भूकम्पको आज ३ वर्ष पूरा,न उठ्यो धरहरा न भरियो रानीपोखरी


प्रकाशित मिति : बैशाख १२, २०७५ बुधबार

ईश्वरराज ढकाल, काठमाडौं
भूकम्प गएको आज ३ वर्ष पूरा भएको छ। भूकम्पबाट विश्व चर्चित धरहरा, रानीपोखरी र काण्ठमण्डपको संरचना ध्वस्त भएको थियो। ती सम्पदाहरू पुनर्निर्माण अहिलेसम्म हुन सकेको छैन। कहिले स्थानीय, कहिले पुरातत्व र काठमाडौं महानगरपालिकाबीचको हानाथापका कारण ती सम्पदाहरूको पुनर्निर्माण हुन नसकेको हो।

कामपाको स्वामित्वमा रहेको रानीपोखरी, धरहरा र काष्ठमण्डपको पुनर्निर्माण अन्योलमा छ। तर तीनवटै सम्पदा यसै वर्षदेखि पुनर्निर्माण गर्ने तयारी भइरहेको कामपा, विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको दाबी छ। जेठभित्र रानीपोखरी र काष्ठमण्डप तथा केही महिनापछि धरहरा पुनर्निर्माणको काम शुरू हुने बताइएको छ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले तीनवटै सम्पदा तत्काल बनाउन निर्देशन दिएपछि काम शुरू हुने झिनो आशा पलाएको जनता बताउँछन्। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य जेठ १५ गतेदेखि काष्ठमण्डप र त्यसपछि तत्कालै रानीपोखरी निर्माण थालिने दाबी गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ– ‘आन्तरिक तयारी र केही विवादका कारण समस्या परेर कार्य प्रारम्भ गर्न ढिला भएको छ।’

कामपा हनुमानढोका संरक्षण कार्यक्रम कार्यालय प्रमुख उदय पसखल पनि मेयरको बोलीमा लोली मिलाउँदै भन्नुहुन्छ– ‘जेठ १५ गतेदेखि नै काण्ठमण्डप बनाउन थाल्ने हो, पहिलो चरणमा काम लाग्ने÷नलाग्ने काठ छानेर अपुग भएमा अन्य काठ खरिद गर्नेछौं।’ काष्ठमण्डपको जगको अवस्थाबारे जानकारी नभएकाले त्यसको अध्ययन गरेर मात्रै पुनर्निर्माण शुरू गरिने बताउँदै मेयर शाक्य भन्नुहुन्छ– ‘जगको अवस्थाबारे जानकारी हुनासाथ काम थाल्छौं।’

स्थानीय जनताको सहयोगमा काण्ठमण्डप पुनर्निर्माण शुरू गर्ने कामपा र विभागको तयारी छ। कामपाले करिब १९ करोड रुपियाँ लागतमा काष्ठमण्डप पुनर्निर्माण गर्ने तयारी गरेको छ। काष्ठमण्डपका लागि करिब ९ करोड रुपियाँको काठ लाग्ने अनुमान गरिएको छ। पुनर्निर्माण थालनी गर्ने भनिए पनि अहिलेसम्म महानगरपालिकाले यसको निर्माण मोडालिटी टुंग्याएको छैन।

स्थानीय संघसंस्थालाई दिने नदिनेबारे कसरी टुड्डो लगाउने भन्ने विषयमा निष्कर्ष निकाल्न बाँकी नै छ। स्थानीय जनताले भने काष्ठमण्डप पुनर्निर्माणको जिम्मा आफूहरूलाई नै दिनुपर्ने माग गरेका छन्।

उनीहरूको दबाबका कारण महानगर टेन्डर गरेर ठेकेदारमार्फत नबनाउने निष्कर्षमा पुगेको थियो। विभागका महानिर्देशक भेषनारायाण दाहाल मन्त्रीको निर्देशनअनुसार काष्ठमण्डप र रानीपोखरीको ड्रइङ, डिजाइन कामपालाई हस्तान्तरण गरिसकेको बताउँदै भन्नुहुन्छ– ‘केही पुनरावलोकन गर्नुपर्ने भए तयार छौं।’

दुई वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण आरम्भ गरे पनि विवादका कारण रोकिएको रानीपोखरीको पुनर्निर्माण पनि जेठबाटै शुरु हुने भएको छ। रानीपोखरीवरपर लगाइएको कंक्रिट वाल भत्काएर मल्लकालीन शैलीमा बनाइने तयारी भइरहेको कामपा शहरी विकास विभागका प्रमुख रामबहादुर थापाको भनाइ छ। करिब २ करोड ३० लाख रुपियाँमा खर्च गरी रिटेनिङ वाल लगाइएको सम्पूर्ण संरचना भत्काउन कामपाले टेन्डर गर्ने भएको छ।

भत्काएलगत्तै जेठ १५ गतेबाट पुनर्निर्माणको काम शुरू हुने उहाँ बताउनुहुन्छ। विभागबाट नक्सा प्राप्त भइसकेको छ। अब वाल भत्काएलगत्तै काम थालिन्छ। करिब ६ महिनादेखि स्थानीय, पुरातत्व र कामपाबीच विवादको कारण रानीपोखरी पुनर्निर्माण हुनसकेको थिएन।

यस्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ साल फागुन ४ गते म बनाउछु मेरो धरहरा अभियान आरम्भ गरेको धरहरा अझै अहिलेसम्म उठ्न। यद्यपि पुनः प्रधानमन्त्री बन्नुभएका ओलीले यसको पुनर्निर्माणका लागि प्राधिकरणलाई निर्देशन दिइसक्नुभएको छ।

प्राधिकरणले विभागलाई अन्तिम माटो परीक्षण गर्न दिएको छ। प्राधिकरणका प्रवक्ता यमलाल भुषालका अनुसार माटो परीक्षणको प्रतिवेदन आउनासाथ धरहरा बनाउन थालिनेछ।

कामपाको स्वामित्वमा रहेको धरहरा करिब ४ अर्ब रुपियाँ लागतमा प्राधिकरण आफंैले बनाउन लागेको हो। यो वर्षबाट हामी काम शुरू गर्नेछौं’ –प्रवक्ता भुषाल भन्नुहन्छ। धरहरा पुनर्निर्माणमा हालसम्म ९ करोड रुपियाँ संकलन भइसकेको छ। यो भूकम्पबाट विश्वसम्पदा सूचीमा सुचिकृत हनुमानढोका, बौद्धनाथ, स्वयंभु, चागुनारायण, पाटन र भक्तपुर दरबार क्षेत्रमा सबैभन्दा बढी क्षति भएको थियो। यीमध्ये पनि हनुमानढोका क्षेत्रमा बढी क्षति भएको थियो। अन्य क्षेत्रको तुलनामा काठमाडौँको पुनर्निर्माण सुस्त भएको छ। हनुमानढोका दरबार क्षेत्रको वसन्तपुर दरबार चीन र गद्दीबैठक अमेरिकी सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ।

पछिल्लो तथ्याङ्कअनुसार भूकम्पले ध्वस्त भएका ७ सय ५३ सम्पदामध्ये करिब सयवटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ। पुरातत्व विभागले करिब ३ वर्षको अवधीमा सय वटा सम्पदाको पुनर्निर्माण सम्पन्न गरिसकेको छ।

विभागका महानिर्देशक दाहाल भारत सरकारबाट २८, जापान सरकारबाट २ वटा सम्पदाको पुनर्निर्माण भइरहेको बताउनुहुन्छ। विभागले आगामी आवमा बहुवर्षीयबाहेक १ सय २६ सम्पदा पुनर्निर्माणका लागि मन्त्रालयमा प्रस्ताव गर्ने जनाएको छ। यस्तै आव २०७७–२०७८ सम्म २ सय ७४ वटा सम्पदाको पुनर्निर्माण गर्न प्रस्ताव गरिदैँ छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com