दुईदलीय अध्यागमन सम्झौता ट्रम्पबाट अस्वीकार, भिटो प्रयोग गर्ने चेतावनी


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

डिभी लोटरी अन्त्यको विषय नसमेटिएपछि डेमोक्र्याट्स र रिपब्लिकन सिनेटरको एउटा समुहले गरेको अध्यागमन सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेका छन् । दुईदलीय अध्यागमन सम्झौतामा झण्डै २ मिलियन कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने र सिमा सुरक्षाका लागि २५ बिलियन डलर खर्च गर्ने विषय समेटिएको छ ।

तर सम्झौतामा डिभी लोटरी अन्त्यको विषय नसमेटिएपछि ट्रम्पले दुईदलीय अध्यागमन सम्झौतामा भिटो प्रयोग गर्ने ह्वाइट हाउसले चेतावनी दिएको छ । ह्वाइट हाउसले बिहिबार वक्तब्य निकालेर राष्ट्रपतिले दुईदलीय अध्यागमन सम्झौतामा भिटो प्रयोग गर्ने जनाएको हो ।

दुईदलीय अध्यागमन सम्झौतामा सिमानामा पर्खाल निर्माण र सुरक्षाका लागि २५ बिलियन खर्च गर्ने भएपनि ट्रम्पले चाहेजस्तो छिटो नभई १० बर्षभित्र गर्ने विषय उल्लेख छ । साथै परिवारमा आधारित ग्रिनकार्डमा केही सिमाबन्दी तोकेपनि ट्रम्पले चाहेजस्तो चेन माइग्रेशनको पूर्णतया अन्त्यको विषय समेटिएको छैन ।

ट्रम्पले बिहिबार विहान ट्वीट गर्दै रिपब्लिकन र डेमोक्र्याट्सहरुलाई मेरिटमा आधारित ग्रिनकार्ड प्रणालीमा जान भनेका छन् । जुन विषय दुईदलीय सम्झौतामा समावेश छैन ।

ट्रम्पले भिटो प्रयोग गरेमा अध्यागमन विधयेक पारित गर्न असहज अवस्था आउनेछ । सदनबाट बिल पारित भइसकेपछि राष्ट्रपतिसमक्ष हस्ताक्षरका लागि १० दिनको समय हुनेछ । यो अवधिमा राष्ट्रपतिले भिटो प्रयोग गरेर विधयेक सदनमा फिर्ता पठाउन सक्नेछन् । त्यसपछि सदनमा दुईतिहाई बहुमतलेमात्र विधयेक पारित भएमा राष्ट्रपतिको सहमति विना पनि त्यसले कानुनको रुप लिनेछ । तर संसद स्थगित भएमा भने विधयेक कानुन बन्न पाउनेछैन ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com