खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने : मन्त्री पण्डित


प्रकाशित मिति : चैत्र ६, २०७४ मंगलबार

चैत ६, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने बताए ।

सोमबार मन्त्रालयमा उनले प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारी नगएर काममा प्रभावित भएको भन्दै खटाएको ठाउँमा नजाने कर्मचारीलाई सधैँका लागि बिदा समेत दिन सकिने बताए ।

मन्त्रालयले प्रदेश सरकार सञ्चालनका लागि खटाएका दुई सय ९३ कर्मचारी अझै पुगेका छैनन् । ‘राज्यको तलब खाएका कर्मचारी सरकारले खटाएको ठाउँमा जान्न भन्न पाइँदैन ।’, उनले भने, ‘कि कर्मचारीले घर रोज्नुपर्यो कि कार्यालय ।’ सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको विवरण तयार भइरहेको समेत मन्त्री पण्डितले बताए ।

अघिल्लो सरकारले कर्मचारीका लागि ल्याएको स्वेच्छिक अवकाश वर्तमान सरकारले निरन्तरता नदिने बताउँदै उनले भने, ‘देशमा कर्मचारी अपुग भएका बेला स्वेच्छिक अवकाश हुँदैन ।’

मन्त्री पण्डितले फाराम भरेका भरमा स्वेच्छिक अवकाश नदिइने बताए । शारीरिकरुपमा अशक्त र मानसिकरुपमा रोगी भएकालाई मात्र स्वेच्छिक अवकाशको दिइने उनको भनाइ छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि स्वेच्छिक अवकाश नदिने घोषणा गरिसकेका छन् । मन्त्री पण्डितले ऐन कानुन बनाएर मन्त्रालयका काम कारबाहीलाई चुस्तदुरुस्त बनाइने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएकामध्ये ७२ प्रतिशत कर्मचारी तोकिएको स्थानमा पुगिसकेको बताए । रासस

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com