‘गैरकानुनी सिमापारबिरुद्ध शुन्य सहनशीलता’ – अमेरिकी डिपार्टमेन्ट अफ जस्टिस


प्रकाशित मिति : चैत्र २४, २०७४ शनिबार

अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका छिर्ने कागजपत्रविहिनहरुबिरुद्ध शुन्य सहनशीलता अपनाउने घोषणा गरेको छ । महान्यायाधिवक्ता जेफ सेसनले मेक्सिकोसँग सिमा जोडिएको दक्षिणी सिमानामा अवस्था अस्वीकार्य बन्दै गइरहेको बताएका छन् । संसदले सिमा क्षेत्रमा पर्खाल लगाउने र खतरनाक छिद्रहरु बन्द गर्ने प्रभावकारी कानुन पारित गर्न नसकेकाले सिमा क्षेत्रमा संकट बढेको उनको भनाई छ ।

महान्यायाधिवक्ता सेसनले सिमा सुरक्षाका लागि अमेरिकी सरकारको डिपार्टमेन्ट अफ डिफेन्स र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको प्रयासलाई डिपार्टमेन्ट अफ जस्टिसले पूर्णतया समर्थन गर्ने बताएका छन् । आफूहरुले गतबर्षदेखि सिमाक्षेत्रमा सयौं अध्यागमन न्यायाधिसहरु थपेको र तीब्र गति अपनाउनका लागि नयाँ न्यायाधिसहरु नियुक्त गरेको समेत उनले बताएका छन् ।

कागजपत्रविहिनहरुले अमेरिकामा कुनै परिस्थीतिको सामनाविना नै सहजै बर्षौ विताउने अवस्था सृजना गर्नेगरी अदालतमा उनीहरुका मुद्दामा ढिलाई हुन नदिन आफूहरुले न्यायाधिसका लागि नयाँ मापदण्ड तोकेको समेत सेसनले बताएका छन् । डिपार्टमेन्ट अफ जस्टिसले हरेक अध्यागमन न्यायाधिसले बर्षमा ७ सय केसहरु सकाउनुपर्ने मापदण्ड तोकेको छ । सेसनले अमेरिकी अध्यागमन अदालतको प्रणाली अझ प्रभावकारी बनाउन कदम चाल्ने बताएका छन् ।

अमेरिकामा गैरकानुनीरुपमा प्रवेश गर्ने कागजपत्रविहिनहरुबिरुद्ध सरकारले कुनै पनि प्रकारका कानुनी अस्त्रहरु प्रयोग गर्ने जेफ सेसनले चेतावनी दिएका छन् । तीब्र गतिको देशनिकाला, शीघ्र अध्यागमन फैसला अपनाउने तथा अयोग्य मुद्दाका कारण अमेरिकाको अध्यागमन प्रणालीमा भार पर्ने स्थीति आउन नदिने कुराको सुनिश्चितता गर्ने उनले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com