अमेरिकामा बेरोजगार भई सरकारी सुविधा लिनसक्ने भन्दै नेपालीहरुलाई भिसा रिजेक्ट


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

अमेरिकी सरकारले अमेरिकामा आएर सरकारी सुविधा लिनसक्ने सम्भावना भएकाहरुलाई भिसा जारी नगर्न निर्देशन दिएपछि त्यसको मारमा नेपालीहरु पनि परेका छन् । गत जनवरीमा अमेरिकी सरकारले माताहतका दूतावासहरु र भिसा जारी गर्ने पोष्टहरुलाई अमेरिकामा आएर काम नगरी सरकारी सुविधा लिनसक्ने अर्थात् पब्लिक चार्जबारे नयाँ निर्देशन दिएको हो ।

नयाँ निर्देशनपछि काठमाडौंमा रहेको अमेरिकी दूतावासले कैयन डिभी लोटरीविजेतादेखि परिवारमा आधारित ग्रिनकार्ड फाइल गर्नेहरुको आवेदनमा कडाईका साथ परिक्षण गर्दै भिसा दिनमा अस्वीकार गरेको छ ।

एकजना डिभी भिसा आवेदकलाई अमेरिकामा वेरोजगार भएर सरकारी सुविधा खानसक्ने सम्भावना रहेको भन्दै काठमाडौंमा रहेको दूतावासले दिएको भिसा अस्वीकृति पत्र ।

अमेरिकामा आएर काम नगरी फुडस्ट्याम्प लगायतका सरकारी सुविधाहरु लिनसक्ने सम्भावना भएकाहरुलाई आप्रवासी भिसा समेत रिजेक्ट गर्न सकिने प्रावधान पहिलेदेखि नै रहेपनि जनवरीमा त्यसलाई पुन व्यवस्थीत र अपडेटका साथ नयाँ निर्देशन जारी गरिएको थियो । त्यसपछि काठमाडौंमा रहेको अमेरिकी दूतावासले कैयन नेपालीलाई उल्लेख्य संख्यामा अमेरिका गएर काम नगरी सरकारी सुविधा लिनसक्ने सम्भावना रहेको भन्दै आप्रवासी भिसा समेत अस्वीकार गरेको छ ।

आवेदकको उमेर, स्वास्थ्य, पारिवारिक अवस्था, आर्थिक अवस्था, शैक्षिक योग्यता लगायतका विषय हेरेर आवेदकले अमेरिकामा वेरोजगारले पाउने सुविधा लिने सम्भावना रहे नरहेको निर्धारण गर्न भिसा अधिकारीहरुलाई नयाँ निर्देशिका जारी गरिएको हो । नयाँ निर्देशिकामा भिसा अधिकारीहरुलाई सजिलोका लागि उदाहरणहरु समेत दिइएको छ ।

 

पब्लिक चार्जबारे सरकारका तर्फबाट जारी निर्देशिका ।

सहयोगको करारनामालेमात्र सरकारी सुविधा खानसक्ने सम्भावनालाई हटाउन नसक्ने समेत स्पष्ट पारिएको छ । तर भिसा अधिकारीले त्यस्तो सहयोगको करारनामालाई आवश्यक कागजातका रुपमा स्वीकार गर्न सक्ने तर त्यही कागजातका आधारमा मात्र भिसा जारी गर्न नहुने निर्देशिकामा उल्लेख छ ।

यदि आवेदकको स्वास्थ्य कमजोर छ, काम गर्न सक्षम छैन, भविश्यमा उसको स्वास्थ्यको लागि उपचार खर्च लाग्नसक्ने सम्भावना छ भने त्यस्तो व्यक्तिले अमेरिकी सरकारको सुविधा लिनसक्ने सम्भावना रहेको भन्दै भिसा अस्वीकार गर्न सक्ने प्रावधान निर्देशिकामा उल्लेख छ ।

 

पब्लिक चार्जबारे अमेरिकी सरकारको अपडेटेड नीति पढ्न यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com