अमेरिकाले प्रतिरक्षा नीति परिवर्तन गर्दैछ?


प्रकाशित मिति : माघ ७, २०७४ आईतबार

अमेरिकी रक्षामन्त्री  जेम्स म्याटिसले अमेरिकाको प्रतिरक्षा नीति अब आतंकवादमा नभइ ठूला शक्तिहरूसँगको प्रतिस्पर्धामा केन्द्रित हुने बताएका छन्।

राष्ट्रिय प्रतिरक्षा नीति सार्वजनिक गर्दै उनले संयुक्त राज्य अमेरिकाले चीन र रूस जस्ता परस्पर फरक संशोधनवादी देशबाट बढ्दो खतराको सामना गर्नुपरेको बताए।

रूसलाई प्रत्यक्ष रूपमा इंगित गर्दै म्याटिसले प्रजातन्त्रमा अमेरिकाको प्रयोगमाथि खतरा उत्पन्न गराएकोमा चेतावनी दिए।

उनले भने, “यदि तपाईँले हामीलाई चुनौती दिनुहुन्छ भने त्यो तपाईँको सबैभन्दा लामो र नराम्रो दिन हुनेछ।”

प्रस्ताव

सन् २०१६ मा डोनल्ड ट्रम्पको राष्ट्रपतीय चुनावी अभियान र रूसबीच भएको भनिएको साठगाँठबारे अमेरिकाले अनुसन्धान गरिरहेको छ।

वाशिङ्टनमा बोल्दै रक्षामन्त्री म्याटिसले सेनालाई पर्याप्त बजेट उपलब्ध गराउन र संघीय बजेटमा ‘जथाभावी र स्वतः कटौती गर्ने’ कार्य नगर्न संसदलाई आग्रह गरे।

राष्ट्रपति डोनल्ड ट्रम्पले यस वर्षको बजेटमा प्रतिरक्षा खर्चमा १० प्रतिशतले वृद्धि गर्ने अर्थात् ५४ अर्ब डलर पुर्‍याउने प्रस्ताव गरेका छन्।

र, वैदेशिक सहायतामा कटौती लगायतबाट प्रतिशक्षा बजेट पूर्ति गर्ने उनको आशा छ।

सुरक्षा

परिवर्तन

बीबीसीका प्रतिरक्षा तथा कूटनीतिक संवाददाता जोनाथन मार्कस भन्छन्, ट्रम्प प्रशासनको नयाँ राष्ट्रिय प्रतिरक्षा रणनीतिले वाशिङ्टनको प्राथमिकतामा महत्त्वपूर्ण परिवर्तन आएको संकेत गर्छ।

सेप्टेम्बर ११ को हमलापछि करिब दुई दशकयता अमेरिकी सेनाको ध्यान अफगानिस्तान, इराक र सिरियामा विद्रोहीविरूद्धको कारबाहीसहित आतंकवादविरूद्ध लड्नमा केन्द्रित रहिआएको छ।

तर अहिले आएर चीन र रूस जस्ता देशसँगको अन्तरदेशीय प्रतिस्पर्धामा केन्द्रित हुने देखिएको छ।

ट्रम्प प्रशासनले आफ्ना प्रतिरक्षा नीतिहरू बुँदागत रूपमा यसरी प्रस्तुत गरेको यो पहिलो पटक हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com