सरकार सटडाउनपछि पनि स्ट्याचु अफ लिबर्टी पुन खुल्ला


प्रकाशित मिति : माघ ८, २०७४ सोमबार

अमेरिकी सरकार सटडाउनपछि बन्द भएको स्ट्याचुअफ लिबर्टी सोमबारदेखि पुन खुलेको छ । नेशनल पार्क सर्भिसले संचालन गरेको स्ट्याचु अफ लिबर्टी सरकार सटडाउनका कारण बन्द भएको थियो ।

तर आइतबार संघीय सरकारको आन्तरिक विभाग र न्युयोर्कराज्यबीच भएको एउटा सहमतिपछि सरकार सटडाउनका बेलामा पनि स्ट्याचु अफ लिबर्टी खुल्ला रहने भएको हो । त्यसका लागि न्युयोर्क राज्यले हरेक दिन ६५ हजार अमेरिकी डलर खर्च बेहोर्नेछ ।

न्युयोर्क राज्यका गभर्नर एन्ड्रयु कुमोले स्ट्याचु अफ लिबर्टी खुल्ला रहने घोषणा गरेका हुन् । सरकार सटडाउन भइसकेपछि २१ डलर ५० सेन्ट शुल्क तिरेर स्ट्याचु अफ लिबर्टी घुम्न जाने १२ सय भन्दा धेरैलाई शनिबार फिर्ता पठाइएको थियो ।

सन् २०१६ मा मात्र झण्डै ५० लाखले स्ट्याचु अफ लिबर्टीको भ्रमण गरेका थिए । उनलीहरुबाट झण्डै २६३ मिलियन डलर सरकारलाई आम्दानी भएको थियो ।

सन् २०१३ को सरकार सटडाउनका बेलामा पनि न्युयोर्क राज्यले २ लाख ५० हजार डलर खर्च गरेर स्ट्याचु अफ लिबर्टी खुल्ला राखेको थियो ।

न्युयोर्क राज्यमा नेशनल पार्क सर्भिसको माताहतमा यस्ता ३५ वटा क्षेत्रहरु रहेका छन् । जुन सरकार सटडाउनका कारण प्रभावित भएका छन् । जसमा नायग्रा फल्स समेत रहेको छ । आइतवारको सहमतिमा भने नायग्रा फल्स समावेश छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com