एल साल्भाडोरको टीपीएस समाप्त, नेपालबारे निर्णय अप्रिलको अन्तिम साता


प्रकाशित मिति : पुस २५, २०७४ मंगलबार

एक पछि अर्को देशको टीपीएस रद्द गर्दै गएको ट्रम्प प्रशासनले अमेरिकामा रहेका एल साल्भाडोरका नागरिकलाई प्रदान गर्दै आएको टेम्पोरेरी प्रोटेक्टेड स्टेटस टीपीएस समाप्त गर्ने घोषणा गरेको छ । सन् २०१९ को सेप्टेम्बर ९ भित्र टीपीएसप्राप्त एल साल्भाडोरका नागरिकहरुले या त अन्य तरिकाबाट आफ्नो स्टेटस एड्जस्ट गर्नुपर्नेछ यात त्यसपछि अमेरिका छाड्नुपर्नेछ ।

२ लाख ६२ हजार भन्दा धेरै एल साल्भाडोरका नागरिकले अमेरिकामा टीपीएस मार्फत देशनिकालाको डरविना काम गर्ने अनुमति प्राप्त गरेका थिए । अमेरिकामा टीपीएस प्राप्त एल साल्भाडोरका नागरिकका १ लाख ९२ हजार ७ सय अमेरिकी नागरिकताप्राप्त छोराछोरी रहेका छन् । उनीहरु अमेरिकामा नै जन्मिएर अमेरिकी नागरिकता प्राप्त गरेकाहरु हुन् । ती अमेरिकी नागरिकताप्राप्त छोराछोरीका टीपीएस प्राप्त बाबुआमालाई अमेरिकाबाट देशनिकाला गर्नु अमानवीय हुने अधिकारकर्मीहरुले बताउदै आएका छन् ।

अबको झण्डै तीनमहिनाभित्र अमेरिकी सरकारले नेपालको टीपीएसबारे पनि निर्णय लिनेछ । एकपछि अर्को देशको टीपीएस अवधि समाप्त पार्दै गएको अवस्थामा अमेरिकामा रहेका नेपालीहरुले प्राप्त गरेको टीपीएस अवधि थपिनेमा पनि आशंका बढेको छ । नेपालको टीपीएस अवधि आगामी जुन २४ मा सकिने भएकाले अमेरिकी सरकारले त्यसको ६० दिन अगाडि अर्थात् अप्रिल २४ भित्रै यसबारे निर्णय गर्नेछ ।

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा टेम्पोरेरी प्रोटेक्टेड स्टेटस टीपीएस प्राप्त गर्ने नेपालीहरु १४ हजार ७ सय ९१ रहेको छन् । उनीहरुमध्ये कैयनले भने आफ्नो स्टेटस परिवर्तन गरिसकेका छन् भने कतिपय नेपाल फर्किसकेका छन् ।

स्टेटस परिवर्तन वा एड्जस्ट गरेका, स्वदेश फर्केका, मृत्यु भएका टीपीएसप्राप्त नेपालीहरुलाई घटाउने हो भने अहिले पनि टीपीएसमा मात्र रहेका नेपालीहरुको संख्या ८ हजार ९ सय ५० रहेको युएससीआईएसको तथ्यांक रहेको छ । अर्थात् यदि टीपीएस रिन्यु भएमा बढीमा ८ हजार ९ सय ५० नेपालीहरुले त्यसबाट फाइदा लिनेछन् भने रिन्यु नभएमा उनीहरुलाई देशनिकालाको प्रकृयामा राखिनेछ । टीपीएस रिन्यु नभएमा उनीहरुलाई निश्चित अवधि दिएर देश छाड्न वा आफ्नो स्टेटस परिवर्तन वा एड्जस्ट गर्न अल्टिमेटम दिइनेछ ।

तोकिएको अवधिमा स्टेटस परिवर्तन वा एड्जस्ट गर्न योग्य नहुनेहरु देशनिकालाको प्रकृयामा जानुपर्नेछ । टीपीएस लिने नेपालीहरुमध्ये कैयन नेपालीहरु विद्यार्थी लगायतका भिसामा रहेका र कैयनले एसाइलम आवेदन दिएका कारण वास्तविक रुपमा नै देशनिकालामा पर्नसक्ने नेपालीहरुको संख्या झण्डै १५ सय रहेको तथ्यांक यसअगाडि खसोखासले सार्वजनिक गरेको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com