बेलायतमा गलत औषधिले बर्सेनि २२ हजारको मृत्यु


प्रकाशित मिति : फाल्गुन ११, २०७४ शुक्रबार

फागुन ११, एजेन्सी– बेलायतमा हरेक वर्ष गलत औषधिका कारण २२ हजारभन्दा बढी बिरामीको मृत्यु हुने गरेको छ । हालै सार्वजनिक एक तथ्यांकअनुसार बेलायतमा बर्सेनि २३ करोड ७० लाखभन्दा बढी यस्ता गल्ती हुने गरेकोमा २२ हजार बिरामीको मृत्यु हुने गरेको पाइएको छ । यो बेलायतको नेशनल हेल्थ सर्भिसको लागतअनुसार १ अर्ब ६० करोड पाउन्ड बराबरको हुन्छ ।
गलत औषधिका बारेमा भएको यो पहिलो अनुसन्धान हो । गलत औषधि, उच्च तथा कम डोज तथा खतरनाक रियाक्सन गर्ने औषधिका कारण बिरामीको मृत्यु हुने गरेको जनाइएको छ । बेलायतका स्वास्थ्य तथा सामाजिक सेवा मन्त्री जेरेमी हन्टले रोकथाम गर्न सकिने यस्ता गल्तीहरु खतराको तहमा पुगेको बताएका छन् ।
विश्व स्वास्थ्य संगठनले यसअघि नै औषधिमा गरिने गल्ती विश्वभरकै स्वास्थ्य प्रणालीको हटाउन सकिने खतरा भएको जनाएको थियो ।
पछिल्लो तथ्यांक योर्क म्यान्चेस्टर र सेफिल्ड विश्वविद्यालयले एनएचएस र निजी स्वास्थ्य प्रणालीमा गरेको संयुक्त अनुसन्धानबाट पत्ता लागेको हो । अध्ययनका क्रममा हरेक वर्ष अस्पतालमा १ हजार ७ सय मानिसको मृत्यु औषधिमा हुने त्रुटीका कारण हुने गरेको पाइएको थियो । शल्यक्रियामा क्रममा हुने गल्ती र घरैमा हुने उपचार सेवासमेतलाई जोड्दा बर्सेनि २२ हजार ३ सय जनाको मृत्यु हुने गरेको आँकडा अनुसन्धानकर्ताहरुले निकालेका छन् ।
स्वास्थ्य मन्त्री हन्टका अनुसार एनएचएसको प्रणाली र पूरै विश्वमा हुने औषधिको गल्तीको समस्या सोचिएभन्दा निकै बढी छ, जुन रोक्न सकिन्थ्यो ।
अनुसन्धानकर्ताहरुले सन् २००७ र २०१७ को बीचमा औषधिमा हुने गल्तीबारे ३६ वटा अध्ययन गरेका थिए । जसमा २३ करोड ७४ लाख गल्तीहरु भएको पाइएका थिए । जसमा ६ करोड ६० लाख बिरामीमा सामान्य समस्या देखिनेदेखि मृत्युसम्म भएको पाइएको थियो । शल्यक्रियाका क्रममा भएका गल्ती र औषधि पसलेको गल्ती ७१ प्रतिशत भएको पाइएको थियो । स्वास्थ्य मन्त्री हन्टले फार्मासिस्टले गल्ती गरे पनि उनीहरुलाई बचाउनेसम्बन्धी कानुनमा परिवर्तन गरिने जनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com