मन्त्री बिना मगरको पहलमा निःशुल्क क्यान्सर परीक्षण शिविर सञ्चालन


प्रकाशित मिति : चैत्र १९, २०७४ सोमबार

चैत १९, कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा सोमबार पाठेघर तथा स्तन क्यान्सरको निःशुल्क चेकजाँच गरिएको छ।

क्यान्सरकै कारणबाट निधन भएकी प्रचण्ड पुत्री ज्ञानु दाहाल र आफ्ना दिवंगत पति एवं प्रचण्ड पुत्र प्रकाश दाहालको सम्झनामा कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले भरतपुर क्यान्सर अस्पतालको सहयोगमा क्यान्सर रोगको निःशुल्क चेकजाँच शिविर संचालन गरेकी हुन्।

क्रान्तिकारी महिला सञ्जाल बेलौरीको आयोजनामा सोमबार बेलौरीको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित स्वास्थ्य शिविरमा चार सय ५२ महिलाको चेकजाँच गरिएको छ। जस अन्तर्गत एक सय दुई जनामा पाठेघरमा संक्रमण भएको, १२ जनामा पाठेघरको मुखमा मासु पलाएको, १७ जनामा आङ खस्ने समस्या देखिएको र तीन जनामा क्यान्सरको आशंका गरिएको छ भने १० जनामा क्यान्सर पूर्वको अवस्था देखिएको बताइएको छ ।

त्यस्तै, १२ जना महिलाहरुको स्तनमा क्यान्सर भएको आशंका गरिएको क्यान्सर रोकथाम विभागका प्रमुख किशोर प्रधानाङले बताए । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका क्यान्सर रोकथाम विभागका प्रमुख किशोर प्रधानाङको नेतृत्वमा सात सदस्यीय टोली शिविरमा खटिएको छ।

अभियान अन्तरगत महिलाहरुको पाठेघर र स्तनको क्यान्सरको विशेष जाँच संगै उपचारको प्रबन्ध गरिने जनाइएको छ। गाउँमै पहिलो पटक भएको स्वास्थ्य शिविरमा निःशुल्क क्यान्सर जाँच गराउन पाउँदा स्थानीय महिलाहरु हर्षित भएका छन् । आइतबार पुनर्वास नगरपालिकामा सञ्चालित शिविरमा सात सय भन्दा बढी महिलाहरुको चेकजाँच गरिएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com