नेपालमै पहिलोपटक एलपी ग्यासको विकल्पमा बायो ग्यास उद्योग स्थापना


प्रकाशित मिति : पुस ९, २०७४ आईतबार

पुस ९ भैरहवा, । एलपी ग्यासको विकल्पमा नवलपरासीमा नेपालमै पहिलो पटक बायो ग्यास उद्योग स्थापना भएको छ ।

रुपन्देहीका दुई उद्यमीले स्थापना गरेको उद्योगबाट व्यावसायिक उत्पादनसमेत सुरु भएको छ ।

नेपालमा पटकपटक खाना पकाउने एलपी ग्यासको अभाव हुने गरेको छ । एलपी ग्यासको विकल्पका रुपमा नवलपरासीमा बायो ग्यास उद्योग स्थापना गरी उत्पादन सुरु भएको हो ।

रुपन्देहीका दुई युवकले वैकल्पिक उर्जाको रुपमा गोबर, कुखुराको सुली, उखुको खोस्टा, भान्साको जैविक फोहोर, हरियो पातलगायतका कच्चा पदार्थ प्रयोग गरी व्यवसायिक रुपमा बायो ग्यास उत्पादन सुरु गरेका हुन् ।

उद्योगीहरु सन्दिप अग्रवाल र अभिरत अग्रवालले २२ करोड रुपैयाँको लगानीमा चार हजार घनमिटर क्षमताको उद्योग स्थापना गरेका हुन् ।

रामग्राम नगरपालिका बनजरिया सुक्रौलीस्थित ईन्भीपावर इनर्जी एण्ड फर्टिलाईजर प्रा।लि।ले खाना पकाउने ग्यास उत्पान सुरु गरेको छ ।

यसले ऊर्जा अभाव तथा परनिर्भरतालाई न्यूनीकरण गर्न सहयोग पुग्ने उद्योगका प्रबन्ध सञ्चालक सन्दित अग्रवालले जानकारी दिए ।

दैनिक २ सय सिलिन्डर ग्यास उत्पादन गर्ने क्षमता भएको उद्योगबाट विद्युत्समेत उत्पादन गर्न सकिने अग्रवालले बताए ।

बायो ग्यासमा हिटिङ क्षमता समेत बढी हुने गरेको उद्योगका सञ्चालक अभिरत अग्रवालले बताए ।

संचालक अग्रवालले आफूहरु स्थापना गरेको उद्योग नेपालकै पहिलो ठूलो बायोग्यास कम्पनी भएको दाबी गरे ।

जर्मनी प्रविधिबाट निर्मित वायो ग्यांस उद्योगमा दैनिक ३० देखि ४० टन कच्चा पदार्थ प्रयोग गरी २ सय सिलिण्डर ग्यांस, विद्युत र २५ टन प्राङ्गारिक मल बनाउन सकिने बताइएको छ ।

उत्पादित वायो ग्यास हाल रुपन्देहीका दुई व्यवसायिक प्रतिष्ठान वामा तन्दुर्स र केपीएम चाईल्ड सेन्टरले प्रयास गरिरहेका छन् ।

कम्पनीले आगामी चार महिनाभित्रै घरायसी प्रयोजनका लागि व्यवसायिक बिक्रीवितरण सुरु गर्ने जनाएको छ ।

बायोग्यासको व्यवसायिक बिक्री वितरण सुरु भएपछि उपभोक्ताले प्रतिसिलिन्डर ९ सय रुपैयाँमा ग्यास उपभोग गर्न पाउने छन् । उद्योग स्थापनासँगै यहाँ ५० जनाले रोजगारी पाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com