भक्तपुरमा मोटरसाइकल र ट्याक्सी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते


प्रकाशित मिति : माघ ५, २०७४ शुक्रबार

माघ ५, भक्तपुर । भक्तपुरको सिर्जनानगरमा गएराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरमा काठमाडौँबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा २ ज २०४१ नं को ट्याक्सीलाई सोही दिशाबाट आउँदै गरेको बा ४४ प ५१५२ नं को मोटरसाइकलले पछाडिबाट ठक्कर दिएलगत्तै काठमाडौँबाटै आएको अर्कोे बा ८५ प ७०४६ नं को मोटरसाइकल समेत ठक्कर खाई दुर्घटना हुँदा बा ४४ प ५१५२ नं को मोटरसाइकल चालक दोलखा भीमेश्वर नगरपालिका–१३ बस्ने ३५ वर्षीय रोशनकुमार बस्नेतको मृत्यु भएको छ ।

दुवै मोटरसाइकलमा सवार चारजना घाइते भई भक्तपुर अस्पतालमा उपचारको क्रममा बस्नेतको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

बा ४४ प ५१५२ नं को मोटरसाइकलमा सवार काभ्रे कोशीपारि–८ बस्ने २४ वर्षीय केदार खनाल, बा ८५ प ७०४६ नं को मोटरसाइकल चालक दोलखा सैलुङ–१ बस्ने २० वर्षीय मनोज योञ्जन र सोही मोटरसाइकलमा रामेछाप निगालपानी–३ बस्ने १९ वर्षीय धावा मोक्तानको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

ट्याक्सी चालक धनकुटा मुगा–५ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने ४० वर्षीय गंगाबहादुर थापासहित ट्याक्सी र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रसाईंले जानकारी दिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com