जर्सी सिटीले पारित गर्यो नेपालीका लागि टीपीएस प्रस्ताव (भिडियो )


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

न्युजर्सीको जर्सी सिटीले नेपालीका लागि टीपीएस प्रस्ताव पारित गरेको छ । जर्सी सिटी काउन्सिलको आजको बैठकले नेपालीका लागि टीपीएस प्रस्ताव पारित गरेको हो । जसमा अमेरिकामा रहेका नेपालीका लागि प्रदान गरिएको टीपीएसको अवधि थप्न अमेरिकी सरकारका डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई औपचारिक रुपमा आग्रह गर्ने उल्लेख छ ।

बैठकमा काउन्सिल प्रेसिडेन्ड रोलाण्डो लाभारो लगायत काउन्सिल सदस्यहरुको उपस्थीति रहेको थियो । जर्सी सिटी हलमा गरिएको बैठकमा नेपालीका लागि टीपीएस प्रस्ताव पारित गर्दा न्युयोर्क र न्युजर्सीका केही नेपालीहरुको पनि उपस्थीति रहेको थियो ।

न्युजर्सी नेपाली समाज र जर्सी सिटी मेयरका सल्लाहकार डाक्टर बिष्णुमाया परियारको विशेष पहलमा नेपालीका टीपीएस प्रस्ताव पारित गरिएको हो । नेपालीका लागि टीपीएस नविकरणका लागि आफूहरुले न्युजर्सीमा रहेका सांसदहरु ल्गायत राजनीतिक नेताहरुसँग पनि पहल गर्ने डाक्टर परियारले बताउनुभयो । उहाँले टीपीएस प्रस्ताव पारित गरेकोमा जर्सी सिटी काउन्सिललाई पनि धन्यवाद दिनुभयो ।

सन् २०१५ को मे २७ मा पनि जर्सी सिटीले नेपालीका लागि टीपीएस प्रस्ताव पारित गरेको थियो । त्यतीबेला नेपालीलाई टीपीएस प्रदान गर्नका लागि प्रस्ताव पारित गरिएको थियो । यस्तो प्रस्ताव पारित गर्ने अमेरिकी सिटीमा जर्सी सिटी पहिलो र एकमात्र रहेको थियो ।

नेपालमा गएको महाभूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीहरुलाई टीपीएस प्रदान गरेको थियो । कागजपत्रविहिनले समेत देशनिकालाको डरविना वैधानिक रुपमा नै अमेरिकामा रहेर काम गर्ने सुविधा प्रदान गरेको टीपीएसबाट १४ हजार ७ सय ९१ नेपालीहरुले लाभ लिइरहेका छन् । यदि टीपीएस नविकरण नभएमा ती मध्येका कैयन नेपालीहरुले अमेरिकाबाट देशनिकालाको सामना गर्नुपर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com