घर पुग्नेबित्तिकै मेरो पनि टाउकोबाटै पेट्रोल खन्याए ..तँलाई ‘७ बजे पछि घर आउने अनुमति कसले दियो ?’ भन्दै…


प्रकाशित मिति : बैशाख २४, २०७५ सोमबार

विहान ८ देखि ९ बजेसम्मको एउटा कक्षामा सहभागी भएँ । ललितपुरको गोदावरी नगरपालिकाको उपमेयर भएदेखि शुरु भएको सार्वजनिक जिम्मेवारी निर्वाह गर्ने क्रममा अरु दिन झैं त्यो दिन पनि महिला समूहले आयोजना गरेको कार्यक्रममा अतिथि भएँ ।

काका ससुराको घरमा आयोजना भएको पार्टीमा सहभागी भइसके पछि सातदोबाटोमा आयोजित एक कार्यक्रममा नगरपालिकाका मेयरसँगै सहभागी भएँ ।

चार वटा कार्यक्रममा सहभागी हुने क्रममा सयौं पटक श्रीमानको फोन बजिरह्यो । कार्यक्रममा बोल्दै गर्दाको समय बाहेक उहाँले गरेका सबै फोन उठाएँ । प्रश्न थिए–कहाँ छस् ? को सँग छस् ? तेरो वरिपरी को–को छन् ? त्यहाँ के गर्न गइस् ? कति मिनेटमा घर पुग्छेस् ? त मेरो घर नआइज । आज तेरो अन्तिम दिन हो । घरमात्रै आइस् भने खुकुरीमा धार लगाएको छु, थाहा पाउँछेस् भन्दै धम्की दिइरहनु भो ।

यि अनि यस्ता शब्द र प्रश्न सुनेर मन अमिलो भइरह्यो । आज फेरि घरमा तनाव हुने भो भन्ने लाग्यो । मन आत्तियो । एक्लै घर आउने हिम्मत भएन ।

भक्तपुरको बालकोटमा रहेकी आमालाई फोन गरेँ । आमा आज मसँगै मेरो घर जाऔं न, ज्वाइँ फेरि बौलाएछन् । यस्तो यस्तो भन्दैछन् । तपाईं हुनु भो भने केही भन्नु हुन्न की ! भने । आमाले म जानै पर्छ र भन्नु भो । आमालाई पनि दुःख दिन त मन थिएन । तर ममाथि भइरहेको हिंसाको श्रृखंलाबारे आमालाई जानकारी भएकाले मात्रै त्यो दिन हुनसक्ने खतराबाट जोगिन आमालाई आग्रह गरेकी थिएँ ।

म आमालाई लिन कोटेश्वर पुगिसकेकी थिएँ । तर आमालाई मेरो घर जान मन नभएको बुझेपछि फेरि कोटेश्वरबाट गाडी घुमाएर घर आएँ ।

घर पुग्दा जग्गा सम्बन्धी विवादको विषयमा कुरा गर्न दुई जना देवरहरु घरमा आउनुभएको थियो । विवादको विषयमा कुरा राखेर उहाँहरु जानु भो । उहाँहरुको अगाडि श्रीमानले एक शब्द समेत बोल्नु भएन । म शारीरिक र मानसिक थकाईले लखतरान थिएँ । उहाँहरु गएपछि ओछ्यानमा पल्टिएँ । उहाँ कोठामा प्रवेश गर्नु भो । चुकुल लगाउनुभयो अनि प्रश्न गर्नु भो ‘तँ दिनभर कहाँ थिइ्स् ?’

मैले आफू गएका र उपस्थित भएका सबै कार्यक्रम बारे, ठाउँ र समयसहित बेलिविस्तार लगाएँ । तर पनि उहाँ कुरा सुन्न तयार हुनुभएन । अपमानजनक शब्द बोल्दै हिर्काउन शुरु गर्नु भो । कहाँ कहाँ, कसरी हिर्काउनु भो थाहा पाइन् । आँखामा हिर्काउँदा त बिजुलीको झड्का लागेजस्तो मात्रै थाहा पाएँ । म ढलें । हार गुहार गर्न थाले । मेरो चिच्याहट सुनेर भाडामा बस्ने भाइहरु आउनु भो ।

उहाँलाई पिट्नबाट रोक्नु भो । भाईहरु आइसकेपछि यसको आज अन्तिम दिन बनाउँछु भन्ने सोचेको त सकिएन । खै कता गयो त्यो चिज भन्दै यताउता खोज्नु भो । सायद उहाँले मलाई मार्नकै लागि कुनै हतियार लुकाउनु भएको रहेछ । त्यो हतियार के थियो भन्ने चाहिँ देखिन ।

त्यसपछि मैले बालकोटमा रहेको भाईलाई फोन गरेँ । भाई घर पुग्यो । प्रहरीलाई खबर गरियो । मलाई अस्पताल लिएर गयो । उपचार भयो । आँखा निकै सुन्निएको थियो । हेर्न पनि सकिरहेकी थिइन । टोल छिमेक सबैतिर म कुटिएको हल्ला भयो । अर्को दिन महानगरीय प्रहरी परिसर जाउलाखेलको महिला सेलमा घटना बारे निवेदन दिए । त्यही दिन मंगलबार राती साढे १० बजेको समयमा महानगरीय प्रहरी वृत्त सातदोबाटोले मेरो श्रीमान धुव्र कुँवरलाई पक्राउ गर्यो ।

ममाथि सांघातिक आक्रमण भएकै दिनबाट घटना अगाडि बढाउनु हुन्न भन्ने दबाब आउन थाल्यो । बुधबार म १० बजेभित्रै महानगरीय प्रहरी परिसर जाउलाखेल पुगिसकेकी थिएँ । तर उहाँलाई सातदोबाटोबाट १२ बजेपछि मात्रै जाउलाखेल प्रहरी पुर्याइयो ।

त्यस पछि फेरि शुरु भयो उहाँको अभिनय । ‘मैले गल्ती गरेकै हो । तिमीलाई अन्याय भएकै हो । तिमीलाई थाहा छ एक हप्तादेखि प्रेसरको औषधी खान छुटेको थियो । त्यो दिन के भयो भयो, मैले आफूलाई सम्हाल्न सकिन । तिमीमाथि अपराध गरेँ । अबदेखि यस्तो हुने कुराको कल्पना नगर । मलाई माफ देउ । तिम्रो खुट्टा ढोग्न तयार छु’ भन्न थाल्नु भो ।

जाउलाखेल प्रहरीमा मेरो कुरा सुन्ने सुन्ने पक्षमा कोही थिएनन् । एसएसपी आफैले लोग्ने स्वास्नी बीच झगडा कसको हुन्न र ? मिलाउनुपर्छ भन्दै जोस्सिएर कुरा गरिराख्नु भो । उहाँले मेरा कुरा सुन्ने चाहाना नै देखाउनु भएन । त्यही समयमा प्रहरीले नै मेरो श्रीमानले केही दिन अगाडि मानसिक रोगको औषधी खानुपर्ने कुराको प्रमाण नै पेश गर्यो । र मानसिक रोगीलाई प्रहरीको हिरासतमा राख्नै नसकिने भन्दै घटना फिर्ता लिन दबाब दियो । अनि देवरलाई साक्षी राखेर डाक्टरको सल्लाहमा औषधीपोचार गर्ने र म उहाँसँग नबस्ने सहमतिमा कागज बनाइयो । म माइतीमा आएँ ।

०००
मेरो २५ वर्षको जेठो छोरा आर्मीको कमाण्डो तालिममा छन् । कान्छो छोरा बैंग्लोरमा ईन्जिनियरको परीक्षा दिँदैछन् । एक डेढ महिना भित्रै दुवै छोरा आउँछन् । अनि उनीहरु र श्रीमानलाई राखेर अब मेरो निर्णय सुनाउछु–अब धुव्र कुँवर मेरा छोराहरुको बाउ हुन्, मेरो लोग्ने थिए । अब रहँदैनन् । हामी अलग हुन्छौं ।

पेट्रोल छर्केर मार्ने प्रयास

घटना यसैपाली माघ महिनाको हो । याक एण्ड यती होटेलमा नेपाली काँगेसका एक जना नेताको पार्टीमा सहभागी हुनुपर्ने थियो, उपमेयर र काँग्रेस कार्यकर्ताको हैसियतले । पार्टी ६ बजेबाट शुरु भयो । मेरो श्रीमानले मलाई घर पुगिसक्नु पर्ने अन्तिम समय तोकिदिएका छन् – सात बजे । तर म पार्टीमा पुग्दैमा ७ बज्न लागिसकेको थियो ।

पार्टीमा पुग्दा नपुग्दै मलाई घर फर्किने तनाब भइसकेको थियो । देखिएकासँग बोल्न पनि भ्याइन । घर पुग्नुपर्ने हतारमा थोरैसँग बोले, धेरैसँग टाढैबाट हात हल्लाएँ । दरबारमार्गदेखि, माइतीघर, थापाथलीको जामले हतारहतार घर पुग्दा ठिक ९ बजेर १७ मिनेट भएको थियो । श्रीमान साथमा नभएको बेला म घर पुगेको त्यो समय सायद मेरो जीवनकै सबैभन्दा ढिलो समय थियो ।

त्यतिञ्जेल घरमा भएका मेरा लत्ताकपडा, सरसामान सबै घरबाहिर थिए । जलाउनका लागि सबैमा पेट्रोल खन्याइएको थियो । म घर पुग्नेबित्तिकै मेरो पनि टाउकोबाटै पेट्रोल खन्याए । तँलाई ‘७ बजे पछि घर आउने अनुमति कसले दियो ? तँलाई जलाएर मार्छु’ भन्दै लाइटर सल्काउन खोजेपछि म कराउन थाले । त्यो दिन पनि छिमेकीको सहाराले नयाँ जीवन पाएँ ।

काम गर्नेे महिलासँग सम्बन्ध

२०७२ साल, भूकम्प पछि । भूकम्पले चर्किएको घर मर्मत गर्नै बाँकी थियो । मैले खाइ नखाई नोकरी गरेर कमाएको पैसाले बनाएको घर चर्किए पछि निकै तनाव थियो । तर घर बनाउने कुरामा उहाँलाई कुनै चिन्ता र चासो नै थिएन ।

मेरै सासू लगायत छिमेकीले मेरै घरमा दिउँसो काम गर्न आउने महिलासँग उहाँको सम्बन्ध छ भन्दै मलाई बारम्बार भनिरहन्थे । तर मलाई चासो नै भएन । कुरा सुन्दा मन त दुख्थ्यो, तर दिनभर जागिर गरौं कि उहाँको चियो गरेर बसौं भन्दै सुनेको नसुन्यै गरेर हिँडे ।

विहे पश्चातको उहाँको अधिकांश समय यसरी नै बित्यो । दुई चार दिन काम गर्यो । काम छोड्यो । त्यहाँबाट आएको पैसाले जाँड खायो । आज एक भोली अर्को गर्दै कैयौं महिलासँग मोज मस्ती गर्यो । उहाँलाई छोराछोरी र हामी श्रीमतीप्रति न माया न विश्वास । महिला फेरिरहनुपर्ने सायद उहाँको जीवनको सबैभन्दा ठूलो सोख, लक्ष्य अनि कमजोरी पनि । उहाँलाई जीविकोपार्जनका लागि काम गर्नुपर्छ भन्ने पनि लाग्दैन र गर्नु पनि भएन । मैले कमाएको पैसाले जाँड खाने अनि मलाई नै पीडा दिने ।

एक दिन म अफिस गएको बेला देवर नाता पर्नेहरुले मेरो श्रीमान र काम गर्ने महिला दक्षिणकाली मोटरसाइकलमा घुम्न गएको कुरा सुनाए । अनि हामी पनि पिछा गरेर दुबैलाई पक्रिने योजना बनाई दक्षिणकाली गयौं । ति महिलाले मोटरसाइकलमा बसेर मेरो लोग्नेको कम्मरमा अँगालो हालेकी थिइन् । बीच बाटोमा समात्यौं ।

महिलालाई देवरले मेरो स्कुटरमा राखेर घरमा आई उसको लोग्ने सामु बुझाउने योजनासहित ल्याउनु भो । म अर्को देवरको बाइकमा बसेर फर्कियौं । दक्षिणकालीबाट सातदोबाटो पुग्दासम्म मेरो श्रीमानले सयौं पटक फोन गरेर धम्की दिनु भो । सेतो कपडा पनि किनेर लैजा । तैले मेरो बेइज्जत गरिस् । अब बाँचेर काम छैन भन्दै धम्काउन थाले । अनि ति महिलाका श्रीमानले पनि दुई छोराको मायाले श्रीमतीको गल्तीलाई माफी दिए । मैले पनि मेरो श्रीमानलाई माफी दिएँ ।

नाङ्गो फोटो टाँस्ने धम्की

मैले २०५२ सालदेखि गोल्छा कम्पनीमा काम सुरु गरे । त्यहाँ काम गर्दा एक पटक मैले राखी बानेको दाईको छोराको पास्नीको निम्तो आयो । मलाई भो तनाव । श्रीमान बिना पास्नीमा आउँदिन भने पछि दाईले ज्वाइँलाई पनि पास्नीको पार्टीमा बोलाउनु भो । मेरो अफिसको एकाउन्ट सेक्सनमा म मात्रै महिला थिएँ । पार्टीमा अरु सहकर्मीहरु पनि आउनुभएको थियो । उहाँहरुसँगै मेरो श्रीमानले मदिरा सेवन गरे । म कहिल्यै रक्सी खान्न । खाना खाएर उहाँहरुलाई कुरें । पार्टी सकिएपछि सँगै घर फर्कियौं ।

घर फर्केपछि शुरु भइहाल्यो उहाँको आरोप । पार्टीमा आएका सबै पुरुषकी म साझा गर्ल फ्रेण्ड भन्ने आरोप लगाउनु भो । अनि धम्की दिन थाल्नुभयो – तेरो अनुहारको फोटो कुनै नाङ्गो फोटोमा जोडेर पोष्टर बनाउछु । तेरो अफिसको भित्ता भित्तामा टाँस्छु । अनि के गर्छेस् र ? सहन सक्दिनस् आत्महत्या गर्छेस् भन्दै भन्दै तनाव दिनु भो ।

कार्यालयमा हुँदा सहकर्मीले आयोजना गर्ने कैयौं पार्टीहरुमा म जान सक्दिनथेँ । मिल्ने साथीहरुले निमन्त्रणा गर्दा दिउसोको समयमा राख्नुस् भन्थे । मेरै आग्रहमा कतिपयले दिउसो राख्ने पनि । सबैलाई त के नै भन्नु र । घरको पीडा छताछुल्ल हुने डर । रातको समयमा पार्टीमा जाने कुरा त मेरा लागि एका देशको कथा जस्तै । उहाँलाई सँगै जाऔं भन्दा पनि नजाने । मलाई अनुमति दिने कुराको त के कल्पना गर्नु र । अनि सहभागी हुनै सक्दिनथेँ ।

२६ वर्षदेखि यातनाको श्रृंखला

म भर्खर १९ वर्षकी थिएँ । पढ्दै जागिर गर्ने सिलसिलामा २०४८ सालमा चितवनमा उहाँसँग भेट भो । सम्पन्न परिवारकी मलाई जागिर गर्नै पर्ने बाध्यता नभए पनि केही गर्नुपर्छ भन्ने सोचले चाइनिज इटा टायल कम्पनीमा लेखापालको रुपमा काम गर्न थाले । उहाँ त्यही कम्पनीको मेनेजर । दिनहुँको भेटघाट र संगतले प्रेम बस्यो । उहाँ क्षेत्री, म बाहुन । जात नमिल्ने । तर पनि मान्छेको जात भन्दा मन हेर्नुपर्छ भन्ने विचार थियो मेरो । उहाँले मलाई निकै प्रभावित गर्नु भो । विहे गरेर खुसीको जीवन बिताउने सपना देखाउनु भो ।

उहाँको पारिवारिक आर्थिक अवस्था, शैक्षिक अवस्था, पारिवारिक पृष्ठभूमि केही जानकारी लिइन मैले । श्रीमान राम्रो भए सबै राम्रो हुन्छ भन्ने लाग्थ्यो । मैले परिवारलाई जानकारी नदिइ उहाँसँग भागे । भागेर ईण्डिया गयौं । बिहेको एक महिनामै गर्भ बस्यो । आठ महिनाकी गर्भवती हुँदा नेपाल आयौं । नेपाल आए पछि मात्रै थाहा पाएँ की, उहाँको त घरमा श्रीमती, दुई छोरी र एक छोरा रहेछन् ।

मैले लोग्नेबाट धोका पाएको बुझेँ । त्यो समयमा माइतीतिरकाले छुटाउनका लागि अति कोशिस गरे । पेटमा उसैको सन्तान छ । उसलाई छोडेर म कहाँ जाऔं ? सन्तानलाई कसको नाम दिऔं भन्दै माइतीको कुरा सुनिन । उहाँकै पछि लागें । ललितपुरमा उहाँको घरमा जेठी श्रीमती र छोराछोरी बस्थे । म कोठा भाडामा लिएर बस्न थाले ।

उहाँकी जेठी श्रीमती देखेर मलाई हिनताबोध हुन्छ । सोच्दै नसोचेको कुरा भोग्नु परेपछि मान्छे विरक्त हुँदोरहेछ । मेरो जीवनमा सौता हुन्छ र छ भन्ने कुराको कल्पना समेत नगरेकी म अनजानमा उहाँको सौता हुन पुगे । तर उहाँप्रति मलाई सम्मान छ । म उहाँको जीवनमा सौता बनेर जाँदा उहाँलाई कति पीडा भयो होला ? म त्यो कुराको महशुस गर्छु । तर उहाँले जबदेखि मलाई बिहे गर्नु भो जेठीलाई फर्केर पनि हेर्नु भएन । मेरो श्रीमती हो भन्ने अलिकति पनि महसुस गर्नुभएन ।

त्यसकारण पनि मैले उहाँबाटका दुई छोरीको बिहे आफै गरिदिएँ । छोरालाई पनि आफैले जागिर लगाइदिएकी छु । उहाँ बिरामी हुँदा आफैले स्याहार सम्भार गरेकी छु । पिठिउँमा बोकेर एम्बुलेन्ससम्म पुर्याएकी छु । उहाँप्रति मलाई कुनै गुनासो छैन ।

२०४९ सालमा जेठो छोरा जन्मियो । २०५२ सालमा कान्छो छोरा । कान्छो छोरा ६ महिनाको हुँदा भाउजुको सहयोगमा गोल्छा कम्पनीमा लेखापालको जागिर पाएँ । २०५२ फागुन २ गतेबाट शुरु भएको गोल्छा कम्पनीको जागिर २०७३ सालसम्म गरेँ । उपमेयरमा उम्मेदवारी दिएसँग जागिर छोडें ।

निर्वाचनमा श्रीमानको साथ

चितवनमा हुँदा म नेविसंघको सक्रिय सदस्य थिएँ । उहाँसँग बिहे पछि मेरो राजनीतिक यात्रा टुंगिए जस्तै थियो । पछिल्लो चरणमा नेपाली काँग्रेसका पुरुषोत्तम सिलवाल, विजय सिलवाल, रमेश सिलवालले पार्टीमा लाग्न सुझाव दिनुभयो । उहाँहरुको सहयोगले राजनीति र समाजसेवा गर्ने मेरो चाहाना पुरा हुने भो भन्ने लाग्यो । म पनि पार्टीमा क्रियाशील हुँदै गएँ । ललितपुरको पार्टी ईकाइ कमिटी सदस्य, काँग्रेस गोदावरीको कोषाध्यक्ष भएर काम गर्ने अवसर पाएँ । पार्टीले उपमेयरको टिकट दियो । जनताको विश्वासले चुनाव जितियो ।

चुनावताका श्रीमानले निकै सहयोग गर्नु भो । आफन्त, नातागोता सबैलाई आग्रह गर्नु भो । पैसा खर्च गर्नु भो । उहाँ साँच्चिकै सुध्रिनु भो भन्ने लाग्यो । तर जब चुनाव जितियो । मान्छेसँगको भेटघाट र आवतजावत बढ्न थाल्यो । अनि शुरु भयो उहाँको विगत ।

लोग्ने मान्छे नामको जो सुकै होस्, उहाँलाई फरक पर्दैन । मेरो र उसको नाम जोडेर यातना शुरु भइहाल्ने । कार्यक्रममा छु भन्दा तेरो छेउछाउमा को छ फोन दे त भन्दै अरुलाई मेरो श्रीमानसँग कुरा गराइदिनु पर्ने । कार्यक्रममा बस्दा होस् या अफिसमा । लिनु न मेरो श्रीमानसँग कुरा गरिदिनुस् भनेर कति जनालाई कति पटक भन्नु ?

त उपमेयर भएर के गर्छेस्, सिन्को भाँच्न सक्दिनस् । तेरो ठाउँमा पुगेका अरुले कति कमाउछन्, तेरो कमाई खोई ? भन्ने । त सक्दिनस् भने मलाई जानकारी दे, म गर्छु भन्ने । म जनप्रतिनिधि, जनताको काम गर्न गएको मान्छे । भ्रष्टाचार गर्न सक्दिन, गर्दिन पनि ।

अबको बाटो

म उपमेयर अर्थात् न्यायिक समितिको संयोजक । उहाँसँग बिहे भईसकेपछिका २६ वर्ष उहाँका प्रश्न, आरोप, कुटपिट, गाली बेइज्जती र अपमान सहेर बिते । मेरो स्वतन्त्रता के हो ? मैले खोजिन । प्रेम विवाह गरेर गरेका कारण माइतीमा पनि धेरै भन्ने आँट गरिन । सके जति सहेर बस्ने सोच बनाए । तर उहाँको प्रेम पाउने र जीवन खुसी हुने मेरो कल्पना कल्पनामै सिमित भो ।

निर्वाचन जितिसकेपछि उहाँले पटक पटक, हरेक दिन, हरेक घण्टा प्रश्न गर्न थाले पछि म सँगै हिँडिदिनुस् । म के के गर्छु । को को सँग भेट्छु । मेरो काम, कर्तव्य के हो बुझिदिनुस्, सँगै हिँडिदिनुस् भनि आग्रह गर्दा समेत म तेरो भरिया हो र त सँगै हिँड्नलाई भन्ने । उल्टै अरु अरु उपमेयर महिलाका श्रीमानको नाम लिएर उ जस्तो जोईटिंग्रे होइन म भन्ने । यसो गर्दा पनि हुने, उसो गर्दा पनि नहुने ।

अब मेरो व्यक्तिगत जीवन मात्रै रहेन । हिजोसम्म म एक जना मुना अधिकारी मात्रै थिएँ । आज म ललितपुर जिल्लाको उपमेयर हो । अझ यस्ता खालका हिंसा र यातना विरुद्ध न्यायिक लडाइँ लड्नु पर्छ भन्दै अरुलाई न्यायका लागि अघि बढ्न हौसला दिने पदमा छु ।

म जस्तो महिलालाई त लोग्नेको पीडा बोकेर प्रहरी कार्यालय जाँदा प्रहरीले मिल्नुपर्छ भन्दै दबाब दिन्छ भने देशको दुर दराजका महिलाको अवस्था के होला ? अब म यो भन्दा धेरै लोग्नेको यातनाको शिकार हुन चाहन्न । अब न्यायिक लडाइँमा जान्छु ।

ललितपुरवासीको विश्वासले यो ठाउँमा आएकी छु । अबका चार वर्ष जनताको पक्षमा धक फुकाएर काम गर्ने सोच बनाएकी छु । निर्वाचन जिते पछिको एक वर्ष जनताको काम भन्दा धेरै श्रीमानका प्रश्न र छेकबारहरुको सामना गर्दै बित्यो । अब मलाई जनताको काम गर्ने कुरामा कुनै र कसैले तोकिदिएको समय सीमाले अर्थ राख्ने छैन । कुनै गोष्ठि, सेमिनारको चिठी आउँदा कसरी जाने होला भन्ने कुराले तनाव हुने छैन । जतिसुकै बेला जनताले बोलाएको ठाउँमा जानबाट कसैले रोक्ने र छेक्ने छैनन् । म स्वतन्त्र हुनेछ ।

महिला खबर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com