इँटा व्यवसायी, इँटाको भाउ बढाउने तयारीमा


प्रकाशित मिति : माघ ८, २०७४ सोमबार

माघ ८, भक्तपुर । इँटा व्यवसायीहरूले भाउ बढाउने भएका छन्। नयाँ इँटा उत्पादनको लागत बढेको भन्दै व्यवसायीहरूले इँटाको भाउ करिब ६ प्रतिशतले बढाउन लागेका हुन्।

अहिले सबैजसो इँटाभट्टाबाट धमाधम नयाँ पाको इँटा उत्पादन हुन थालेका छन्। साथै निर्माणको मौसमसमेत सुरु भएकाले सर्वसाधारण घर तथा भवन निर्माणमा जुट्ने समयमा व्यवसायीले इँटाको भाउ बढाउन लागेका हुन्।

भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बाले कोइलाको भाउ र ढुवानी भाडा वृद्धि भएकाले नयाँ इँटाको मूल्य बढाउन आफूहरू बाध्य भएको बताए।

उनले प्रतिहजार एक हजारदेखि दुई हजार रुपैयाँसम्म पाको इँटाको मूल्य बढ्ने जानकारी दिए।

पुरानो भाउअनुसार ढुवानी भाडाबाहेक एक नम्बरको इँटाको भट्टामा किन्दाको दर १३ देखि १४ हजार रुपैयाँसम्म छ। अब भाउ बढेपछि १५ देखि १६ हजार पुग्ने अध्यक्ष ह्योम्बा बताउँछन्।

त्यस्तै दुई नम्बरको इँटाको पुरानो भाउ प्रति हजार १० देखि ११ हजार रहेकोमा अब ११ देखि १२ हजार पुग्ने भएको हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com