‘देउताको डर’ ले कहाली लाग्दो दिन काट्छन् हुम्लाका महिला,स्वास्थ्यकर्मी नै गोठमा बास


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

नरजन तामाङ । हिउँदको माईनस् १० डिग्रीको जाडो, खुल्ला ढोका, चिसो हावाहुरी, भत्किन लागेको साँघुरो गोठमा ४ देखि ६ दिन सम्मको बसाई, हुम्लाका महिलाले महिनावारी भएको बेला जिउनु पर्ने एक कहाली लाग्दो वास्तविकता हो ।

जब महिनावारीको समय आउँछ, उनीहरुलाई मनोडर त्यही र कहाली लाग्दो गोठको वातावरणले सताउँछ । सुत्केरी हुने बेलामा प्रशस्त पोषणयुक्त खाना, न्यानोघर र कपडा एक सपनामा मात्र सीमित भएको छ हुम्लाको महिलाहरुका लागि ।

सुरुको वर्षमा छाउ अर्थात महिनावारी हुँदा किशोरीले लाजले घरका परिवारलाई भन्न हिचकिचाउने गरेका छन् । सिधै गोठमा बास बसेमा सबैले थाहा पाउने, नबसौँ घरमा देउता लाग्ने डर उनीहरुले पाल्दै आएको भ्रम र यथार्थता हो ।

हुम्लाका अधिकांश गाउँमा महिलाले महिनावारी, सुत्केरी हुँदा बस्नको लागि घर भन्दा छुट्टै ओढार वा छाउ गोठमा बस्नु पर्ने अवस्था अझै रहेको छ । यो एक प्रथाको रुपमा विकसित हुँदै आएको छ ।
खार्पुनाथ गाउँपालिका वडा नं. १ प्युस गाँउकी जसु सार्की चिसोले थुरथुर छाउगोठमा काँपिरहेकी थिईन् । ओढ्ने कपडा प्रयाप्त नहुँदा उनलाई महिनावारी हुने बेला किन आउँछ र आफू महिला भएकोमा हिनताबोध गर्ने गर्दछिन् ।

चिसो खप्न नसक्दा घर जाउँ भने देउता लाग्ने डर नजाउँ मरिने अवस्था कसरी ६ दिन बिताउने चिन्ता जसुलाई रहेको छ । कहिलेकाही त एक्लै सुत्नु पर्ने हुनाले वन्यजन्तु र अरु समाजमा भएका विकृत मनस्थिती भएकासँग जसु डराउँछन् । कहिलेकाहीँ सुत्नको लागि साथीलाई हारगुहार गर्ने गरेको बताईन् ।

महिनावारीको कारणले पढाईमा किशोरी कमजोर हुने
मालिका मा.वि., प्युसमा कक्षा १० मा अध्ययनरत शर्मिला शाहीको पनि पीडा झन् बढी रहेको छ । छाउँगोठबाट उनी ट्युसन पढ्नको लागि बिहानै ७ बजे उठेर विद्यालय पुिग्छन् । कुनै महिना विद्यालयमा नै महिनावारी हुँदा विद्यालयमा सबैले जिस्काउने समेत गरेको उनको अनुभव छ । साथीले जिस्काउँदा महिनावारी भएको बेला विद्यालयमा हप्तौँ पढाई छुट्ने गरेको र आफू पढाईमा कमजोर हुने गरेको बताईन् ।

महिनावारी भएको बेला झन् पोसिलो खानेकुराको आवश्यक हुने गरेको भएता पनि छाउगोठमा चिसो खाना खानको लागि उनीहरु बाध्य छन् । शौच गर्ने ठाउँ नहुँदा कति महिलालाई यौनजन्य रोग लाग्ने गरेको समेत उनको अनुभव छ । सबैले प्रयोग गर्ने शौचालय नहुँदा जंगलमा शौच गर्नु पर्ने अवस्था रहेको समेत शाहीको गुनासो रहेको छ ।

घर घरमा शौचालय त छ तर त्यो पनि देउता लाग्ने डरले छाउ भएको बेला प्रयोग गर्न दिर्इँदैन, घर त बस्न पार्इँदैन शौचालय पनि प्रयोग गर्नमा संकोच रहेको छ । एउटै सानो गोठमा अप्ठ्यारो गरेर १५ देखि २० जना कोचिएर सुत्नु पर्ने कहाली लाग्दो अवस्था रहेको छ । अहिले त गोठ बनाईयो, केही वर्ष पहिला आमा दिदीहरुले एक घण्टा टाढा गएर ओढारमा बस्ने गरेको कक्षा ८ मा अध्ययन गर्ने सरला शाहीले बताइन् । महिनावारी भएको बेला बालबालिका पनि आमासँगै चिसोमा सुत्नु पर्ने भएकाले उनीहरुलाई निमोनिया हुने गरेको समेत बताए ।

गाउँमा निमोनिया भएर वर्षमा २ देखि ७ जना सम्म अकालमा ज्यान गुमाउने परेको अनुभव उनीहरुसँग छ । चिसोले महिलालाई निमोनिया हुने, जिउ सुनिने लगायतको समस्या हुम्लाका अधिकांश महिलालाई हुने गरेको छ । घरको जग सम्म पनि छुन नपाईने, छोएमा देउता लागि कुष्ठरोग लाग्ने त्यहाँको अन्धविश्वास रहेको छ ।

स्वास्थ्यकर्मी नै गोठमा बास
महिनावारी हुँदा घरमा बस्न नपाउने भएकोले गाउँमा कोही बिरामी हुँदा उपचार गर्न घरमा जान समेत नदिने गरेको अनुभव राहदेव सामुदायिक ईकाईका अनमी आईतु कटेलको रहेको छ । गाउँमा बिरामी हुन्छन,् उपचार गर्नको लागि घरमा नै जानु पर्छ तर उनीहरु उपचार नपाई छटपटाईरहेका हुन्छन् तर घर पस्नको लागि दिर्इँदैन, आईतुले बताईन् । देउता लाग्ने डरले आईतु पनि महिनावारी भएको समयमा छाउगोठमा नै बस्ने गरेको बताईन् । महिनावारी भएको बेला किशोरीहरु बलत्कारको जोखिममा पनि रहनु पर्ने अवस्था रहेको खार्पुनाथ १ का सर्मिला शाहीको भनाइ रहेको छ । कहिलेकाही एक्लै भएको बेला गाउँका पुरुषको अभद्र व्यवहार खेप्नु परेको उनको अनुभव छ ।

सदरमुकामका महिला नै बस्छन् गोठमा
सिमिकोट र गाउँमा जनचेतनाको लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायले तालिम, सभा, गोष्ठी गर्ने गरेको भएता पनि यसको सकरात्मक प्रभाव परेको छैन । सदरमुकाम सिमकोटमा नै महिलाहरु छाउगोठमा बस्दै आएका छन् । पहिला जस्तो गरी विकृत नभएको र हाल पनि सदरमुकाम सिमकोटका महिलाहरु लुकीछिपी रुपमा घर बाहिर बस्ने चलन नहटेको सिमकोट गाउँपालिका ५ का लक्ष्य रावतको भनाई छ । सदरमुकामका महिलाहरु घरको छतमा बस्ने गरेका छन् भने भित्रै भित्रै आफ्नो घरको गोठमै लुकेर बस्ने चलन रहेको पाइएको छ । महिनावारीको बेला घरपरिवार भन्दा छुट्टै बस्ने परम्परा हुम्लाको क्षेत्री, ब्राह्मन जातिमा रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com