चर्चित ब्लगर लेक्स लिम्बुले गरे समलिंगी भएको खुलासा (मार्मिक भिडियो)


प्रकाशित मिति : फाल्गुन १२, २०७४ शनिबार

लण्डन निवासी २५ बर्षिय नेपाली मुलका चर्चित ब्लगर लेक्स लिम्बुले आफू समलिंगी भएको खुलासा गरेका छन् । आफ्नो जीवन, परिवार र पहिचानका बारेमा मार्मिक भिडियो सार्वजनिक गर्दै उनले आफू समलिंगी भएको खुलासा गरेका हुन् ।

बुबाआमालाई आफू समलिंगी भएको बताउँदा भएको कठिनायी र आगामी दिनमा गर्नुपर्ने संघर्षबारे उनले भिडियोमा आफ्ना मनका कुराहरु बोलेका छन् । जीवनको २५ बर्षसम्म आफू समलिंगी भएको कुरा मनभित्र गुम्साएर राख्दाको पीडा, बुबाआमालाई बताइसकेपछि उत्पन्न अवस्था लगायतका विषयमा पनि उनले भिडियोमा बताएका छन् ।

उनी भन्छन् – ‘समलिंगी हुनु मेरो आफ्नो छनौट थिएन । शायद कसैको पनि छनौट हुँदैन होला । यदि छनौट हुन्थ्यो भने बुबाआमालाई र आफ्रलाई गाह्रो हुने कुरा मैले किन निम्त्याउथें र ? तर मसँग अरु बाटो पनि छैन ।’

‘मैले यो कुरा बुबाआमालाई बताउँदा उहाँहरु रुनुभयो । उहाँहरुको छोराले बुहारी ल्याउने सपना र सन्तान अगाडि बढाउने सपना भत्किदै गयो । त्यो बाहेक यो कुरा यति धेरै बर्षसम्म आफैभित्र राख्दा छोरालाई कति गाह्रो भयो होला भनेर पनि उहाँहरु रुनुभयो ।’ –  लेक्स भन्छन् ।

यो आफ्नोमात्र कथा नभएको र आफूले यो कथा भन्दा अरुहरुको जीवन यात्रालाई पनि सजिलो हुने लेक्सले अपेक्षा गरेका छन् । उनी भन्छन् – ‘धेरै बुबाआमाले आफ्ना छोराछोरी समलिंगी भएकोमा दुख मान्नुहुन्छ होला । मलाई दुख लागेको छैन । म बलियो छु ।’

भिडियोमा लेक्सकी आमाको प्रेरणादायक अभिव्यक्ति पनि सुन्न सकिन्छ । साथै बीचबीचमा आमा छोरा अंकमाल गरेर रोएको देख्न सकिन्छ । उहाँले छोरालाई भन्नुहुन्छ – ‘त्यो कुरा सुनाउनुपनि सजिलो थिएन र हामीलाई सुन्नुपनि धेरै सजिलो थिएन । अहिलेको समय यस्तो हो कि हामीले धेरै कुरा बुझेर अगाडि बढ्नुपर्छ । म एउटा आमा भएर तिमीलाई छोराका रुपमा पाउदा म खुशी छु । हामी बुबाआमा दुबै खुशी नै छौं । हामीले अप्ठ्यारो बाटो अपनाउदा तिमीलाई पनि अप्ठोयारो हुन्छ । तिमी धैर्य र संघर्षका साथ अगाडि बढ्न् । तिमीले सोचेको पुग्नेछ ।’

लेक्सकी आमा अगाडि भन्नुहुन्छ- ‘यो कुरा तिमीजस्तो छोराले बाबुआमालाई भन्न सकेको हुँदैन । हाम्रो समाज खुल्ला हुन सकेको छैन । त्यसैले पनि कठिन छ । समाज लुकेको अवस्थामा छ । तर हामी त्यसरी लुक्नुहुदैन । तिमीलाई हामीले जहिले पनि साथ दिनेछौं । यो कुराबाट अरु छोराछोरीहरुलाई हौसला र आँट बढ्नेछ ।’

लेक्सले आफू समलिंगी भएको कुरा बुबाआमालाई बताउने बेला यदि घरमा असहज अवस्था आएमा घर छाडेर जाने सम्मको योजना बनाएका रहेछन् । उनी भन्छन् – ‘आवश्यक परेमा घरै छाडेर समेत जाने योजना बनाएको थिएँ । तर हाम्रो राम्रोसँग छलफल भयो । मैले बुबाआमाबाट सर्पोट पाएँ ।’

लेक्स भन्छन् – ‘हामी कोही भिन्न छैनौं । भिन्नता मान्छेले बनाएको हो । मान्छेको सोंचमा मात्र भिन्नता हो हो । अरुको आवाजले आफूलाई कहिले पनि नरोकौं । समाजको अगाडि लज्जाबाट शक्ति बनाउनका लागि मेरो कथा सबैका लागि उत्पे्रेरणा हुने अपेक्षा गर्दछु ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com