अमेरिकामा अध्यागमन सुविधा खोज्नेले पावर अफ एटर्नी दिन नपाउने


प्रकाशित मिति : फाल्गुन ४, २०७४ शुक्रबार

अमेरिकामा कुनै पनि प्रकारको अध्यागमन सुविधा खोज्ने आवेदकले अब पावर अफ एटर्नी दिन नपाउने युएससीआईएसले घोषणा गरेको छ । आगामी मार्च १८ देखि लागु हुनेगरी युएससीआईएसले नयाँ नियमको घोषणा गरेको हो ।

अबदेखि अध्यागमन सुविधा चाहने आवेदकले हरेक फर्ममा आफ्नै वास्तविक हस्ताक्षर गर्नुपर्ने भएको छ । मुलुकको अध्यागमन प्रणालीको संरक्षणका लागि पावर अफ एटर्नी हस्ताक्षर स्वीकार नगरिने युएससीआईएसले स्पष्ट पारेको छ ।

यदि कुनै फर्म कर्पोरेशन वा अन्य कानुनी संस्थाका तर्फबाट फाइल गरिएकोमा भएमा पनि आवेदनमा उक्त संस्थाको आधिकारिक व्यक्तिले नै हस्ताक्षर गर्नुपर्नेछ । पावर अफ एटर्नी हस्ताक्षर स्वीकारिने छैन । युएससीआईएसले पावर अफ एटर्नी हस्ताक्षर भए पुग्ने पुरानो नीति उल्टाएर नयाँ नीति घोषणा गरेको हो ।

१४ बर्ष भन्दा कम उमेरका र अपांगता भएकाहरुले भने पावर अफ एटर्नी दिन पाउनेछन् । युएससीआईएसले विद्युतीय हस्ताक्षरका सन्दर्भमा पनि नयाँ नीति ल्याउने तयारी गरिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com