अमेरिकामा एसाइलमका ५ प्रकारका निर्णय


प्रकाशित मिति : मंसिर १९, २०७४ मंगलबार

अमेरिकी सरकारले एसाइलम गर्नेहरुलाई विभिन्न ५ प्रकारका निर्णयहरु दिने गरेको छ । अमेरिकी सरकारको युएससीआईएसमा अमेरिकामा शरणका लागि एसाइलम फाइल गरिसकेपछि आवेदकहरुले विभिन्न ५ प्रकारका निर्णयहरु पाउने गरेका छन् ।

पहिलो, एसाइलम स्वीकृतको निर्णय । यदि अन्तरवार्तापछि एसाइलम अफिसरले आवेदकले एसाइलम पाउन योग्य रहेको ठहर गरेमा आवेदन स्वीकृत हुने गर्छ । एसाइलम स्वीकृत भएमा आवेदकले एउटा पत्र र भरिएको आई ९४ फर्म प्राप्त गर्छन् । आगमन प्रस्थान रेकर्डसहितको पत्रमा एसाइलम स्वीकृत भएको उल्लेख हुन्छ । एसाइलम स्वीकृत भएमा वर्क परमिट र सोसल सेक्युरिटी कार्ड तुरुन्तै र ग्रिनकार्ड १ बर्षमा फाइल गर्न सकिन्छ । यदि परिस्थीतिमा आएको आधारभूत परिवर्तनका कारण डरको अवस्था नरहेमा, अर्को देशमा एसाइलम पाएमा, नक्कली कागजात पेश गरेर एसाइलम गरेको पाइएमा, निश्चित प्रकारका अपराधहरु गरेमा भने पाइसकेको एसाइलम समेत खारेज हुनसक्छ ।

एसाइलमको दोश्रो प्रकारको निर्णय हो, अध्यागमन अदालतमा रिफर । यदि युएससीआईएसले एसाइलमको आवेदन स्वीकृत नगरेको खण्डमा र आवेदक गैरकानुनी रुपमा अमेरिकामा रहेको खण्डमा त्यस्तो आवेदन इमिग्रेशन अदालतमा पठाइन्छ । इमिग्रेशन अदालतमा आवेदन रिफर गर्नु आवेदन अस्वीकृत गर्नु होइन । बरु थप रिभ्युका लागि अध्यागमन अदालतमा पठाइनु हो । युएससीआईएसले एसाइलम स्वीकृत नगरेको खण्डमा आवेदकलाई अदालतमा उपस्थीत हुने मिति र समय सहितको सुचनासहित फर्म आई ८६२ पठाउने गर्छ । यस्तो अवस्थामा आवेदकले पुन एसाइलम फाइल गर्नु आवश्यक छैन । इमिग्रेशन न्यायाधिसले आवेदकको एसाइलम आवेदन स्वतन्त्रपूर्वक हेरेर निर्णय गर्छन्, उनले युएससीआईएसले गरेको निर्णय पछ्याउन वा कार्यान्वयन गर्न जरुरी छैन ।

एसाइलमको तेश्रो प्रकारको निर्णय हो, सिफारिससहितको स्वीकृति । युएससीआईएसले आवेदन स्वीकार गरेको तर सुरक्षा जाँचबारेको परिणाम प्राप्त नगरेको खण्डमा रिकमेण्डेड अप्रुभल अर्थात सिफारिसहित स्वीकृति प्रदान गर्छ । पेन्डिंग सुरक्षा जाँच परिणाम रहेको अवस्थामा गरिएको यस्तो निर्णयमा आवेदकले अमेरिकामा वर्क परमिटका लागि आवेदन दिनसक्छ । सुरक्षा जाँचको रिजल्ट युएससीआईएसले प्राप्त गरिसकेपछि कुनै समस्या नदेखिएमा त्यो एसाइलम पूर्ण रुपमा स्वीकार गरिन्छ ।

एसाइलमको चौथो प्रकारको निर्णय हो, अस्वीकार गर्ने आशयको सुचना । यदि आवेदक अमेरिकामा कुनै प्रकारको अद्यावधिक भिसा वा स्टेटसमा छ तर एसाइलमका लागि योग्य नरहेको युएससीआईएसको ठहर छ भने त्यस्तो व्यक्तिका नाममा अस्वीकार गर्ने आशको सुचना जारी गरिन्छ । एनओआईडी नामको त्यो सुचनामा एसाइलम अस्वीकृत गरिनुको कारण खुलाइन्छ । पत्रको १६ दिनभित्र आवेदकले एसाइलम स्वीकृत हुनुपर्ने दावी सहितको व्याख्या वा थप प्रमाण वा दुबै पेश गर्न सक्छन् । समयमा नै प्राप्त भएका प्रमाण वा दावीको एसाइलम अफिसरले पुन मुल्यांकन गर्छन् । यदि दावी स्वीकार भएमा एसाइलम स्वीकार गरिन्छ, अन्यथा एसाइलम अन्तिम रुपमा अस्वीकार गरिन्छ ।

एसाइलमको पाँचौं प्रकारको निर्णय हो, अन्तिम अस्वीकार । यदि अस्वीकार गर्ने आशयको सुचनापछि आवेदकले १६ दिनभित्र थप प्रमाण वा दावी नपठाएमा वा पठाएका प्रमाण वा दावीबाट पनि एसाइलम पाउने आधार नदेखिएमा अन्तिम अस्वीकार गरिन्छ । एसाइलम अफिसरले गरेको यो निर्णय अपिल गर्न पाइदैन । एसाइलको अन्तिम अस्वीकार भइसकेपछि पनि आवेदकको अवस्थामा परिवर्तन भएमा भने नयाँ एसाइलमको आवेदन पुन फाइल गर्न सकिन्छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com