यसकारण माओवादी मन्त्रीहरुले दिँदै छन् राजीनामा


प्रकाशित मिति : पुस २७, २०७४ बिहीबार

 

पुस २७, काठमाडौं । माओवादी केन्द्रका विनाविभागीय मन्त्रीहरुले नयाँ सरकार गठन गर्न समय लाग्ने भएकाले पदबाट राजीनामा दिन लागेको बताएका छन्।

निर्वाचनको परिणामसँगै नयाँ सरकार गठन हुने अपेक्षा विपरीत सरकार गठनमा समय लाग्ने देखिएको भन्दै माओवादी केन्द्रका मन्त्रीले पदबाट राजीनामा दिन लागेको प्रतिक्रिया दिएका छन्।

नेपाल लाइभसँग कुरा गर्दै माओवादी केन्द्रबाट बिनाविभागीय मन्त्री टेकबहादुर शाहीले सरकार गठनमा ढिलाइ भएकाले राजीनामा दिन लागेको बताए।

स्रोतका अनुसार, सरकारले शुक्रबार प्रदेशसभा र अस्थायी राजधानी तोक्ने तयारी गरेपछि माओवादीले मन्त्रीहरु फिर्ता गर्ने तयारी गरेको हो। नयाँ सरकार गठनपछि वर्तमान सरकारको निर्णय मान्न नैतिक दबाव पर्ने निष्कर्षसहित माओवादीले आफ्ना मन्त्रीहरुलाई सामूहिक राजीनामा गराउन लागेको बुझिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत असोज ३१ गते माओवादीका मन्त्रीहरुको जिम्मेवारी खोस्दै बिनाविभागीय हैसियतको बनाएका थिए। माओवादी केन्द्रले एमालेसँग वाम गठबन्धन गर्दै चुनावी तालमेल गर्ने निर्णय गरेपछि देउवा माओवादीप्रति रुष्ट बनेका थिए।

सम्बन्धित पार्टीको सिफारिसमा मात्र सरकारबाट हटाउन सकिने संवैधानिक प्रावधानका कारण प्रधानमन्त्री देउवाले माओवादीका मन्त्रीलाई बर्खास्त गर्न सकेनन्। यस्तै, माओवादी केन्द्रले चुनाव नगर्ने चलखेल हुने सूचना पाएको भन्दै बिनाविभागीय मन्त्रीहरुलाई फिर्ता बोलाएको थिएन। निर्वाचनपछि पनि माओवादीले आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता नबोलाई नयाँ सरकार गठनको मार्गप्रशस्त गर्न आग्रह गर्दै आएको थियो।

निर्वाचन सकिएको करिब तीन महिनापछि मात्र माओवादी केन्द्रले सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता गर्ने तयारी गरेको छ। बिनाविभागीय मन्त्रीको हैसियतमा सरकारमा माओवादी केन्द्रबाट ९ मन्त्री र ७ राज्यमन्त्री छन्।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com