गाउँपालिका अध्यक्ष कृषि पेसामा रमाउदै,मासिक डेढ लाख आम्दानी


प्रकाशित मिति : फाल्गुन ५, २०७४ शनिबार

प्रेमनारायण आचार्य। पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले कृषि पेसाबाट मनग्गे आम्दानी गर्न सफल भएका छन्। बिहान, बेलुका र विदाको समय उनले तरकारी खेती र कुखुरापालनमा लगाउने गरेका छन्। सामाजिक काम गरेर बचेको समयमा गरेको कृषि खेतीले उनलाई आर्थिक रूपमा सबल बनाएको छ।

कुखुरापालन र तरकारी खेतीबाट सबै खर्च कटाएर वार्षिक १७ देखि २२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको उनको भनाइ छ। उनी जिल्लाको पूर्वी क्षेत्रकै राम्रो नेता र समाजसेबीका रूपमासमेत आफ्नो ख्याति कमाएका छन्। उनी नेपाली कांग्रेसको क्षेत्रीय सभापति पनि हुन्।

उनको बारीमा काउली, आलु, बन्दा, साग टमाटरलगायत तरकारी उत्पादन गर्ने गर्छन्। उत्पादन भएको तरकारी स्थानीय बजार र बुटबलको सब्जी मण्डीमा बिक्री हुने गरेको गौतमको भनाइ छ। बजारको पनि समस्या छैन।

वार्षिक रूपमा तरकारी खेतीबाट मात्रै पाँचदेखि आठ लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए। परि श्रम गरे यहीँ माटोमा सुन फलाउन सकिन्छ भन्ने मान्यताका साथ सुरु गरेको व्यवसायले अहिले सोचेभन्दा बढी फाइदा दिएको उनले बताए।

तरकारी खेती मात्र हैन उनले ब्रोइलर कुखुरापालनलाई पनि सँगसँगै अगाडि बढाएका छन्। उनको कुखुरा फार्ममा अहिले एक पटकमा तीन हजारदेखि चार हजार कुखुरा उत्पादन हुन्छन्। कुखुरापालनबाट वार्षिक रूपमा १२ देखि १७ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ।

मनमा साहस र शरीरमा जागर हुने हो भने पैसा कमाउन विदेश जानु नपर्ने सोचाइ रहेको हाम्रो समाजका उदाहरणीय पात्र बनेका गौतमले गरेको कृषि क्रान्ति साच्चिकै नमुना रहेको छ। अहिले पोखराथोक, पणेना, मैदान पाटौटी र खिदिम गाविसमा उनकै कृषिबाट प्रभावित भएर युवासमेत व्यावसायिक तरकारीखेती र कुखुरापालनमा लागेका छन्।

युवाको विदेश पलायन र जागिर मात्र गर्नु पर्छ भन्ने धारणालाई परिवर्तन गर्न र आपूmले गरेपछि अरु पनि कृषि पेसामा लाग्छन् भन्ने सोचका साथ तरकारी र कुखुरापालनमा लागेको उनको भनाइ छ। कृषि पेसा गरे राम्रो आम्दानी हुन्छ भनेर कुरा गर्दा कसैले इच्छा नदेखाएपछि आफैं उदाहरणीय बन्न कृषिमा लागेको उनले बताए।

पालिकाको अध्यक्ष भएपछि त काम गर्नु हुँदैन भन्ने सोचको अन्त्य गर्न उनी लागिपरेका छन्। ‘राजनीति गर्न आफू सक्षम हुनु पर्छ, आफैं व्यवसाय गरे मात्र अरुलाई सिकाउन सकिन्छ’, उनले भने। पाणिनी गाउँपालिकालाई कृषि पकेट क्षेत्र बनाउन लागि परेको उनले जानकारी दिए।

तरकारी खेती र कुखुरापालन गरी उनले पाँच जनालाई रोजगारी पनि दिएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com