राजपा र फोरम वाम गठबन्धनसँग सहकार्य गर्न सकारात्मक


प्रकाशित मिति : माघ ९, २०७४ मंगलबार

माघ ९, काठमाडौं । वाम गठबन्धनका दुई ठूला दल नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालसँग राष्ट्रियसभा निर्वाचन र सरकार गठनमा सहकार्य गरेर जानेबारे औपचारिक प्रस्ताव गरेका छन्। मंगलबार विहान राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्न राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालसँग एमाले र माओवादीले औपचारिक प्रस्ताव गरेका हुन्।

एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा भएको छलफलमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको जनादेशबमोजिम मुलुकलाई अगाडि बढाउन राजपा र फोरमसँग वाम गठबन्धनको छलफल भएको र उनीहरु सकारात्मक देखिएको एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए। वाम गठबन्धन र राजपा तथा फोरमसँग ठोस सहमति भएमा राष्ट्रियसभा निर्वाचनमा नै गठबन्धन गरेर अगाडि बढ्ने कुरा भएको नेम्वाङले बताए। राष्ट्रियसभाको निर्वाचन माघ २४ गते तय भएको छ। जसका लागि बुधबार उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ। राष्ट्रियसभाको उम्मेदवारी तय गर्ने अन्तिम चरणमा रहेका दलहरु तालमेलका लागि छलफलमा जुटेका छन्। राजपा र फोरम वाम गठबन्धनसँग तालमेल गरेर जान सकरात्मक देखिएकोले विस्तृत छलफल गर्नका लागि मंगलबार ३ बजे पुनः बैठक बस्ने माओवादी नेता मातृका यादवले जानकारी दिए।

एमाले र माओवादी केन्द्रले राष्ट्रियसभाका ५६ सिटमध्ये ४३ सिट बाँडफाँट गरेका छन्। जसमध्ये एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेदवारी दिने भएको छ। बाँकी १३ सिटमा अन्य दलसँग सहकार्य गर्ने वाम गठबन्धनले निर्णय गरेको छ। मंगलबार भएको छलफलमा एमाले र माओवादीबाट पार्टी एकता संयोजन समितिले गठन गरेको कार्यदलका सदस्यहरु सहभागी थिए। जसमा एमालेका नेम्वाङ र अग्निप्रसाद खरेल, माओवादीबाट वर्षमान पुन र मातृका यादव, राजपाका सर्वेन्द्रनाथ शुक्ल र केशव झा तथा फोरमबाट राजेन्द्र श्रेष्ठ सहभागी थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com