभूत गर्न सके तेहरानले उक्त सम्झौताको पालना गर्ने इरानका राष्ट्रपति हसन रूहानीले बताएका थिए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौता एकदमै काम नलाग्ने भएको भन्दै बारम्बार त्यसको आलोचना गर्दै आएका छन्।

युरोपेली देशहरूले उक्त सम्झौतालाई निरन्तरता दिन सहमत भए भने पनि अमेरिकाले नयाँ प्रतिबन्धहरू लगाए त्यसले युरोपेली लगानीकर्ताहरूलाई इरानबाट फिर्ता हुने जोखिम निम्ताउन सक्ने विश्लेषकहरू बताउँछन्।

सन् २०१५ मा गरिएको सो सम्झौता अन्तर्गत तेहरानले उसको पारमाणविक कार्यक्रम सीमित तुल्याउने प्रतिबद्धता जनाएको थियो र बदलामा उसमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू खुकुलो पारिएका थिए।

इरानले उसको पारमाणविक कार्यक्रम पूर्णतः शान्तिपूर्ण भएको जनाउँदै सो सम्झौतामाथि पुनः छलफल गर्न नसकिने बताउने गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com