एक्स्चेन्ज काउन्टर नै राखेर क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबार


प्रकाशित मिति : माघ ५, २०७४ शुक्रबार

उमेश पौडेल। नेपालमा प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबार पुनः सुचारु भएको पाइएको छ । नेपालमा अवैध तरिकाले बिटक्वाइन, अल्टक्वाइन, इथेरियमलगायतका भर्चुअल क्वाइनहरूको उत्पादन (माइनिङ) तथा कारोबार भइरहेको समाचार नयाँ पत्रिकाले बाहिर ल्याएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

क्रिप्टोकरेन्सी कारोबार गर्ने र कारोबार सञ्चालन गर्ने ११ जनालाई पक्रिएपछि केही समय सेलाए पनि पुनः कारोबार सुचारु भएको पाइएको प्रहरीले जानकारी दिएको छ । ‘क्रिप्टोकरेन्सीको कारोबारमा कडाइ गरिए पनि कारोबारीहरूले लुकिछिपी नेटवर्किङमार्फत कारोबार गरिरहेको पाइएको छ,’ केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख डिआइजी पुष्कर कार्कीले भने, ‘कारोबारीहरूले तराईका बोर्डरछेउका सहरलाई केन्द्रित गरेर कारोबार सुचारु गरेको पाइएको हो ।’

नेपालमा प्रतिबन्धित भएपछि कारोबारीहरूले भारतीय सीमानजिक बसेर क्रिप्टोकरेन्सीको कारोबार गरिरहेको सूचना पाएपछि प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अगाडि बढाएको जनाएको छ । ‘हाम्रो सूचनामा पहिले नै पक्राउ परेका कारोबारीले पुनः क्रिप्टोकरेन्सीको कारोबार गरेको थाहा भएको छ,’ अर्का अनुसन्धान अधिकृतले भने, ‘अब उनीहरूसँगै नयाँ कारोबारीलाई पनि पक्राउ गरेर अनुसन्धान अगाडि बढाउँछौँ ।’

यसअघि नेपाल राष्ट्र बैंकले गत २९ साउनमा नेपालमा बिटक्वाइनलगायत कुनै पनि क्रिप्टोकरेन्सीको कारोबार गर्नु गैरकानुनी रहेको सूचना निकालेको थियो । प्रहरीले सोही सूचनालाई आधार मानेर अनुसन्धान गर्दा बिटक्वाइन तथा ग्य्राभिटी क्वाइनको कारोबार गर्ने ७ जनालाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो ।

प्रहरीले मुख्य कारोबारी ज्ञानप्रसाद (जिपी) पौडेल, प्रशान्तप्रताप शाह, माधव खनाल, बिन्दा ढकाल, मिङमार तामाङ, मिनीषकुमार गिरी र दमन बस्नेतलाई पक्राउ गरेको थियो । २५ दिन थुनामा बसेपछि ४२ लाख धरौटी तिरेर उनीहरू अदालतबाट तारेखमा रिहा भएका थिए ।

त्यसपछि प्रहरीले बिटसेवाका सञ्चालक कृष्णप्रसाद भुसाल र पुरुषोत्तमधर तुलाधरलाई पक्राउ गरेको थियो । बिटसेवाका सञ्चालकमध्ये राम ढकाल र अवित घिमिरे भने अझै पक्राउ परेका छैनन् ।

एक्स्चेन्ज काउन्टर नै राखेर कारोबार
यसअघि देशका विभिन्न स्थानमा बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीको कारोबार गर्न दलालहरूले सहरैपिच्छै एक्स्चेन्ज काउन्टरको व्यवस्थासमेत गरेका थिए । उनीहरूले देशका मुख्य सहरमा अझै पनि गुपचुप रूपमा क्रिप्टो एक्सचेन्ज सञ्चालन गरेको प्रहरीले जानकारी प्राप्त गरेको जनाएको छ ।

काठमाडौं, पोखरा, नेपालगन्ज, धनगढी, चितवन, हेटौँडा, विराटनगर र धरानमा कार्यालय नै राखेर भर्चुअल करेन्सीको कारोबार हुँदै आएको प्रहरीको दाबी छ । केही समयभित्रै नेपालमा भएको क्रिप्टोकरेन्सीको सम्पूर्ण जालो तोड्ने डिआइजी कार्कीले बताए ।

यसअघि काठमाडौं उपत्यकामा बिटक्वाइनको आधिकारिक एक्सचेन्ज काउन्टर भनेर ठमेल, दरबारमार्ग, पाटन, महाराजगन्जलगायतका क्षेत्रमा सम्पर्क नम्बर नै राखेर करोबार भइरहेको थियो, तर अहिले त्यो बन्द रहेको छ ।

कारोबारीहरू धरैजसो मोबाइल नम्बरमा सम्पर्क स्थापित गर्न चाहँदैनन् । मोबाइल नम्बर राखिए पनि त्यो मोबाइल नम्बरमा सम्पर्क गर्नका लागि ह्वाट्स एप वा भाइबरको प्रयोग गर्नुपर्ने र सम्पर्क च्याटबाट मात्र गर्न सकिने बनाइएको छ ।

प्राधिकरणले बन्द गरायो वेबसाइट
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा क्रिप्टोकरेन्सीको कारोबार हुने वेबसाइटहरू बन्द गराएको छ । यसअघि नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्ने वेबसाइटहरू बन्द गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको थियो ।

सिआइबीले प्राधिकरणलाई नेपाल राष्ट्र बैंकले अवैधानिक भनिसकेको भन्दै बिटक्वाइन र क्रिप्टोकरेन्सीको कारोबार गर्ने सम्पूर्ण वेबसाइट बन्द गर्न पत्राचार गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।

नेपालमा ३० भन्दा धेरै क्रिप्टोकरेन्सीको कारोबार भएको भन्दै सिआइबीले क्रिप्टोकरेन्सी कारोबार हुने वेबसाइटहरू नेपालमा नचल्ने (ब्लक) गर्न पत्राचार गरेको थियो । दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सीको मुख्य कारोबार हुने बिटसेवा डटकमलगायतका १५ वटा साइट बन्द गरेको छ ।

‘हामीले सिआइबीको पत्रअनुसार सबै इन्टरनेट सेवाप्रदायक (आइएसपी)हरूलाई पत्राचार गरी वेबसाइट रोक्न पत्र काटेका थियौँ,’ अर्यालले भने, ‘सिआइबीको पत्रअनुसार वेबसाइट ब्लक गर्ने काम कार्यान्वयन भइसकेको छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com