युएस बंगला जहाज दुर्घटनामा बाँचेका यात्रु सनम शाक्यले गरे अचम्मको खुलासा


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

विभिन्न ट्राभल एजेन्सीका हामी बाह्र जना एउटा कार्यक्रममा भाग लिन ढाका गएका थियौं। कार्यक्रम सकेर आज सँगसँगै फर्कदैं थियौं। यूएस बंगलाको जहाज दिउँसो साढे १२ बजे ढाका विमानस्थलबाट उड्यो।लगभग जहाज भरिएको थियो। हामी सबै अगाडितिरको लहरमा थियौं। अलि पछाडि बंगलादेशमा एमबिबिएस पढिरहेका भाइबहिनी थिए। तीस जनाभन्दा बढी नेपाली थिए कि जस्तो लाग्छ। बंगालीहरू पनि उत्तिकै थिए। धेरै त पहिलो पटक नेपाल घुम्न आउँदै थिए।संख्या यकिन छैन, तर चिनियाँ र दक्षिणपूर्वी एसियाका केही पर्यटक पनि थिए।

यात्राभर कुनै समस्या भएन। छुट्टिमा नेपाल आइरहेका विद्यार्थी भाइबहिनीको उत्साह र पर्यटकको उत्सुकताले हामी त्यसै रमाएका थियौं।नेपालका डाँडाकाँडा देखिन थालेपछि हामी सबैको उत्साह र उत्सुकता झनै बढ्यो। बादल लागेकाले दृश्य खासै राम्रो त देखिएन। तर,पहिलोपटक नेपाल आइरहेकाहरू झ्यालबाट क्यामरा तेर्स्याउन थालेका थिए। कति त हिमाल देखिन्छ कि भन्ने आसमा देब्रे लहरबाट दाहिने लहरतिर सरेका पनि थिए। हामी भने आफ्नै गफमा भुलिरहेका थियौं।जब ल्यान्ड गर्नेबेला भयो जहाजले सामान्यभन्दा बढी समय लगायो। काठमाडौंमाथि दुई–तीन चक्कर लगाएपछि आज आकाशमा धेरै ट्राफिक रहेछ भन्ने लाग्यो। यसले नेपाल आउने पर्यटक बढेको संकेत दिन्छ। एक पर्यटन व्यवसायीका रूपमा यो हाम्रो लागि खुसीको कुरा थियो।

तर, केहीबेरमै हामी जीन्दगीकै कहाली लाग्दो क्षणतर्फ अगाडि बढ्दै थियौं।

जहाजले आकाशमा दुई–तीन चक्कर लगाएपछि, जब कम उचाइमा झर्यो मलाई असामान्य अनुभूति भयो। मसँग धेरै पटक धेरै खाले जहाज चढेको अनुभव छ। काठमाडौंमा अवतरण गर्दा पहाडमा ठोक्किएला जस्तो अनुभव कहिल्यै भएको थिएन।आज भने त्यो जहाज पहाडको एकदमै नजिकबाट तल झरेको थियो। जहाजका पांग्राले धावनमार्ग छुनु अघि नै हामीले सिटमै एक किसिमको कम्पन महशुस गरेका थियौं। जहाज अस्वाभाविक रूपमा थर्रर हल्लियो। अवतरण हुन लागेको जहाज धावनमार्गमा यस्तरी बजारियो, मानौं कुनै पहाडमा ठोक्किएको होस्।जहाज घुँइय गर्दै घिस्रिदैं कतै बजारिएको हामीले अनुभव गर्यौं। जहाजभित्र कोलाहल मच्चियो। यात्रुहरू सिटबाट लडेका थिए। कोही सिटमै अड्किएका, कोही सिटैले थिचिएका। सिटमाथि सामान राख्ने ठाउँ खुलेर झोलाहरू छरपस्ट झरेका थिए।

जहाज कुनै कारणले आकस्मिक अवतरण गर्दा धावनमार्गबाट बाहिर खसेको हामीले बुझ्यौं। अब एउटै चुनौती यहाँबाट कसरी सकुशल निस्कने भन्ने थियो।हामी आ–आफू च्यापिएका ठाउँबाट उठ्न खोज्यौं, तर सकेनौं। त्यहीबेला सबैलाई अत्याउने गरी जहाजको पछिल्लो भागबाट धुवाँको मुस्लो उड्यो। त्यही मुस्लो पछ्याउँदै आगोको लप्का छुट्यो। आगोको लप्कासँगै जहाजलाई यात्रुको चित्कारले छोप्यो।

हाम्रो हडबडी र डर झनै बढ्यो।

अब तुरुन्तै ज्यान जोगाउने केही उपाय लगाइएन भने त्यो आगोको लप्का हामीलाई भेटिहाल्थ्यो। जसोतसो बल लगाएर सिटबाट फुत्क्यौं। त्यतिन्जेलमा हामीभन्दा अघिल्लो लहरका साथीले झ्याल फुटाउन सफल भएका थिए। उनीहरू त्यही झ्यालबाट बाहिर निस्के र हामीलाई पनि ताने। हामी धेरै गाह्रो गरी बाहिर निस्क्यौं।यसरी झ्यालबाट हामफाल्दा एक जना साथीका खुट्टा पनि भाँचिए। मेरो पनि टाउको र खुट्टामा सामान्य चोट लाग्यो। हामीले आफू निस्केपछि त्यसैगरी केही यात्रु निकाल्न खोज्यौं।तर सबैलाई समयमै उद्धार गर्न सकेनौं। उनीहरू सबैजसो केही न केहीले थिचिएका र च्यापिएका थिए। कसैका हात, कसैका खुट्टा सिटमा अड्किएका थिए। उनीहरूलाई तान्ने निकै प्रयास गर्यौं तर सकेनौं। त्यसमाथि आगो यति दन्किँदै थियो, हामी त्यहाँ टिक्नै सकेनौं। त्यसपछि भने मलाई खास याद भएन।

अहिले म नर्भिक अस्पतालमा उपचार गराइरहेको छु। सँगै आएका बाह्र जना साथीमध्ये दुई–तीन जनाको मृत्यु भयो भन्ने सुनेको छु, यकिन भएन। आफू चढेको जहाज दुर्घटनामा परेको, आधाभन्दा बढी यात्रुको मृत्यु भएको र ती सबैका बाबजुद म जिउँदै छु भन्ने तर्कनाले मन सिरिङ्ग गर्दो रहेछ।भाग्य भनेको यही होला।(लक्की ट्राभल्सका सञ्चालक शाक्यसँग सेतोपाटीका चेतना गुरागाईंले गरेको कुराकानीमा आधारित।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com