२०१७ मा अमेरिकाबाट सबा २ लाख देशनिकाला, नेपाली कति ?


प्रकाशित मिति : पुस २०, २०७४ बिहीबार

आर्थिक बर्ष सन् २०१७ मा अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले २ लाख २६ हजार १ सय १९ जनालाई देशनिकाला गरेको छ । जसमध्ये नेपालीहरु ४५ जना रहेका छन् । देशनिकालामा परेका झण्डै सबा २ लाख मध्ये ८१ हजार आन्तरिक डिपोर्टेशनमा पर्नेहरु हुन् । उनीहरु अमेरिकाभित्र पक्राउ परेकाहरु थिए भने बाँकी सिमाक्षेत्रमा पक्राउ परेकाहरु हुन् ।

२०१७ मा यसरी आइसको हिराशतमा राखेर ४५ जना नेपालीलाई देशनिकाला गरेको छ । उनीहरु प्राय गैरकानुनी रुपमा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्नेहरु हुन् । विगतका वर्षको तुलनामा यो वर्ष धेरै नेपालीहरु आइसमार्फत डिपोर्टेशनमा परेका छन् । नेपालमा गएको विनाशकारी भूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीहरुका लागि टेम्पोरेरी प्रोटेक्टेड स्टेटस प्रदान गर्ने घोषणा गरेपछि कैयन नेपालीहरु देशनिकाला हुनबाट बचेका थिए । तर सन् २०१५ को जुन २४ भन्दा पछि अमेरिका प्रवेश गर्न खोज्दा पक्राउ परेकाहरुलाई भने टीपीएसले बचाउन सकेन । उनीहरु अमेरिकाबाट देशनिकालामा परे । नेपालीका सन्दर्भमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले गरेको देशनिकाला यो नै अहिलेसम्मको सबैभन्दा धेरै हो ।

जसमध्ये गत जुनको पहिलो साता एकैपटक सात जना नेपालीहरुलाई देशनिकाला गरिएको थियो । उनीहरु सबैजनालाई इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टका अधिकारीहरुले विमान नै चार्टड गरेर काठमाडौंको त्रिभुवन विमानस्थलमा लगेर छाडेका थिए । उनीहरु नेपालबाट भारत, कोलम्बिया, टर्की, पानामा, कोस्टारिका, निकारागुवा, एल साल्भाडोर, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुगेका थिए भने हरेकले अमेरिकासम्म पुग्नका लागि ३० देखि ४० लाख रुपैयाँ खर्चेका थिए । देशैपिच्छेका दलालबाट पटक–पटक ठगिँदै मेक्सिको बोर्डरबाट हाम्फालेर अमेरिका पसेका सात जनामध्ये कसैले पाँच महिना त कसैले सात महिना लामो अवैध यात्रा गरेका थिए । ती सातजना बाहेक अन्य ३८ नेपालीहरुलाई पनि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले विमानको टिकट काटिदिएर फिर्ता पठाइसकेको छ ।

यो तथ्यांकमा देशनिकालाको प्रकृयाका लागि आइसमा पठाइएकाहरुको विवरणमात्र उल्लेख छ । तीब्र प्रकारको देशनिकाला र भोलेन्टियर रिटर्नमा परेकाहरु पनि आइसको हिराशतमा परेको भएमा यो तथ्यांकमा उल्लेख छ । आइसले हिराशतमा नलिएका तर युएस बोर्डर गस्तीले देशनिकाला गरेकाहरु भने यो तथ्यांकमा समावेश छैनन् । कस्टम एण्ड बोर्डर प्रोटेक्सनले विमानस्थलबाटै फिर्ता पठाएका वा अन्य सिमाबाट फिर्ता पठाएकारुह पनि आइसको हिराशतमा नपरेको खण्डमा यो तथ्यांकमा समावेश छैनन् ।

 

विगतका बर्षमा कतिलाई गरियो ?

अमेरिकी सरकारको युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले आर्थिक बर्ष २०१६ मा अमेरिकाबाट २५ जना नेपालीहरुलाई अमेरिकाबाट देशनिकाला गरेको थियो । उनीहरुमध्ये प्राय मेक्सिकोबाट गैर कानुनी रुपमा अमेरिका छिर्ने प्रयास गर्दा सीमाक्षेत्रमा समातिएकाहरु थिए । उनीहरु आर्थिक वर्ष २०१६ को अवधिमा अमेरिकाबाट देशनिकालामा परेकाहरु हुन् । युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस)का अनुशार कुनै उन्मुक्तिबिना अमेरिकाबाट देशनिकाला हुने नेपालीहरु प्रायसबै गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा सिमाक्षेत्रमा युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) अधिकारीहरुसँगको जम्काभेटमा समातिएकाहरु हुन् ।

यस अघि सन् २०१५ मा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले २३ जना नेपालीहरुलाई अमेरिकाबाट देशनिकाला गरेको थियो । उनीहरु मध्ये प्राय मेक्सिकोको बाटो हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्दा सिमाक्षेत्रमा ठूलो संख्यामा पक्राउ परेकाहरु नै थिए । उनीहरुलाई अमेरिकी सरकारको युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले पक्राउपछि केहीसमय जेलमा राखेर नेपाल फिर्ता पठाएको हो ।

सिमामा पक्राउ र भित्र पक्राउपछि डिपोर्ट हुनेको विवरण

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको रिपोर्ट अनुशार आर्थिक बर्ष सन् २०१७ मा २ लाख २६ हजार १ सय १९ जना विश्वका विभिन्न देशका नागरिकहरुलाई अमेरिकाबाट देशनिकाला गरेको छ । गत आर्थिक बर्ष सन् २०१६ मा २ लाख ४० हजार जनालाई आइसले अमेरिकाबाट देशनिकाला गरेको थियो भने आर्थिक बर्ष सन् २०१५ मा २ लाख ३५ हजार ४ सय १३ जना अमेरिकाबाट देशनिकालामा परेका थिए । सन् २०१७ मा देशनिकालामा परेकाहरु २ लाख २६ हजार १ सय १९ जनामध्ये ८१ हजार ६ सय ३ जना अमेरिकाभित्र पक्राउ परेकाहरु थिए भने बाँकी सिमाक्षेत्रमा पक्राउ परेकाहरु हुन् । अमेरिकाभित्र पक्राउ पर्नेहरुमध्ये १३ हजार ७ सय ४४ जना कुनै आपराधिक कृयाकलापमा संलग्न नभएकाहरु हुन् भने बाँकी ६७ हजार ८ सय ५९ जना आपराधिक कृयाकलापमा संलग्न भएकाहरु हुन् । सिमाक्षेत्रमा पक्राउ परेकाहरुमध्ये भने ५९ हजार ८ सय ४० जना आपराधिक रेकर्डभएकाहरु हुन् भने ८४ हजार ६ सय ७६ जना आपराधिक रेकर्ड नहुनेहरु हुन् ।

अमेरिकाभित्र रहेकाहरुलाई पक्राउ गरेर देशनिकालाको दर गतबर्षको तुलनामा बढेको छ । अमेरिकाभित्र पक्राउ गरेर देशनिकाला गरिएका झण्डै ८१ हजारमध्ये ६१ हजारभन्दा धेरै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि जनवरी २० पछि पक्राउ परेर देशनिकाला गरिएकाहरु हुन् । आर्थिक बर्ष २०१६ को जनवरी २० देखि सेप्टेम्बर अन्त्यसम्मको अवधिको तुलना गर्दा सन् २०१७ मा देशनिकालाको दर ३७ प्रतिशतले बढेको छ ।

देशनिकालामा परेका आफ्ना नागरिक फिर्ता लिन नमान्ने देशहरुको संख्या पनि यो बर्ष घटेको छ । आर्थिकबर्षको अन्त्यसम्म आइपुग्दा त्यस्ता देशहरु जम्मा ९ रहेका छन् । त्यस्तै आफ्ना देशका नागरिक फिर्ता लिनेमा राम्रोसँग समन्वय नगर्ने देशहरुको संख्या पनि ४७ बाट घटेर ३६ मा झरेको छ । अमेरिकाले आफ्ना देशका नागरिक फिर्ता लिनमा समन्वय नगर्ने ४ देशमाथि भिसा प्रतिबन्ध समेत लगाएको थियो ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com