पार्टी एकताबारे छलफल भइरहेको छ: नेता नेपाल


प्रकाशित मिति : पुस १९, २०७४ बुधबार

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताबारे छलफल भइरहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उहाँले दुई पार्टीबीच राजनीतिक, वैचारिक र सैद्धान्तिक विषयमा छलफल भइरहेको बताउनुभयो ।

नेता नेपालले आवश्यकताअनुसार सबै नेताको व्यवस्थापन गरेर पार्टी एकता गरिने गरी छलफल भइरहेको स्पष्ट पार्नुभयो । “सानो प्रभावकारी र चुस्त सांगठनिक संरचना आवश्यक छ”– उहाँले भन्नुभयो ।

उहाँले पदको निम्ति हानथाप गर्नुभन्दा पनि त्याग गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउँदै महाधिवेशनको मिति तोकेर नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता नेपालले निर्वाचनमा वाम गठबन्धनलाई जनताले बहुमत दिएर पठाएको भन्दै पाँच वर्षसम्म वाम गठबन्धनलाई काम गर्ने वातावरण निर्माण गर्न काँग्रेससँग आग्रहसमेत गर्नुभयो ।

उहाँले पार्टी एकता भए पनि जनताको बहुदलीय जनवाद सिद्धान्तलाई नछोडिने बताउनुभयो । “जवजको सान्दर्भिकता अझै बढ्दै गएको छ, कतिपय कुरा समयअनुसार फेरेका छौँ, माओवादीले पनि २१ शताब्दीको जनवाद भनिरहेका बेला समाजवादउन्मुख अर्थतन्त्र नै हाम्रो यात्रा हो”– उहाँले भन्नुभयो ।

इच्छाशक्ति भए नेपालको विकास चाँडै हुने उहाँको भनाइ थियो । उहाँले एमालेले प्रधानमन्त्रीको जिम्मेवारी पाए अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुने स्पष्ट पार्नुभयो ।

रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com