गुडभेली उद्योगबाट मनग्य आम्दानी


प्रकाशित मिति : पुस १७, २०७४ सोमबार

जग्गा भाडामा लिएर कञ्चनपुरको देखतभूली– ६ का सोमविर चौधरीले गुडभेली उत्पादन गरी मासिक रु ५० हजार भन्दाबढी आम्दानी लिँदै आउनुभएको छ।

चार वर्ष अघि रु तीन लाख ५० हजारमा उखु पेल्ने मेसिन खरिद गरी चौधरीले गुडभेली उद्योग सञ्चालन गर्दै आउनुभएको छ । मेसिन खरिद गर्दा लागेको पूरै रकम उद्योगमा उत्पादन भएको गुड बेचेर चुक्ता गरेको उहाँले बताउनुभयो ।

कामदारको तलब, उखु खरिद, ढुवानी र गुडभेली उत्पादनमा गरी वार्षिक रुपमा रु १० लाख जति खर्च लाग्ने गरेको छ । वर्षमा छ महिना सञ्चालन हुने उद्योगले मासिकरुपमा दुई हजार क्विण्टल उखु क्रसिङ गरी १० देखि १५ क्विण्टल गुडभेली उत्पादन गर्दैआएको छ ।

उत्पादन भएको गुडभेली प्रतिकिलो रु ६० मा उद्योगबाटै बिक्री हुने गरेको छ । उद्योगमा आठ जनाले रोजगारी पाएका छन् । उत्पादित गुडभेलीको माग अधिक भएकाले मागअनुरुप उत्पादन गर्नका लागि उखुको अभाव हुने गरेको छ ।

नजिकै दुईवटा ठूला चिनी उद्योग सञ्चालनमा आएपछि यहाँका गुडभेली उत्पादन गर्ने साना उद्योग सञ्चालकले उखुको अभाव झेल्नु परेको छ । उखुको तौल गर्ने विद्युतीय स्वचालित मेसिनको व्यवस्था नहुँदा उखु उत्पादक किसानले तौलको झण्झटले चिनी मिलमै उखु बेच्ने गरेका छन् ।

उखुकै अभावमा देखतभूलीका वीरबहादुर चौधरी र रामप्रवेश रानाले सञ्चालन गरेको गुडभेली उद्योग यस वर्ष सञ्चालनमा आएको छैन । यहाँ उत्पादित गुडभेली स्थानीय उपभोक्तासँगै सीमावर्ती भारतीय बजारलगायत धनगढी, महेन्द्रनगर, बुटवल, भैरहवा र नेपालगञ्जसम्म आपूर्ति हुने गरेको छ ।

यहाँका श्रीपुर, परासन, त्रिभुवनवस्ती, देखतभूली, रामपुर विलासीपुर, बेलडाँडी र चाँनदेउ क्षेत्रमा गुडभेली बनाउने उद्योग सञ्चालनमा छन् । गुडभेलीको प्रयोग मदिरा बनाउन, गाई गोरुलाई खुवाउन र विभिन्न प्रकारका मिठाई बनाउन प्रयोग हुने गरेको छ । यहाँका सञ्चालनमा रहेका गुडभेली साना उद्योगले वार्षिकरुपमा रु दुई करोड बढीको कारोबार गर्दै आएका छन् ।

रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com