गोरु जुधाई हेर्न नुवाकोट


प्रकाशित मिति : पुस २९, २०७४ शनिबार

माघे संक्रान्ति भन्ना साथ नेपालीले घ्यू, चाकु र तरुल त सम्झने नै भए । अनि सम्झनेछन् नदी, घाट, तलाउहरुमा स्नान गरी पवित्र हुने कर्मलाई पनि । तर अब समय बदलिएको छ–यी दुई बाहेक गोरु जुधाई पनि सम्झन थालेका छन् ।

पहिले नुवाकोट, धादिङ र रसुवातिरमात्र माघेसंक्रान्तिमा गोरु जुधाई समेत सम्झने गरेकोमा अहिले देशका धेरैस्थानमा मानिसहरुले गोरु जुधाईलाई सम्झने गरेको गोरु जुधाई हेर्न देशमा विभिन्न क्षेत्रका मानिसहरुको आगमनबाट थाह हुन्छ । राजधानी काठमाडौंतिर पनि नुवाकोटको गोरु जुधाईको राम्रै चर्चा हुने गरेको छ ।

यो वर्ष पनि नुवाकोटको दुईस्थानमा गोरु जुधाईलाई सफलरुपमा सञ्चालन गर्न आयोजक अन्तिम तयारीमा जुटिरहेका छन् । गोरु जधाई भन्नासाथ धेरै सम्झने स्थल हो–तारुका । अनि अहिले जोडिएको छ ऐतिहासिक एवम् धार्मिक स्थल बेत्रावती पनि । यो वर्ष नुवाकोटमा ३० हल गोरुको जुधाई हेर्न पाइने छ ।

तारकेश्वर गाउँपालिका–२ तारुकामा २० हल र विदुर नगरपालिका–१० बेत्रावतीमा १० हल गोरु जुधाउनका लागि किसानहरुले गोरु दर्ता गरेको आयोजकले जनाएको छ ।

तारुकामा माघेसंक्रान्ति गोरु जुधाई संरक्षण संस्था र बेत्रावतीमा गोसाईकुण्ड युवा क्लबको आयोजनामा मेला सञ्चालन हुने भएको छ । दुवै स्थानमा नेपाल पर्यटन बोर्डसमेत प्रबर्द्धनको लागि सहयोग गरेको छ ।

गोरु जुधाई मेला सञ्चालनको तयारी पुरा भएको तारुकेश्वर–२ का वडा अध्यक्ष समरबहादुर आलेमगरले बताउनुभयो । मेलास्थलसम्म आउनको लागि सडकको मर्मत, पार्किङस्थलको निर्माण, शौचालय, पिउने पानीको व्यवस्था गरिएको वडा अध्यक्ष आलेमगरले बताउनुभयो ।

मेलामा दर्शकको सहज आवागमनको लागि अहिले दिउसो बन्द रहने गल्छी त्रिशूली सडक पनि माघेसंक्रान्तिको दिनभरि नै खुला गरिने सडक निर्माण योजनासँग सहमति भइसकेको माघेसंक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीले बताए ।

मेलामा विजेता गोरु धनीलाई ५ हजार नगद र प्रमाणपत्र तथा उपविजेतालाई ३ हजार पुरस्कार तोकिएको छ । तारुकाको विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परालाई २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो ।

यस्तै नुवाकोटको विदुर नगरपालिका वडा नं. १० बेत्रावतीमा पनि गोरु जुधाउने तयारी पुरा भएको छ । यो वर्ष गोरु जुधाउनको लागि १० हल गोरु दर्ता भएको आयोजक गोसाईँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले जानकारी दिए । बेत्रावतीमा विजेता गोरुको धनीलाई ३ हजार र उपविजेता गोरुको धनीलाई २ हजार ५ सय प्रदान गरिने आयोजकले जनाएको छ ।

बेत्रावतीमा २०६७ सालदेखि व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो । परम्परागत रुपमा सयौँ वर्षदेखि जुधाउने गरिएको भए पनि युवाले पछिल्लो समय व्यवस्थित र प्रचार प्रसार गरी जुधाउन थालेका हुन् ।

कसरी पुग्ने गोरु जुधाउने स्थल ?

नुवाकोटमा गोरु जुधाई हेर्नको लागि दर्शक पुग्ने गर्छन् । तारुका र बेत्रावती दुईस्थानमा जुधाइने भए पनि दर्शकहरुले पनि छानी छानी हेर्न जान पाउने भएका छन् । तारुकामा कच्ची सडक हुँदै जानु पर्ने भएकोले केही असहज रहेको छ भने बेत्रावतीमा पिच सडक हुँदै जान पाइने भएको सहज छ ।

काठमाडौंबाट नुवाकोटको मोटरबाटोको दूरी ७० किलो मिटर रहेको छ । बेत्रावतीमा जानको लागि विदुरमा आएर थप ८ किलोमिटर यात्रा गर्नु पर्छ । तारुका जानको लागि पृथ्वी राजमार्गको गल्छीबाट महादेवफाँटसम्म १० किलोमिटर र त्यहाँबाट पुल तरेपछि ६ किलोमिटर यात्रापति पुग्न सकिन्छ । चारपाङ्ग्रे गाडीमा लिएर आउनेले महादेवफाँट आएर पक्की पुल तर्नु पर्छ भने मोटरसाइकलमा आउनेहरुले तारुकाघाटको झोलुंगे पुल तरेरै तारुका उक्लिन सक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com