खसोखासका प्रधानसम्पादक किशोर पन्थी अमेरिकाका दुई सिटीबाट सम्मानित


प्रकाशित मिति : मंसिर २०, २०७४ बुधबार

अमेरिकाका दुई सिटीबाट पत्रकार किशोर पन्थी सम्मानित अमेरिकाका दुई सिटीहरु न्युयोर्क र न्युजर्सीबाट न्युयोर्क निवासी पत्रकार किशोर पन्थी सम्मानित भएका छन् । विगत ७ बर्षदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका उनी न्युयोर्कबाट प्रकाशित हुने साप्ताहिक म्यागेजिन खसोखासका प्रधानसम्पादक हुन् । उनले गरेको पत्रकारिताको कदर गर्दै पत्रकार पन्थीलाई न्युयोर्क र न्युजर्सी सिटीका तर्फबाट सम्मान गरिएको हो । न्युजर्सीको जर्सी सिटी काउन्सिल अध्यक्ष रोलाण्डो लाभारो र न्युयोर्क सिटी काउन्सिलका सदस्य म्याथ्यु युजिनका तर्फबाट पत्रकार पन्थीलाई कदरपत्र प्रदान गरिएको हो ।

अमेरिकामा नेपाली समुदायको सदस्यका रुपमा रहेर पत्रकारिताका माध्यमबाट गरेको योगदानको कदर गर्दै कदरपत्र प्रदान गरिएको सम्मानपत्रमा उल्लेख छ । पत्रकार पन्थी अमेरिकी सरकारको विदेश मन्त्रालयबाट अमेरिकामा बसेर पत्रकारिता गर्नका लागि मान्यता पाउने पहिलो नेपाली पत्रकार हुन् । सन् २००८ देखि नेपालको एबीसी टेलिभिजनमा समाचार सम्पादक रहेका पन्थी सन् २०१० देखि एबीसी टेलिभिजनको अमेरिका ब्यूरो प्रमुख हुन् । एबीसी टेलिभिजनमा उनको साप्ताहिक कार्यक्रम टक अफ द टाउन समेत प्रशारण हुँदै आएको छ । अमेरिकी अध्यागमन र सामाजिक विषयमा कलम चलाउने पत्रकार पन्थीले अँग्रेजी अनलाइन द हफिंटन पोष्ट, भ्वाइस अफ न्युयोर्क लगायतमा समेत लेख्दै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com