जुम्लामा मुटु जाँच्दै भगवान कोइरालाले भने – कम उमेरमा हृदयाघात हुने बढे


प्रकाशित मिति : चैत्र २४, २०७४ शनिबार

चैत २४, जुम्ला वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाले जुम्लामा कम उमेरमा हृदयाघात हुने रोगको जोखिम बढेको बताएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मनमोहन कार्डियो भास्कुलर थेरापी काठमाडौँद्वारा आयोजित दुई दिने मुटुरोग शिविरमा पछि आयोजित कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

दुई दिने उक्त शिविरमा एक हजार १६८ बिरामीलाई उपचार सेवा दिइएको थियो । ‘त्यसमा अधिकांश बिरामी उच्च रक्तचापका छन्, जो कम उमेरका पर्छन् ” डा कोइरालाले भने । दमका रोगी पनि त्यत्तिकै बढी भएको तथा बढीजसो यहाँ धूमपान सेवन गर्ने कारणले दम र मुटुरोग धेरै देखिएको तथा फोक्सो बिग्रने समस्या पनि त्यत्तिकै रहेको उनको भनाइ थियो ।

शिविरमा जाँच गरिएकामध्ये जटिल समस्याका ५० बिरामीलाई काठमाडौँ सिफारिश गरिएको छ । सिफारिश भएका बिरामीलाई शहीद गंगालाल हृदयरोग केन्द्र काठमाडौँमा रु एक लाख बराबरको उपचार सहयोग हुने बताउँदै उनले केही समयपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगको सेवा शुरु हुने बताए ।

हिमाली जिल्लामा नवनिर्मित ३०० श्ययाको अत्याधुनिक भवन सञ्चालन भएको देख्न पाउने इच्छा रहेको बताउँदै उनले यसको विकासका लागि स्थानीयदेखि केन्द्रीय सरकारले प्रथामिकता दिनुपर्नेमा जोड थियो ।

शिविरबाट एक हजार २०० सेवाग्राहीले लाभ लिएकामा ६२ प्रतिशत महिलाले उपचार सेवा लिएको प्रतिष्ठानका डीन मोदनाथ मरहट्ठाले जानकारी दिए । प्रतिष्ठान जुम्लासँगको समन्वयमा सञ्चालित शिविरबाट जुम्लीको रु दुई करोड ४० लाख खर्च हुन जोगिएको छ ।

शिविर समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की र चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले प्रतिष्ठानको संस्थागत विकासका लागि स्थानीय सरकार प्रतिबद्ध भएको धारणा व्यक्त गरे ।

प्रतिष्ठानका डीन प्रा डा मरहट्ठाले कार्डियो भास्कुलर थेरापीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मिलेर सेवा निरन्तरताका लागि अनुरोध गरेका थिए । मुटुरोग विशेषज्ञ डा कोइरालासहित सात जनाको टोलीले सेवा दिएको थियो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com