सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा एक सय २० विद्यार्थी दीक्षित


प्रकाशित मिति : पुस ३०, २०७४ आईतबार

पुस ३०, महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा एक सय २० जना विद्यार्थी दीक्षित भएका छन्। दीक्षान्त समारोहमा कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एक सय २० जना विद्यार्थीलाई दीक्षित गरेका हुन्। उपाधि पाउने २ सय ८२ जना विद्यार्थीमध्ये दीक्षान्त समारोहमा एक सय २० जना विद्यार्थी सहभागी थिए। प्रधानमन्त्री देउवाले विभिन्न संकायमा उत्कृष्ट भएका चार विद्यार्थीलाई पदक र पुरस्कार प्रदान गरेका थिए।

समारोहमा स्नातक तहअन्तर्गत बीबीए संकायबाट प्रतिभा भट्ट र स्नातकोत्तरतहबाट जानकीकुमारी विष्टले ‘भाइस चान्सलर पदक प्राप्त गरे। त्यसैगरी, ‘चान्सलर पदकु स्नातक तहकै बीबीए संकायबाट नीरज थापा र स्नातकोत्तर तहबाट विष्णुदत्त भट्टले प्राप्त गरे। स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका विद्यार्थी दीक्षित भएका हुन्। दीक्षान्त समारोहमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले वरिष्ठ नेत्र विशेषज्ञ डा. रामप्रसाद पोखरेललाई मानार्थ विद्यावारिधि प्रदान गरेको थियो।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षालाई राष्ट्रको पुँजीका रूपमा हेरिएको बताए। ‘विश्वविद्यालय शिक्षामा गरिएको लगानीले राष्ट्रलाई वर्तमानमा मात्र होइन भविष्यमा पनि प्रतिफल दिन्छ, प्रधानमन्त्रीले भने, ‘विश्वविद्यालयको शैक्षिक र अनुसन्धानात्मक गतिविधिको स्तरोन्नतिमा सबैलाई लाग्न आग्रह गर्छ । दीक्षित भएका विद्यार्थीलाई शुभकामना दिँदै भविष्यमा जुनसुकै परिस्थितिमा पनि आफ्नो माटोलाई नबिर्सन देउवाले आग्रह गरे। सुदूरपश्चिमवासीले गरेको पहलले विश्वविद्यालय स्थापना भएको चर्चा गर्दै प्रधानमन्त्रीले विश्वविद्यालयले गुणस्तरीय, नैतिकवान् एवं योग्य जनशक्ति उत्पादन गर्न ध्यान दिनुपर्ने बताए।

दीक्षान्त समारोहमा विश्वविद्यालयका सहकुलपति एवं उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षालाई मानवअधिकारको अभिन्न अंगका रूपमा स्विकार्दै सर्वसुलभ शिक्षाको प्रत्याभूतिमा सरकार सदैव तत्पर रहेको बताए। दीक्षित विद्यार्थीलाई आफूले प्राप्त गरेको ज्ञान र सीप उपयोग गरी राष्ट्र निर्माणमा लाग्नसमेत उनले आग्रह गरे।

७ वर्षअघि स्थापना भएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा हाल तीन हजार ९ सय विद्यार्थी अध्ययनरत छन्। विश्वविद्यालयमा शिक्षा शास्त्र, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, विज्ञान तथा प्रविधि र इन्जिनियरिङ गरी ५ संकाय सञ्चालनमा छन्। विश्वविद्यालयले अन्य विषयमा समेत पढाइ सुरु गर्ने तयारी गरिरहेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com