टेक्सासमा गोली प्रहारबाट ज्यान गुमाउने पाण्डेको परिवारलाई सहयोग अभियान


प्रकाशित मिति : माघ ९, २०७४ मंगलबार

टेक्सासको ग्यास स्टेशनमा लुटेराको गोली प्रहारबाट ज्यान गुमाउने ३५ बर्षका मनिष पाण्डेको परिवारलाई सहयोगार्थ आर्थिक संकलन अभियान संचालन गरिएको छ । पाण्डेकी गर्भवति श्रीमति र गर्भमा रहेको बच्चाको सहयोगका लागि गोफण्डमीमा रकम संकलन अभियान चलाइएको हो । ५० हजार डलरको लक्ष्यसहित सुरु गरिएको यो अभियानमा यो समाचार तयार पार्दासम्म ६ हजार ८ सय डलर संकलन भएको छ ।

डलासको गारल्याण्डमा रहेको एक्सोन ग्यास स्टेशनमा लुटेराको गोली प्रहारबाट शनिबार राती ३५ बर्षका मनिष पाण्डेको मृत्यु भएको थियो । पाण्डेले स्टेशनमा क्लर्कको काम गर्दै आएका थिए ।

शनिबार राती मध्यरात हुनै लाग्दा लुटेराहरु प्रवेश गरेका थिए । लुटेराले स्टोरमा प्रवेश गरेर पाण्डेलाई गोली हाने लगत्तै एकजना पैदलयात्रीले प्रहरीलाई खबर गरेका थिए ।

तपाईपनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

प्रहरी अधिकारीहरुले स्टोरमा रहेको क्यामेरा हेर्दा लुटेराहरु स्टोरमा प्रवेश गरेर लुट्न खोजेको र क्लर्कले लुटेराको प्रतिवाद गर्न खोज्दा गोली हानेको देखिएको छ । लुटेराहरु दुईजना अश्वेतहरु रहेको दुबैले हुडी लगाएको प्रहरीले जनाएको छ । एकजना लुटेरा ६ फिट र अर्को ५ दशमलव ९ इन्च अग्लो रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले लुटेराको खोजी गरिरहेको जनाएको छ ।  कृष्ण पन्तले उक्त ग्याँस स्टेशन सन् २०११ देखि सञ्चालन गर्दै आएका थिए । मृतककी पत्नी गर्भवती छिन् ।

ग्याँस स्टेशनमा कार्यरत रहेकै अवस्थामा दुई वर्ष अघि टेक्ससकै डेन्टनमा नेपाली समिरा शिवाकोटीको हत्या भएको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com