डाकाबारे कुनै सहमति नगर्ने भन्दै ट्रम्पको आक्रोश


प्रकाशित मिति : चैत्र १८, २०७४ आईतबार

इस्टरको शुभकामना दिए लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाल्यकालमा अमेरिका आएकाहरुलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रमबारे कुनै सहमति नगर्ने जनाएका छन् । ट्रम्पले ट्वीटरमार्फत डाकाबारे कुनै सहमति नगर्ने उल्लेख गरेका हुन् ।

डेमोक्र्याटहरुको क्याच एण्ड रिलिज जस्तो उदार कानुनका कारण सिमा सुरक्षा एजेन्टहरुले राम्रोसँग काम गर्न नसकेको आरोप लगाउँदै ट्रम्पले झन् पनि झन् खतरनाक अवस्था आइरहेको र सिमाबाट लस्कर छिरेको भन्दै आक्रोश पोखेका छन् । ट्रम्पले यदि अमेरिकाको दक्षिणी सिमाबाट आप्रवासीहरु छिर्ने क्रम कम नभए नर्थ अमेरिकन फ्रि ट्रेड एग्रिमेन्ट नाफ्टा खारेज गर्ने धम्की समेत दिएका छन् ।

मान्छेहरुको ठूलो प्रवाहले डाकाबाट फाइदा लिन खोजिरहेको भन्दै ट्रम्पले गैरकानुनी रुपमा आप्रवासी छिर्ने क्रम कम गर्न मेक्सिकोले एकदमै कममात्र काम गरिरहेको आरोप लगाएका छन् । इस्टरको क्रममा फ्लोरिडा पुगेका ट्रम्पले इस्टरको शुभकामना दिए लगत्तै लगातार तीनवटा ट्वीट गर्दै आक्रोश पोखेका हुन् ।

डाकाबारे अन्यौल कायमै रहेको बखतमा ट्रम्पको यस्तो ट्वीटले डाका कार्यक्रमको अन्यौलता अझ बढेको छ । जसबाट अमेरिकामा रहेका लाखौं आप्रवासीहरु देशनिकालाको जोखिममा परेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com