२०१८ मा ३ लाख ६६ हजार विदेशीलाई अमेरिकी ग्रिनकार्ड दिइने


प्रकाशित मिति : मंसिर १९, २०७४ मंगलबार

अमेरिकी सरकारले आर्थिक बर्ष २०१८ मा विश्वभरबाट ३ लाख ६६ हजारजनालाई परिवार र रोजगारका आधारमा ग्रिनकार्ड प्रदान गर्नेगरी आप्रवासी भिसा संख्या तय गरेको छ । जसमध्ये पारिवारिक पिटिसनका आधारमा २ लाख २६ हजारलाई र रोजगारका आधारमा १ लाख ४० हजारसम्मलाई आप्रवासी भिसा प्रदान गर्न सकिने गरी भिसा संख्या तोकिएको छ । जसमध्ये आर्थिक बर्ष २०१८ सुरु भएको पहिलो मिहना अर्थात् अक्टोबरमा २ सय १३ जना नेपालीहरुले आप्रवासी भिसा (डिभी बाहेक) पाइसकेका छन् । डिभीबाट अक्टोबरमा थप २७२ जना नेपालीहरुले अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेका थिए ।

पहिलो प्राथमिकतामा अमेरिकी नागरिकका २१ बर्ष वा त्योभन्दा माथिका अविवाहित छोराछोरीहरुलाई २३ हजार ४ सयसम्म भिसा जारी गर्नेगरी नम्बर तय गरिएको छ । दोश्रोमा अमेरिकी ग्रिनकार्ड प्राप्त व्यक्तिका दम्पत्ति, २१ बर्ष मुनीका अविवाहित छोराछोरी र २१ बर्षमाथिका विवाहित छोराछोरीका लागि १ लाख १४ हजार २ सय भिसा तोकिएको छ ।

तेश्रोमा अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुका २३ हजार ४ सय भिसा संख्या तोकिएको छ भने चौथोमा अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका लागि ६५ हजार भिसा दिनेगरी कोटा तोकिएको छ । पहिलो क्याटेगोरीमा सबै भिसा प्रयोग नभएमा त्यो संख्या क्रमश दोश्रो, तेश्रो र चौथोमा थपिदै जानेछ भने चौथोमा प्रयोग नभएको भिसा नम्बर पहिलोमा पनि जानसक्नेछ ।

त्यस्तै सन् २०१८ मा रोजगारमा आधारित १ लाख ४० हजारसम्म भिसा जारी गर्नेगरी अमेरिकी सरकारले कोटा तोकेको छ । जसमध्ये एक्स्ट्राअर्डिनरी, अतियोग्य प्रोफेसर र शोधकर्ता एवं बहुराष्ट्रिय मेनेजर तथा कार्यकारीका लागि ग्रिनकार्ड पाउनेगरी ४० हजार ४० आप्रवासी भिसा संख्या तोकिएको छ । त्यस्तै एड्भान्स डिग्री र विशेष दक्षता भएकाहरुलाई दोश्रो श्रेणीमा ४० हजार ४० भिसा जारी गरिनेछ ।

तेश्रोमा दक्ष कामदार, पेशाकर्मी र कम दक्ष कामदारका लागि ४० हजार ४० भिसा कोटा तोकिएको छ । चौथोमा विशेष प्रकारका आप्रवासीहरुका लागि ९ हजार ९ सय ४० भिसा संख्या तोकिएको छ । पाँचौमा अमेरिकामा लगानी गर्नेहरुका लागि ९ हजार ९ सय ४० भिसा संख्या तोकिएको छ ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com