भ्यागुते रोगबाट नौ जनाको मृत्यु ,७०० भन्दा बढीमा सङ्क्रमण


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

बङ्गलादेशस्थित रोहिङ्ग्या शरणार्थी शिविरमा शङ्कास्पद भ्यागुते रोगबाट नौ जनाको मृत्यु भएको र ७०० भन्दा बढी व्यक्तिमा सङ्क्रमण भेटिएपछि बङ्गलादेश सरकारले मङ्गलबारदेखि व्यापक खोप अभियान सञ्चालन गरेको छ ।

बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले दक्षिणी बङ्गलादेशमा रहेको रोहिङ्ग्या शरणार्थी शिविरमा भ्यागुते रोगको प्रकोप फैलिएकोबारे अनभिज्ञता प्रकट गरे । म्यानमारमा जातिय हिंसा चर्किएपछि केही महिना पहिले भागेर बङ्गलादेश पुगेका छ लाख ४६ हजार रोहिङ्ग्याहरू रहेका शिविरमा भ्यागुते रोगको सङ्क्रमण भेटिएको हो ।

“अहिलेसम्म नौजनाको भ्यागुते रोगको प्रकोपका कारण मृत्यु भएको हुनसक्ने देखिएको छ,” बङ्गलादेशको सरुवा रोग तथा महामारी नियन्त्रण शाखाका प्रमुख मिर्जादि सब्रिना फ्लोराले भन्नुभयो । सङ्क्रमण देखिएका ७०० जनामध्ये अधिकांश बालबालिकासहित १०४ जनामा विगत २४ घण्टाभित्र रोगको सङ्क्रमण देखिएको बङ्गलादेशको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

अधिकारीले शरणार्थी शिविरमा भीड भएका स्थानमा दुई छुट्टै एकाई बनाई प्रयाप्त बास र खाना साथसाथै औषधोपचारको पहँुच नपुग्ने रोहिङ्ग्या शरणार्थीलाई सेवा प्रवाह गर्ने बताएका छन् ।

खोपका कारण पछिल्ला केही दशक यता भ्यागुते रोगका विरामी लगभग उन्मुलनको दिशामा पुगेको बताउने गरिन्छ । यस रोगका कारण श्वासप्रश्वासमा सङ्क्रमण हुने र समयमा उपचार सेवा नलिएमा यसले ज्यानै लिने खतरा हुन्छ ।

सरकार र राष्ट्रसङ्घीय निकायको संयुक्त पहलमा सातबर्ष मूनिका दुई लाख ५० हजार शरणार्थी बालबालिकालाई खोप दिने तयारी थालिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com