सोलुखुम्बुमा सुत्केरी महिलाको अत्यधिक रक्तश्रावका कारण मृत्यु


प्रकाशित मिति : फाल्गुन २४, २०७४ बिहीबार

 

फागुन २४, सोलुखुम्बु । जिल्ला अस्पताल सोलु फाप्लुमा एक सुत्केरी महिलालाई बचाउन डाक्टरहरूको प्रयास असफल भएको छ। बुधबार सुत्केरी व्यथा लगेर अस्पताल भर्ना भएकी थुलुङ दूधकोशी गाउँपालिका( ८ देउसाकी १८ वर्षकी अनिसा राईलाई बचाउन डाक्टरको प्रयास असफल भएको हो। सामान्य तरिकाले बच्चा जन्माएकी राईको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको जिल्ला अस्पताल फाप्लुका मेडिकल अधिकृत डाक्टर राजेन्द्रकुमार बस्नेतले जानकारी दिए। बिहीबार दिउँसो छोरा जन्माएकी राईको सालसँगै पाठेघरसमेत योनीमार्गमा आएर अत्यधिक रक्तश्राव भएको डाक्टर बस्नेतले बताए। डा। बस्नेतले भने, ‘युटेरश इन भर्जन’ भएपछि रक्तश्राव हुन्छ, जसलाई रोक्नका लागि पाठेघरलाई तत्काल यथास्थानमा लैजानुपर्छ। यसका लागि हामी तीन जना डक्टर लागिपर्‍यौँ तर सकेनौँ।’ तत्काल उपचार सम्भव नभएपछि जनल एनेसथेसिया पद्धतिबाट उपचार गर्नुपर्ने भएपछि थप उपचारको लागि मिसन अस्पताल ओखलढुंगा रेफर गरिएको हो।’ उपचारमा संलग्न डक्टर दिलिप कोजुले भने, ‘पुरै शरीर बेहोस बनाएर पाठेघरलाई यथास्थानमा राख्ने या सल्यक्रियामार्फत पाठेघर काटेर फाल्नुपर्ने हुन्छ, यो उपचार सेवा अञ्चल अस्पतालमाथि वाहेक अन्य ठाउँमा उपलब्ध हँुदैन, त्यसैले रेफर गर्नुको बिकल्प छैन।’अत्याधिक रक्तस्राव हुन थाल्यो ओपोजेटिभ रगत आवश्यक पर्नेभएपछि अस्पतालकी स्वास्थ्य सहायक आङलह्मु लामाले रगत समेत दिएकि थिइन्। डा। राजेन्द्रकुमार बस्नेतले भने, ‘मिसन अस्पताल ओखलढुंगामा सम्पर्क गरी थप उपचारको लागि डा। दिलिप कोजु र एक स्टाफ नर्ससहित तत्काल जीप खोजेर त्यसतर्फ लगेका हौ तर बाटैमा सुत्केरीको मृत्यु भएछ।’ यस प्रकृतिको समस्या दुई हजार जना सुत्केरीमध्ये एक जनामा देखिने डाक्टरको भनाई छ। यो समस्या तत्काल देखिने र थप उपचारको व्यवस्था नहुँदा सुत्केरीलाई बचाउन नसकिने उपचारमा संलग्न डक्टर कोजुको भनाई छ। जिल्ला अस्पताल फाप्लुबाट रेफर गरिएको मध्ये बिरामीसहित डाक्टर समेत गएको जिल्लाको यो पहिलो रेकर्ड बनेको छ। सुत्केरी बचाउनको लागि रगतसहित गए पनि करिब २० किलोमिटरको दूरीमा पर्ने तिङ्लाको रमितेमा मृत्यु भएपछि डक्टरहरू निराश बनेका छन्। यता आफन्तले जिल्लामा स्रोत र साधन नहुँदाको उपज आफूहरूले भोग्नु परेको प्रतिक्रिया दिएका छन्। बाटोमै मृत्यु भएको शंका लागेपछि सुत्केरीलाई पुन जिल्ला अस्पताल फप्लु नै फर्काएर इसिजी गरिएको थियो। सुत्केरीको जेठाजु नाता पर्ने थामकुमार राईले भने, ‘जिल्लामा स्रोत साधनयुक्त अस्पताल नहुँदा सुत्केरीको अकालमै जान गयो, यसतिर राज्यले ध्यान दिन जरुरी छ।’ विकट जिल्लाका जिल्ला अस्पतालमा स्त्री रोग विशषज्ञ डाक्टरको दरवदी र अप्रेसन थ्रेएटरसहितको सेवा उपलब्ध छैन। सुत्केरी अवस्थामा देखा पर्ने सम्पूर्ण समस्याको पहिचान गरी उपचार सेवा उपलब्ध गराउने व्यवस्था भएमा अकालमै सुत्केरी आमाले ज्यान गुमाउनु नपर्ने मृतकका आफन्त भिमचन्द्र राईले बताए। राईले भने, ‘स्रोत साधनयुक्त अस्पताल नहुँदा घरमा प्रसूती गराउन र अस्पतालमा गराउँदाको कुनै फरकपन महसुस भएन। यसप्रति जिम्मेवार निकाय सचेत हुन जरुरी छ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com