नेपाली सञ्चारमाध्यममा महिला उपस्थिति पनि बढाउनुपर्नेमा जोड


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

महिलालाई समाचार स्रोतको रुपमा न्युन प्रयोग गरेकाले यसलाई बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ । फ्रिडम फोरमले आज यहाँ आयोजना गरेको ‘छापा माध्यममा महिला उपस्थिति’ विषयक अन्तरक्रियामा नेपाली सञ्चारमाध्यममा महिला उपस्थिति पनि बढाउनुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा सूचना विभागका निर्देशक सुमन बर्जाचार्यले सरकारी निकायमा ३३ प्रतिशत महिला अनिवार्य गरेजस्तै सञ्चारमाध्यममा पनि यस्तै नीति अबलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले पछिल्ला समस्यामा पत्रकार महिलामात्र होइन, सञ्चार उद्योगीका रुपमा पनि महिलाको उपस्थिति सकारात्मक भएको बताउनुभयो ।

सरकारी कार्यालयले पनि सूचना अधिकारीका रुपमा अनिवार्य महिलालाई राख्ने हो भने समाचारस्रोतका रुपमा महिला उपस्थिति बढ्ने उहाँले धारणा राख्नुभयो । फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारीले पत्रकारितामा महिलाको पलायन रोक्न सञ्चारमाध्यमले पनि सकारात्मक भूमिका खेल्नुपर्छ भन्नुभयो ।नागरिक दैनिकका पत्रकार भाषा शर्माले काम गर्ने क्षमताका आधारमा महिला कुनै पनि हालतमा पुरुषभन्दा कम नभएको भन्दै महिलालाई स्रोतका रुपमा उल्लेख गर्दा सम्र्पक हुनै गाह्रो हुने बताउनुभयो ।

फोरमले गत जनवरीदेखि नोभेम्बर महिनासम्म नेपालका प्रमुख दैनिक पत्रिकामा गरेको अनुगमनमा ९.२५ प्रतिशत समाचारमा मात्र महिला स्रोत उल्लेख भएको देखाएको छ भने ५ दशमलब ३२ प्रतिशत समाचारमा महिला पत्रकारको वाइलाइन उल्लेख भएको थियो । अनुगमनका क्रममा पुरुष स्रोतका रुपमा ५३ दशमलब ०१ प्रतिशत प्रयोग भएको पाइयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com