जिल्ला अस्पताल जाजरकोटमा प्रमुख डाक्टर नहुँदा करार डाक्टरको भरमा


प्रकाशित मिति : चैत्र १८, २०७४ आईतबार

जिल्ला अस्पताल, जाजरकोटका प्रमुख डा. चाँदनी जैसवाल गत मंसिरदेखि स्वास्थ्य सेवा विभागमा काजमा छन्। प्रमुख नहुँदा अस्पतालको प्रशासनिक कार्य त अस्तव्यस्त छ भने डेन्टल चिकित्सकसमेत रहेकी जैसवाल अस्पतालमा नहुँदा दन्त सेवा बन्द छ। अस्पतालका मेडिकल अधिकृत डा. निसराज बस्नेत बिनाबिदा एक वर्षदेखि अमेरिका बस्दै आएका छन्। गत कार्तिकमा अस्पतालमा उपस्थित भएर पुनः फर्किएका उनको त्यसयता हाजिरी रजिष्टरमा गयल जनाइएको छ। त्यस्तै, मेडिकल अधिकृत डा. कृष्णजंग शाह, मेडिकल अधिकृत डा. धर्मराज रेग्मी र मेडिकल अधिकृत डा. केशरजंग कार्की पनि जिल्ला अस्पतालमा छैनन्। अस्पतालमै कार्यरत मेडिकल अधिकृत डा. सुनिल पुन पनि जिल्लाबाहिर छन्। विभिन्न बहानामा जिल्ला छोडेका उनीहरुमध्ये केहीले उच्च तह अध्ययनका लागि तयारी रहेका छन् भने केही तामिलमा छन्।

डाक्टरको अनुपस्थितिमा ५० शय्याको जिल्ला अस्पताल भने करार सेवामा कार्यरत डा. अमिन शाहको भरमा चलिरहेको छ। अस्पतालको प्रशासनिक प्रमुखको जिम्मेवारी पनि डा। शाहले नै चलाउनु पर्दा उपचारमा समेत बाधा पुगिरहेको छ। अस्पताल प्रमुख नै नभएपछि डाक्टरहरु आफु खुसी जिल्लाबाहिर जाँदा अस्पतालको सेवा नराम्ररी प्रभावित भएको स्थानीयको गुनासो छ। अस्पताल प्रमुख नहुँदा अस्पतालको प्रशासनिक कार्य अस्तव्यस्त र सेवा प्रभावित भएको भन्दै काज फिर्ताका लागि आफूले पटक–पटक ताकेता गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाही बताउँछन्।

‘मैले पटक–पटक काज फिर्ता गराउन ताकेता गरे पनि सुनुवाई भएन,’ प्रजिअ शाहीले भने, ‘जिल्ला अस्पतालमा दरबन्दीमा कार्यरत कुनै पनि डाक्टर जिल्लामा छैनन्। करारका एक जना डाक्टरको भरमा जिल्ला अस्पताल चलिरहेको छ।’ प्रजिअले ताकेता गरे पनि डा। जैसवाल मन्त्रालयमा काजमा बस्दै आएकी छन्। जिल्ला अस्पतालमा मात्र होइन, जिल्लाका ग्रामीण भेगमा रहेका तीन वटा प्राथमिक स्वास्थ्य केन्द्रसमेत चिकित्सकविहीन छन्। दल्ली, लिम्सा र गर्खाकोटमा कार्यरत डाक्टर विभिन्न बहानामा जिल्ला छोडेर गएपछि ती स्वास्थ्य संस्था डाक्टरविहीन भएका छन्। लिम्सामा कार्यरत डा. सञ्जिवकिरण प्रधान, गर्खाकोटमा कार्यरत डा. पवन शाक्य र दल्लीमा कार्यरत डा. सञ्जयकुमार यादव र डा. सञ्जय थापा एक महिनादेखि जिल्लाबाहिर छन्। डा. यादवले जाजरकोटका प्रमुख जिल्ला अधिकारी शाहीले धम्क्याएको भन्दै जिल्ला छोडेका हुन् भने अन्य डाक्टरहरु उच्च शिक्षाको तयारीका लागि काठमाडौं गएको बताइएको छ।

अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र शाहले अस्पताल प्रमुख जैसवाललाई काजमा राखेर स्वास्थ्य विभागले नै अस्पताललाई अस्तव्यस्त पारेको बताउँछन्। अस्पतालबारे जाजरकोटका सांसद तथा केन्द्रीय सरकारका वन मन्त्री शक्तिबहादुर बस्नेतसँग सम्पर्क गर्न खोज्दा फोन उठेन। उनले चुनावी घोषणापत्रमा जाजरकोटका जनतलाई प्रभावकारी स्वास्थ्य सेवा पुर्याउने उल्लेख गरेका थिए। सिटामोल समेत छैन सरकारले ७२ प्रकारका औषधि निःशुल्क वितरण गरे पनि जाजरकोट अस्पतालमा भने सिटामोल र जीवनजलसमेत पाइन छाडेको सेवाग्राहीको गुनासो छ। बजेट अभावमा अस्पतालले समयमै औषधि खरिद गर्न नसक्दा र सरकारले निःशुल्क वितरण गरिने औषधि नपठाउँदा समस्या आएको हो। यता मौसम परवर्तनसँगै अस्पतालमा बिरामीको चाप बढ्दो छ। औषधि अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन्। अस्पतालमा डेलिभरी सेवाका लागि गज, कटन, ग्लोब्स र आरएलसमेत अभाव छ। भेरी नगरपालिकाले चालु आर्थिक वर्षमा औषधि खरिदका लागि बजेट नछुट्याउँदा यो समस्या भएको हो। नगरपालिकाले भने २५ शय्यासम्मका अस्पतामा मात्र औषधि पु¥याउने आफ्नो क्षेत्राधिकार भएकाले ५० शय्याको अस्तपालका लागि बजेट छुट्याउन समस्या भएको बताएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com