मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई देवकुमारी पाण्डेले गरिन्, ७ लाख सहयोग


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

 

 

माघ ११, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई वीरेन्द्रनगरकी देवकुमारी पाण्डेले आफ्ना स्वर्गीय पति जयनारायण पाण्डेको स्मृतिमा ७ लाख रुपैयाँ सहयोग गरेकी छिन् । श्रीपञ्चमीको अवसरमा विश्वविद्यालयका रजिष्ट्रार डा महेन्द्रकुमार मल्ललाई उनले ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् । उक्त आर्थिक सहयोगबाट विश्वविद्यालयको शैक्षिक तथा भौतिक सुधारमा सहयोग पुग्ने अपेक्षा उनको छ । रजिष्ट्रार मल्लले चेक ग्रहण गर्दै उक्त रकम विश्वविद्यालयको भौतिक संरचना निर्माणमा लगाइने बताए । देवकुमारी विश्वविद्यालयका पूर्वउपकुलपति कालीप्रसाद पाण्डेकी माता हुन् ।

मप विश्वविद्यालय र शारदा विश्वविद्यालयबीच समझदारी
यसैबीच, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले भारतको शारदा विश्वविद्यालयबीच द्विपक्षीय आपसी समझदारीपत्रमा हस्ताक्षर गरेको छ । वीरेन्द्रनगरमा सोमवार उपकुलपतिस्तरमा द्विपक्षीय आपसी समझदारीपत्रमा हस्ताक्षर भएको हो । दुवै विश्वविद्यालयबीच विद्यार्थी, फ्याकल्टिज तथा विशेषज्ञ आदानप्रदान, संयुक्त अनुसन्धान, परियोजना, क्षमता विकाससम्बन्धी तालीम, सेमिनार, सम्मेलनलगायत विषयमा सहकार्यका लागि समझदारी भएको विश्वविद्यालयका सूचना अधिकारी विष्णुबहादुर खड्काले जानकारी दिए । सोसम्बन्धी समझदारीपत्रमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा उपेन्द्रकुमार कोइराला र शारदा विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा वृषवन सिंह पवारले हस्ताक्षर गरेका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com