रक्षामन्त्रीको नगरपालिकाका प्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न निर्देशन


प्रकाशित मिति : बैशाख १०, २०७५ सोमबार

वैशाख १०, भक्तपुर । – रक्षामन्त्री र्इश्वर पोखरेलले मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी परिसर भक्तपुरका प्रमुखलाई निर्देशन दिनुभएको छ ।

सोमबार श्रेष्ठको स्वास्थ्य अवस्थाबारे बुझ्न मध्यपुरथिमी नगरपालिकाद्वारा सञ्चालित कोरिया मैत्री अस्पतालमा पुग्नु भएका मन्त्री पोखरेलले प्रजिअ द्रोण पोखरेल र प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक किरण राणालाई फोनबाट यस्तो निर्देशन दिनुभएको हो ।

गएको शनिबार साँझ चार जना व्यक्तिको आक्रमणमा घाइते भएका नगरप्रमुख श्रेष्ठसँग घट्नाबारे मन्त्री पोखरेलले जानकारी लिनुभएको थियो । रक्षा मन्त्रीले नगरप्रमुखमाथि आक्रमण हुदाँको दृश्य मोबाइलमा हेरेपछि सीसी क्यामराको माध्यमबाट आक्रमणकारी चिन्न सकिने अवस्थामा हुँदाहुँदै पनि प्रहरीले घट्ना भएको ४८ घण्टासम्म आक्रमणकारी पक्राउ नगरेको भन्दै चासो लिनुभएको थियो । उहाँले गृहमन्त्रीलाई भेटेर यसबारे जानकारी गराउनेसमेत बताउनुभयो ।

सोमबार साँझ नगर प्रमुख श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुग्नु भएका संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सुरक्षा व्यवस्थाबारे चासो दिनुभएको थियो ।

मोबाइलबाट श्रेष्ठमाथि भएको आक्रमणको दृश्य हेर्दै आक्रमणकारीलाई तत्काल पक्राउ गर्न र प्रमुख श्रेष्ठको सुरक्षाको व्यवस्था गर्न आफूले पहल गर्ने बताउनुभयो ।
सोमबार साँझ नै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उप–प्रमुख जुना बस्नेत, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रलगायतले नगर प्रमुख श्रेष्ठलाई अस्पतालमा पुगेर भेट गर्नुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com