ट्रम्पले माफी माग्नु पर्छ : अफ्रिकन युनियन


प्रकाशित मिति : पुस २९, २०७४ शनिबार

अफ्रिकी देशहरुको संगठन अफ्रिकन युनियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माफी माग्नु पर्ने माग गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ओभल अफिसमा भएको बैठकमा आप्रवासी मुद्दासँग सम्बन्धित रहेर हाइटीसहितका अफ्रिकी देशलाई ‘सितहाल’ अर्थात दरिद्र, निच वा अपवित्र देश रहेको बताउनुभएको खबर बाहिर आएपछि सर्वत्र विरोध भइरहेको छ ।

यहि बिचमा अफ्रिकन युनियनले ट्रम्पले माफी माग्नु पर्ने माग गरेको हो । वासिङ्टन डिसीमा रहेको अफ्रिकन युनियनको मिसनले ट्रम्पको भनाईबाट आफूलाई धक्का लागेको बताएको छ । यस्तै आफूहरु निराश र आक्रोशित रहेको पनि अफ्रिकन युनियनको मिसनले बताएको बिबिसीले उल्लेख गरेको छ । आप्रवासी सम्बन्धी विषयमा छलफल गर्न बिहीबार भएको बैठकमा ट्रम्पले हाइटीसहितका अफ्रिकी देशलाई सिटहोल भन्दै त्यस्ता देशका नागरिक अमेरिकामा नचाहिएको बताउनुभएको थियो । ट्रम्पले भने ट्वीट मार्फत आफूले त्यस्तो नभनेको दाबी गर्नुभएको छ ।

अमेरिकी पत्रिका वासिङ्टन पोस्टले सबैभन्दा पहिले ट्रम्पको भनाई सम्बन्धी खबर छापेको थियो । त्यसपछि सिएनएनले यसलाई पुष्टि गरेको बताएको थियो । सिएनएनको प्राइमटाइम कार्यक्रम एन्डरसन कुपर ३६० का सञ्चालक तथा सिक्सटी मिनेटका संवाददाता एन्डरसन कुपरले हाइटीका नागरिकको सम्मान र ट्रम्पको भनाईको विरोधमा भावनात्मक भिडोयो सन्देश कार्यक्रममै जारी गरेका थिए ।

राष्ट्रपति ट्रम्पले ट्वीटर मार्फत आफूले हाइटीसहितका अफ्रिकी देशलाई सिटहोल नभनेको दाबी गरे पनि डेमोक्र्याट सिनेटरले ट्रम्पले बैठकमा बारम्बार अपमानजनक भाषा प्रयोग गरेको बताएका छन् । डेमोक्र्याट सिनेटर डिक डर्बिनले ट्रम्पले बैठकमा बारम्बर अफ्रिकी देशलाई सिटहोल भनेको बताउनुभयो । यस्तै रिपब्लिकन पार्टीका उच्च नेता तथा संसदका सभामुख पउल रायनले ट्रम्पको भनाई दुर्भाग्यपूर्ण रहेको बताउनुभएको छ । अफ्रिकन युनियनले ट्रम्पको भनाईले अफ्रिकन समुदाय, अफ्रिका क्षेत्रको विविधता र मानवताको अपमान र अवमूल्यन गरेको बताएको छ । ट्रम्प प्रशासनले अफ्रिका महादेश र त्यहाँका नागरिकलाई बुझ्न नसकेको अफ्रिकन युनियनको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com