नक्कली टिकट र भिसा देखाएर ४५ लाख ठगी गरेर फरार


प्रकाशित मिति : माघ २९, २०७४ सोमबार

नारायण खड्का

तुलसीपुरका एकजना व्यक्तिले नक्कली टिकट र भिसा देखाएर आफ्नै गाउँलेसहित सातजनालाई ठगी गरेर फरार भएका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ भेलाही निवासी २७ वर्षीय विशाल बस्नेतले डेनमार्क लैजान्छु भन्दै ६ जना र एकजना रोल्पालीलाई ४ देखि साढे ७ लाख रुपैयाँसम्म रकम असुलेर ४५ लाख रुपैयाँ ठगी गरि फरार भएको उजुरी परेको दाङ प्रहरीले जानकारी दिएको छ।

वैदेशिक रोजगार विभागमा पनि बस्नेतले ठगी गरेको उजुरी परिसकेको छ। ‘हामीले गाउँले दाजुभाई हो भनेर विश्वास गर्‍यौं,’– डोजराज बुढाथोकीले भने, ‘उसले हामीलाई टिकट र भिसा पनि देखाएको थियो, तर ति सबै नक्कली रहेछन्।’

नक्कली टिकट र नक्कली भिसा देखाएर विशालले हामीलाई फसाउँला भन्ने आफूहरूले कल्पनै नगरेको बुढाथोकीले बताए। ‘ऊ हाम्रो गाउँकै थियो। हुनेखानेको छोरा हो। कारमा हिड्थ्यो र हामी किसानका छोरालाई प्रलोभनमा पारेर घर न घाटको बनायो,’ बुढाथोकीले सेतोपाटीलाई भने।

श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीसँग आफ्नो राम्रो सम्वन्ध रहेको तथा आफ्ना बाबु (मध्य पहाडी लोकमार्गका सुब्बा) ओमप्रकाश बस्नेत राज्य मन्त्रीका स्वकीय सचिव भएको भनेर आफूहरूलाई बस्नेतले झुक्काएको बुढाथोकीले बताए। ‘श्रम राज्यमन्त्रीको नामले हामीलाई उसले झुक्कायो,’– बुढाथोकीले थपे ‘पछि हामीले बुझ्दै जाँदा विशाल त नेताले नामै नसुनेको र नचिनेको मानिस रहेछ।’

तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ भेलाही निवासी २७ वर्षीय विशाल बस्नेतले डेनमार्क लैजान्छु भन्ने आश्वासन बाँडेर आफ्नै गाउँलेहरू २० वर्षीय सुमन वलीबाट साढे ७ लाख, २३ वर्षीय घनश्याम विष्टबाट साढे ७ लाख, ३२ वर्षीय डोजराज बुढाथोकीबाट ७ लाख, २० वर्षीय अर्जुन बुढाथोकीबाट ४ लाख, २३ वर्षीय अर्जुन विकबाट ७ लाख, सूर्य बिसीबाट साढे ७ लाख र रोल्पा निवासी नविन शाहीबाट ४ लाख रकम बुझेर दुई महिना अघिदेखि फरार रहेको भन्ने जाहेरी परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

पीडित सबै जनाले वैदेशिक रोजगार विभागमा पनि उक्त जाहेरी दिएका छन्। ‘मंसिर २६ गते नै डेनमार्क उडाउँछु भनेर हामीलाई दाङदेखि काठमाडौं  बोलाइयो। तर, काठमाडौं  पुगेपछि फिङ्गर (थम्बिङ) समस्या भयो भन्दै पुस ५ गते उडाउँछु भन्यो,’– पीडित बुढाथोकीले भने ‘त्यसपछि फेरि ७ गते पक्का उडाउँछु भन्यो र त्यहीँ दिन साढे ११ बजेपछि मोबाईल अफ गरेर बेपत्ता भयो।’

पुस ७ गते नउडाएमा सबै रकम फिर्ता दिन्छु भन्दै कागज गर्नका लागि आफूहरूलाई सिंहदरबारभित्र समेत लगेको भएपनि कागज लेख्ने दाई बाहिर गएको भन्दै झुक्काएको उनले बताए । ‘सधैँ दाइसँग भेटाउँछु भन्थ्यो, कागज गर्छु भन्थ्यो, तर कहिलै दाइको नाम भनेन र भेटाउन पनि भेट पनि गराएन,’ अर्का पीडित सुमन वलीले भने। त्यसबीचमा हाल ठगेर फरार रहेका विशाल बस्नेतले डेनमार्कमा अत्यधिक चिसो हुन्छ भन्दै न्यानो र महंगा कपडा किन्न लगाएको वलीले बताए।

‘६० हजारसम्मको सपिङ गर्न लगायो र डेनमार्कमा डलर चाहिन्छ भनेर थप ८२ हजार ६ जनाबाट लग्यो,’ वलीले भने। पुस ७ गते साढे ११ बजेसम्म लास्ट फोन गर्दासम्म आफूहरूलाई विशाल बस्नेतले काठमाडौंस्थित कान्तिपुर मलमा आउन आग्रह गरेको भएपनि त्यहाँ पुग्दा ऊ फेला नपरेको र मोबाईल अफ गरेर बेपत्ता भएको अर्का पीडित सूर्य विकले बताए।

‘७ गते साँझ ८ बजेको टिकट देखाएको थियो र हामीलाई ५ बजेभित्रै एयरपोर्ट जानुपर्छ भनेको थियो, तर त्यो सबै झूट साबित भयो। आफ्नै गाउँलेले यसरी झुक्याउँला भन्ने कहिलै कल्पना गरिएन,’ विकले भने। सुरूमा चार/चार लाख रुपैयाँ दिँदा सबै ६ जनाले तमसुक बनाएर रकम विशाल बस्नेतलाई दिएका उनीहरूले बस्नेतले टिकट र भिसा देखाएपछि सबैले ३ देखि साढे ३ लाख रुपैयाँ बुझाएको बताए।

उनीहरूले तमसुक गरेको कागज र विशाल बस्नेतको बैंक खातामा रकम जम्मा गरिदिएको कागज पनि सेतापोटीलाई उपलब्ध गराएका छन्। ‘महिनामा एक लाखदेखि दुई लाखसम्म कमाइ हुन्छ भन्ने प्रलोभनमा पार्यो, त्यसैले हामीले सयकडा तीनदेखि चारप्रतिशतमा भएपनि पैसा खोजेर ल्यायौं,’– चारलाख बुझाएका २० वर्षे अर्जुन बुढाथोकीले भने, ‘गाउँले नै हो भनेर विश्वास गर्यौं, तर आज चेत खुल्यो ऋण के गरि तिर्ने ? घरखेत सबै जाने भयो।’

मध्यपहाडी लोकमार्गका सुब्बा अर्थात विशालका बाबु ओमप्रकाश बस्नेतलाई छोराको बारेमा सोधीखोजी गर्न जाँदा आफूलाई कुनै मतलब र सरोकार नरहेको हुँदा जे गर्नु छ उसैलाई गर भन्ने जवाफ दिने गरेको बुढाथोकीले बताए। ‘गाउँकै हामी जस्ता सोझा साझालाई झुक्याउनेहरूलाई किरा परोस्,’ अर्का पीडित घनश्याम विष्टले भने।

यसैबीच पीडित ६ जनाले जिल्ला प्रहरी कार्यालयमा पुस १६ गते आफूहरूलाई विशाल बस्नेतले ठगी गरेर फरार रहेको दिउँसो तीन बजे दिएका थिए। ठिक त्यहीँ दिन नै विशाल बस्नेतकी पत्नी विन्दु बस्नेतले पनि आफ्ना पति बस्नेत हराएको व्यहोरासहित प्रहरीमा निवेदन दिएको प्रहरीले जानकारी दिएको छ।

Source : Setopati

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com