मनकामना मन्दिरमा सुनको गजुर


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

प्रशिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा गजुर राखिएको छ।  मुख्यपुजारी इन्सान थापा मगरलगायतले गजुर राखेका हुन्। बाजागाजाका साथ विशेष पूजा गरेर गजुरलाई मन्दिरको माथिल्लो तलामा चढाइएको थियो। मन्दिर जिर्णोद्वारको काम चलिरहे पनि उपयुक्त साइत सोमबार परेकाले गजुर राखिएको जिर्णोद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए।

 

‘माथिल्लो छानामा जलप लगाइसकियो’ संयोजक श्रेष्ठले भने, ‘अब दोस्रो तलामा छाना हाल्न मात्रै बाँकी छ। सोमबारलाई उपयुक्त साइत भएकाले गजुर राखेका हौं।’ अध्यक्ष श्रेष्ठका अनुसार अहिलेसम्म सात किलो सुनले गजुर र माथिल्लो तलाको छानामा जलप लगाउने काम सकिएको बताए। पुरानो गजुर मर्मत गर्न मात्रै २० लाख रुपैँयाँ खर्च भएको उनको भनाइ छ। १६ किलो सुनले मन्दिरको छाना, ढोका, नागकन्या लहरीमा जलप लगाउने श्रेष्ठले बताए। नेपाल सरकारबाट प्राप्त चार करोड रुपैयाँले सात किलो सुन किनिएको समितिले जनाएको छ।

अहिले मन्दिरको जिर्णोद्वारको काम ९० प्रतिशत सम्पन्न भएको समितिले जनाएको छ। अब मन्दिरमा केही टुँडाल खोप्ने, झ्याल ढोका र तल्लो छानामा जलप लगाउने काम मात्र बाँकी रहेको छ। मन्दिर जिर्णोद्वारका लागि सरकारबाट चार करोड र भक्तजनबाट करिब नौ करोड रुपैयाँ संकलन भएको समितिले जनाएको छ। मन्दिर निर्माण सक्न करिब १५ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको संयोजक श्रेष्ठको भनाइ छ। ०७२ असारदेखि जिर्णोद्वारको काम सुरु भएको थियो। पूरानो मन्दिर भत्काएर जगैदेखि पुनर्निर्माण थालिएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com