न्युयोर्कको नेपाली मन्दिरमा शिवरात्री मनाइदै


प्रकाशित मिति : माघ २८, २०७४ आईतबार

व्रतोत्सवहरुमध्य सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन न्युयोर्कको रिजउडमा रहेको नेपाली दुर्गामन्दिरमा शिवरात्री पूजा आरधाना गरिने पूजारी हरि नारायण सापकोटाले जानकारी दिनुभएको छ । शिवरात्रीको अवसरमा दुर्गामन्दिरमा धार्मिक अनुष्ठान सहित भव्यरूपमा मनाउने कार्यक्रम रहेको भन्दै आराध्यदेव भगवान शिवजीको पूजा आरती ,भजन कीर्तनमा सहभागी हुन र अभिषेक लिई पुण्य प्राप्त गर्नुहुन अनुरोध गरिएको छ ।

फरबरी १३ मा विहान साढे ७ देखि ९ वजेसम्म पूजा आरधाना हुनेछ भने विहान ९ वजे शिव आरती गरिनेछ । त्यस्तै विहान साढे ९ देखि दिउसो साढे १ बजेसम्म सम्म रूद्री हुनेछ । दिउसो २ वजे बाट दिनभर पंचामृत प्रसाद वितरण कार्यक्रम रहेको छ भने साँझ ७ देखि साढे ८ सम्म पुनःपूजा आरती अभिषेक हुनेछ । त्यस्तै वेलुका साढे ८ देखि साढे १० बजेसम्म भजनकिर्तन गरिने भएको छ ।

महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा(अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् ।

निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । यस पर्वका दिन उपवास गरी “ ऊँ नमः शिवाय“ मंत्र जप्ने गरेमा सर्व्सिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com