बिस्केट जात्रामा किन हुन्छ ढुंगामुढा ? यस्तो छ कारण


प्रकाशित मिति : चैत्र २६, २०७४ सोमबार

ईश्वरकाजी खाइजू /
भक्तपुरको सबैभन्दा लामो बिस्का जात्रा मंगलबादेखि सुरु हुँदै छ। आठ दिन नौ रातसम्म मनाइने बिस्का भक्तपुरको लामो र मुख्य जात्रा हो। स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ।

भक्तपुर नगरको केन्द्रमा अवस्थित पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरुवात हुन्छ। यस दिनलाई स्थानीय भाषामा द्य क्वहाँबिज्याइगु (देवता तल सवारी हुने) भनिन्छ।

तर भक्तपुरमा बिस्का जात्रा सुरु नहुँदै यस जात्राको क्रममा हुने ढुंगामुढा एवं झैझगडाले प्राथमिकता पाउँदै आएको छ। ढुंगामुढासँगै जात्राको क्रममा सर्वसाधारणको ज्यान समेत जाने भएकाले जात्रा सुरु नहुँदै प्रहरी प्रशासनको टाउको दुःखाई सुरु हुन्छ। जात्रा शान्तिपूर्ण र व्यवस्थित गर्नकै लागि प्रहरी प्रशासन महिनदिनअघि देखि विभिन्न तयारी गर्दै आएका छन्।

तर बिस्का जात्राको विगत हेर्दा प्रहरी प्रशासनले यसरी महिनादिन अघिदेखि गर्ने प्रयास असफल हुँदै आएको छ। तैपनि प्रहरी प्रशासनले आफ्नो प्रयास छोडेको छैन। भक्तपुर नगरपालिकाले समेत महिनादिन अघिदेखि जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न विभिन्न तयारीहरू गरेको छ। स्थानीय तह निर्वाचन भएर यसै वर्ष जनप्रतिनिधिहरू आएका छन्।

प्रहरी प्रशासन र नगरपालिकाले यस वर्षको जात्रामा ढुंगामुढा हुन नदिने संयुक्त प्रयास थालेका छन् तर के कारणले जात्रामा ढुंगामुढा हुन्छ ? धेरैजसोसँग जवाफ छैन।

दुईतिर रथ तान्दा पनि झगडा !

सबैको बुझाई भैरवनाथको रथ तलमाथि (थने–क्वने) गरी दुई समूहमा बाँडेर तान्ने गरेकाले आफूतिर रथ तान्न सक्ने समूहले ढुंगामुढा गर्ने भन्ने बुझाइ रहँदै आएको छ। त्यसैले दुईतिर रथ नतानी एकपटकमा एकतिरमात्रै रथ तान्नुपर्ने आवाज पनि नसुनिएको होइन। तर यथार्थ यस्तो होइन।

रिस साँध्ने क्रममा ढुंगामुढा

प्रहरी प्रशासन र नगरपालिकाबाट पीडितहरुले बिस्का जात्रालाई आफ्नो रिस साँध्ने माध्यम बनाउने क्रममा ढुंगामुढा हुने गरेको बताउनेहरू पनि कम छैनन्। प्रहरी एवं ट्राफिक प्रहरीबाट पीडितहरूले बिस्का जात्राकै क्रममा आफ्नो रिस पोख्ने सर्वसाधारणको भनाइ छ। त्यस्तै नगरपालिकामा नक्सापास गर्न जाँदा अलमल गरिँदा, वडामा कुनै सिफारिस लिन जाँदा ढिलाइ गर्दा पनि त्यसको रिस बिस्का जात्रामा पोख्ने गरिने बताउनेहरू धेरै छन्। तर वास्तविकता योमात्रै पनि होइन।

मापसेको लफडा

मादकपदार्थ सेवन गरेर जात्रामा सहभागी हुने कारण पनि ढुंगामुढा हुने बताउनेहरूको संख्या कम छैन। प्रहरी प्रशासनको बुझाइ पनि यही छ। जात्रामा नेपालभाषीहरुले भोज खाने एवं संस्कृति मान्ने क्रममा बढी जाँडरक्सी खाने हुनाले सामान्य विवादकै बीचमा ढुंगामुढा हुने गरेको प्रहरीको भनाइ रहँदै आएको छ।

त्यसैले प्रहरी प्रशासनले जात्रा हुने क्षेत्रमा मादक पदार्थ बिक्री वितरणमा बन्देज लगाउँदै आएको छ। तैपनि मापसे नगरी जात्रामा सहभागी हुने हातमा गन्ने संख्यासम्म पाउन सकिन्न।

कमजोर व्यवस्थापनले हुन्छ ढुंगामुढा

बिस्का जात्राको मुख्य आकर्षण भैरवनाथको रथ तानेर सम्बन्धित ठाउँमा पुर्‍याउनु हो। अजंगको रथका चारवटा ठूला काठकै पाग्रा छन्। जुन केही दर्जन मान्छेको बलले हलचल गर्न हम्मे हम्मे हुन्छ। सयौं मान्छेले एकैबाजी एकै बलमा तानेमात्रै रथलाई गुडाउन सकिन्छ। फेरि साधारण बलले रथ तान्न सम्भव छैन।

जति तान्दा पनि रथ टसमस नहुने र रथमा दर्जनौं अनधिकृत व्यक्ति चढ्ने भएकै कारण ढुंगामुढा हुने संस्कृतिकर्मी धौभडेल दावी गर्छन्।

‘रथमा अनधिकृत मान्छे बसेपछि रथ तान्नेहरूलाई रिस उठ्छ’, उनी थप्छन्, ‘उनीहरूलाई रथबाट झार्न अगाडि जे भेटिन्छ त्यसैले हान्ने गरिन्छ। यसरी हानिएको वस्तुबाटै ढुंगामुढाजस्तो ठूलो घटनामा परिणत हुन्छ।’

त्यसैले रथमा अनधिकृत व्यक्तिलाई चढ्न रोक्दै उज्यालोमै जात्रा सकाइए शान्तिपूर्ण हुने उनको सुझाव छ।

त्यस्तै रथ तान्न प्रयोग गरिने डोरी चुँडिँदा पनि जात्रालुले आक्रोश व्यक्त गर्ने क्रममा हुने घटना ढुंगामुढासम्म पुग्ने स्थानीय बताउँछन्।

‘अहिलेसम्मको ढुंगामुढाको विगत यही हो। गुठी संस्थानले ठेकेदारमार्फत कमसल डोरी ल्याउँन्छ। जुन डोरी रथ तान्ने क्रममा पटकपटक चुँडिन्छ’, स्थानीय रमण जोशी भन्छन्, ‘डोरी चुडिँदा जात्रालु लड्छन्, घाइते हुन्छन्। त्यसको रिस ढुंगामुढासम्म पुग्ने हो।’

त्यसैले जात्रा व्यवस्थापनमा कमजोरी हुने गरेकाले ढुंगामुढा र झैझगडा हुने गरेको स्थानीयको भनाइ रहेको छ।

ढुंगामुढा जात्राको अभिन्न अंग !

ढुंगामुढाको कारण भक्तपुरको बिस्का जात्रा बद्नाम हुन थालेको धेरैको भनाइ रहेको छ। ढुंगामुढा हुने कारण बिस्का जात्रा हेर्न जोकोही आउन डराउने बताइन्छ तर यथार्थ यसको उल्टो छ। पछिल्लो समयमा बिस्का जात्रा हेर्न आउनेहरुको संख्या बढेको बढ्यै छ। बिस्का जात्राका क्रममा भैरवनाथको रथ गुड्ने ठाउँमा पाइला टेक्ने ठाउँ हुँदैन। त्यसैले पछिल्लो समय रथले किचेर जात्रालु घाइते हुने क्रमसमेत बढेको छ।

साथै अहिले धेरैलाई ढुंगामुढा भएन भने बिस्का जात्रा मनाएको जस्तो नहुने गरेको स्थानीय बताउँछन्। बिस्का जात्रा सकेर घरमा कोही फर्कंदा सबैको एउटै प्रश्न हुन्छ, ‘यसपालि ढुंगामुढा भएन ? इँटा हानाहान भएन ?’

त्यस्तै बिस्का जात्राका क्रममा ढुंगामुढा भएन र झैझगडा भएन भने कतिपय युवाहरुसमेत यस वर्ष बिस्का जात्रा खल्लो भयो भन्छन्।

शान्तिपूर्ण रुपमा बिस्का जात्रा सम्पन्न हुँदा युवाहरुलाई समस्या हुन थालेको छ। उनीहरुका अनुसार बिस्का जात्रामा ढुंगामुढा भएन भने मज्जै आउँदैन। प्रहरीसँग ढुंगामुढा गरी लुकामारी खेल्नुको मज्जा बिस्का जात्राबाहेक अरु बेला नपाइने उनीहरू सगर्व बताउँछन्।

त्यसैले बिस्का जात्राको पर्याय ढुंगामुढा हुन थालेको यसबाट प्रस्ट हुन्छ। यी सबैलाई ध्यान दिन सकिए बिस्का जात्रामा हुने ढुंगामुढा तथा झैझगडा अन्त्य गर्न सकिने भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेले दावी गर्छन्।

ढुंगामुढा नगर्नेलाई प्रशासनले नछाड्ने

भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बिस्का जात्राको क्रममा ढुंगामुढा गर्ने तथा मादक पदार्थ सेवन गरी झैझगडा गर्नेलाई कानुनी कारबाही गरेरै छाड्ने बताएका छन्।

उनले बिस्का जात्राका क्रममा हुनसक्ने ढुंगामुढा र झैझगडा गर्नेहरूको पहिचानको लागि ठाउँठाउँमा सीसीटीभी क्यामरा जडान गरिएको जानकारी दिए।

‘जात्राकै क्रममा नियन्त्रणमा लिन नसकिए पनि सीसीटीभी क्यामराको फुटेजको आधारमा ढुंगामुढा गर्नेलाई जहिले पनि नियन्त्रणमा लिएर कारबाही गर्छौँ’, प्रजिअ पोखरेलले भने, ‘बिस्का जात्रामा ढुंगामुढा गरेर भक्तपुरको बद्नाम गर्नेहरुलाई पानीमुनि गएर भए पनि पक्राउ गरेर कारबाही गरेरै छाड्छौं।’

उनले बिस्का जात्रा शान्तिपूर्ण र व्यवस्थित गर्न सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाइसकेको जानकारी दिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com